निगमलाई प्रतिसिलिन्डरमा १ हजार बढी घाटा

उपत्यकामा दैनिक ५० हजार सिलिन्डरसम्म खपत

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास (एलपी) मा ठूलो वित्तीय संकट झेलिरहेको बताएको छ । निगमका प्रवक्ता मनोज ठाकुरले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर आएका कारण निगमले अहिले प्रति सिलिन्डर १ हजार ७८ रुपैयाँ घाटा बेहोरिरहेको जानकारी दिए ।

केही समय अघिसम्म प्रति सिलिन्डर ३३१ रुपैयाँ मात्र घाटा रहेकोमा भारतबाटै मूल्य बढेर आएपछि निगमको नोक्सानी ह्वात्तै बढेको निगमले जनाएको छ । 

पछिल्लो पटक भारतबाट प्रति सिलिन्डर ८२९ रुपैयाँ मूल्य बढेर आएको प्रवक्ता ठाकुरले बताए । ‘पहिले प्रति सिलिन्डर ३३१ रुपैयाँ घाटा थियो, अहिले बढेर १०७८ पुग्यो,’ उनले भने, ‘कमर्सियल ग्यासमा त एकै पटक ९५० रुपैयाँ बढेर आएको छ । ’ 

हाल बजारमा ग्यासको मूल्य २ हजार १६० रुपैयाँ भए पनि निगमलाई भने लागत मूल्य निकै महँगो परिरहेको छ ।बजारमा उपभोक्ताले फुल ग्यास अर्थात् पुरा तौलको सिलिन्डर कहिलेदेखि आउँछ भनी सोधिरहेका बेला निगमले भने तत्कालै यसमा निर्णय लिन नसकिएको जनाएको छ । 

मध्यपूर्वको युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीमा परेको असर र भारतमा समेत ग्यासको आपूर्ति सहज भइनसकेकाले फुल ग्यास वितरण गर्न समय लाग्ने प्रवक्ता ठाकुरको भनाइ छ ।

उनले थपे, ‘हाम्रो आपूर्ति पूर्णतया भारतमा भर पर्छ । माग अनुसारको ग्यास उपलब्ध गराउन नसकिएला कि भन्ने डरले पनि भरी ग्यासमा जान केही समस्या भएको हो ।’

निगमका अनुसार ग्यासको आयातमा केही गिरावट देखिएको छ । अप्रिल महिनामा भारतबाट ३४ देखि ३५ हजार मेट्रिक टन आयात भइरहेको छ । यसअघि ४५ देखि ५१ हजार मेट्रिक टनसम्म आयात हुने गरेको थियो ।

अहिले काठमाडौं उपत्यकामा दैनिक ४५ देखि ५० हजार सिलिन्डर खपत भइरहेको निगमले जनाएको छ ।यसैगरी, आयात भइरहेको सबै सोझै खपत भइरहेको निगमको भनाइ छ ।  ग्यास भण्डारण गर्ने क्षमता नभएकाले आयात र खपत सँगसँगै भइरहेको निगमले जनाएको छ ।

के अब ग्यासको भाउ फेरि बढ्छ ?

निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य धेरै बढे पनि नेपालमा भने पछिल्लो समय १५० रुपैयाँ मात्र मूल्य बढाइएको स्पष्ट पारेको छ ।

फेरि मूल्य बढ्छ त भन्ने प्रश्नमा  प्रवक्ता ठाकुरले भने, ‘मूल्य निर्धारण गर्ने काम निगमको सञ्चालक समितिको हो ।अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दो क्रममा रहेकाले निगम ठूलो घाटामा छ, तर मूल्य बढ्ने वा नबढ्नेबारे अहिले नै भन्न सकिने स्थिति छैन ।’

हाललाई भारतबाट आपूर्तिमा कुनै समस्या नरहेको र बजारमा ग्यासको अभाव हुन नदिने निगमले बताएको छ ।

Share News