काठमाडौं । सरकारले हालै जारी गरेको नयाँ अध्यादेशसँगै अर्थ मन्त्रालय मातहतका विभिन्न सरकारी निकाय र वित्तीय संस्थाहरूका पदाधिकारीहरू पदमुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार जारी गरेको ‘सार्वजनिक पदाधिकारीहरूको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ पारित भएसँगै विभिन्न निकायहरूमा कार्यरत अध्यक्ष, सदस्य तथा प्रमुख कार्यकारी अधिकृतहरू पदमुक्त भएका हुन् ।
यसरी पदमुक्त हुनेहरूमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणजस्ता नियामक तथा कार्यकारी निकायका पदाधिकारीहरू रहेका छन् ।
कर्मचारी सञ्चय कोषको सञ्चालक समिति र व्यवस्थापनमा रहेका उच्च अधिकारीहरू पदमुक्त भएका छन् । जसमा वर्तमान राजस्व सचिव भूपाल बराल (अध्यक्ष), प्रशासक जितेन्द्र धितालसहित अन्य व्यक्तिहरू रहेका छन्।
त्यसैगरी, सदस्यहरू डा. धनिराम शर्मा (सहसचिव), ईश्वर कार्की, विनोद थापा, प्रा.डा. तारा प्रसाद भुसाल र देवेन्द्र रमण खनाल पदमुक्त भएका छन् ।
त्यस्तै, नागरिक लगानी कोषका अध्यक्ष तुलसी प्रसाद घिमिरे, विज्ञ सञ्चालक हेमन्त राज रमाली र कार्यकारी निर्देशक पर्वत कुमार कार्की पदमुक्त भए ।
नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाको परिषद् र मातहतका बोर्डहरूमा रहेका सरकारी प्रतिनिधि तथा सदस्यहरू पदमुक्त भएका छन् । परिषद् सदस्यहरू कुमार राई, थान प्रसाद पज्ञानी (सहसचिव) र श्याम प्रसाद भण्डारी (सहसचिव) पदमुक्त भए ।
त्यसैगरी, लेखामान बोर्डका अध्यक्ष सुनिल कुमार ढुंगेलसहित सदस्यहरू मनमोहनराज काफ्ले, जितेन्द्र कुमार मिश्र, दुर्गा प्रसाद ज्ञवाली, मनिषराज उप्रेती, विदुर लुइँटेल र पोषराज नेपाल पदमुक्त भए ।
लेखापरीक्षणमान बोर्डका अध्यक्ष जगन्नाथ उपाध्याय निरौलासहित सदस्यहरू रविन्द्र राजभण्डारी, क्षेत्र गोपाल प्रधान, शेषमणि दाहाल र गणेशराज राई पदमुक्त भए ।
नेपाल धितोपत्र बोर्डका सञ्चालक समिति सदस्य पिताम्बर भण्डारी पदमुक्त भएका छन् ।
त्यस्तै, निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र सदस्य प्रकाशजंग थापा पदमुक्त भएका छन् । कोषमा एक सदस्य पद पहिले नै रिक्त थियो ।
नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य (जीवन बीमातर्फ) डा. गणेश प्रसाद पाण्डे पदमुक्त भए । निर्जीवन बीमातर्फको सदस्य पद भने रिक्त नै रहेको थियो ।