काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्वासी बस्तीलाई पर्याप्त सूचना र समय दिएर मात्रै हटाउनु पर्नेमा हतार-हतार गरिएको टिप्पणी गरेका छन् ।
पर्याप्त सूचना र समय नदिई डोजर लगाउँदा मानवीयता र व्यावहारिकता नभएको उनको भनाइ छ । महामन्त्री पौडेलले सुकुम्वासी वस्तीमा सुकुम्वासी नै थिएनन्, हुकुमवासी मात्रै थिए भन्ने प्रचार गलत भएको दाबी गर्दै वास्तविक सुकुम्वासीहरूको पहिचान गरेर पुनःस्थापनाको विकल्प तयार पारेपछि मात्रै हटाउनु पर्नेमा जोड दिए ।
पाल्पा क्षेत्र नं १ बाट कांग्रेसका तर्फबाट निर्वाचित सांसद सन्दीप रानालाई बधाई तथा शुभकामना दिन काठमाडौंमा आयोजित कार्यक्रममा उनले कांग्रेसका संसदहरूको जिम्मेवारी अहिले अझ धेरै रहेको स्मरण गराए ।

उनले भने, ‘झण्डै दुई तिहाइको सरकार छ, त्यसले कतिपय गलत कामलाई पनि संख्याको बलमा जबर्जस्ती गर्न सक्छ । त्यसको डटेर सामना गर्नु पर्दछ, जनतालाई बुझाउन सक्नु पर्दछ ।’
उनले संवैधानिक परिषदलाई सर्वपक्षीय र सन्तुलित बनाउनु पर्ने राज्यको आधारभूत मर्मभित्रको विषय भएकाले एकपक्षीय हुने गरी पुनर्संरचना गर्नु गलत भएको तर्क गर्नुभयो। लोकतान्त्रिक मूल्य-मान्यता र राज्यका आधारभूत मर्मलाई खलबल्याउन नपाइने तर्फ सरकारको ध्यानाकर्षण गराए ।
नेपाली कांग्रेस पाल्पा-काठमाडौं सम्पर्क समितिद्वारा आयोजित सम्मान कार्यक्रममा पार्टीका पाल्पा जिल्ला सभापति हिमालदत्त श्रेष्ठले झण्डै दुई तिहाइको सरकारलाई खबरदारी गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अझ बलियो र चुस्त हुनुपर्ने आवश्यकता रहेको स्मरण गराए । उनले अदालत, निर्वाचन आयोगजस्ता संवैधानिक निकायले कांग्रेसको विवाद निरुपण गरिसकेकाले अब पार्टीभित्र विवाद गर्नुको औचित्य नरहेको तर्क गरे ।
सांसद रानाले आफू निर्वाचित हुनुमा लामो समयदेखि पार्टीमा योगदान गरेका अग्रजहरूको ठूलो भूमिका रहेको बताउँदै उनीहरूप्रति आभार व्यक्त गरे । उनले आफ्नो जित व्यक्तिगत नभई समग्र पाल्पालीको जित भएकाले पाल्पा र देशको विकास तथा राम्रो नीति निर्माणका पक्षमा आफ्नो क्षमताले भ्याएसम्म सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।
सम्पर्क समितिकी अध्यक्ष विमला बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका तर्फबाट समानुपातिक उम्मेदवार हुनुभएका पाल्पाका नेताद्वय कृष्णप्रसाद अधिकारी र जमिला मियाँले पार्टीको समानुपातिकतर्फको मत कम भएकाले आफूहरू निर्वाचित हुन नपाए पनि प्रत्यक्ष निर्वाचित रानाको जितले आफूहरूलाई सन्तुष्टि र गौरव महसुस गराएको अनुभव सुनाए ।