काठमाडौं । वर्षासँगै आएको बाढी पहिराेका कारण अवरुद्ध भएका देशका विभिन्न क्षेत्रका केही राजमार्गमा यातायात सुरु भएका छन् ।
सोमबार साँझको वर्षासँगै पहिराेका कारण अवरुद्ध भएको ललितपुरको बागमती गाउँपालिका-३ भालुखोलास्थित कान्तिलोकपथ सडकखण्ड, ताप्लेजुङको मेरिङदेन गाउँपालिका-५ हाङगाङदाङ थुकिम्बा-दोभान भित्रि सडकखण्ड, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ कोदारीस्थित ईकु पहिरोका कारण अवरुद्ध अरनिको राजमार्ग, मकवानपुर भिमफेदी गाउँपालिका-८ भर्याङडाँडास्थित कान्तिलोकपथ सडकखण्डमा यातायात सुरु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
उनले भने, ‘वर्षा सँगैको पहिराेका कारण अवरुद्ध भएका केही राजमार्ग मङ्गलबार साँझदेखि केही पूर्णरुपमा सञ्चालनमा आएका छन् । भोजपुर नगरपालिका बोखिमको मध्यपहाडी लोकमार्ग, म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ जलथलेस्थित बेनी-जोमसोम सडकखण्ड एकतर्फी सञ्चालन भएका छन् ।’
यसैगरी इलामस्थित इलाम रोङ गाउँपालिका-६ सलकपुर डखेप हुँदै झापा जाने भित्रि कच्ची सडक, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-६ चौकीडाँडा र रोशी गाउँपालिका-७ घुमाउने ४०० बेँसीस्थित बीपी राजमार्ग सडकखण्ड तथा लमजुङको मध्यनेपाल नगरपालिका-१० बिमिरेभञ्ज्याङस्थित मध्य पहाडी लोकमार्ग पूर्ण रुपमा अवरोध भएको प्रहरीले जनाएको छ ।
काभ्रेपलाञ्चोकको खुर्कोट-नेपालथोक-कटुञ्जेबेसी चल्ने सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रवक्ता काफ्लेले बताए । वर्षान्तको समयमा बाढी पहिरोको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा भएका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।