काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलले रिक्त रहेका विभिन्न पदमा पदाधिकारीहरूको मनोनयन गरेको छ ।
संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विधानको व्यवस्थाबमोजिम राष्ट्रिय सभाको दलको नेता, प्रतिनिधि सभाको उपनेता र सचेतकहरू नियुक्त गरेका हुन् ।
राष्ट्रिय सभा संसदीय दलको नेतामा कमला देवी पन्त नियुक्त भएकी छन् । उनी विधानको धारा १२ (२) बमोजिम नियुक्त भएकी हुन् ।
यसअघि कांग्रेस राष्ट्रिय सभा दलको नेता कृष्णप्रसाद सिटौला रहेका थिए । आङदेम्बेले सिटौलालाई हटाएर पन्तलाई नेता चयन गरेका हुन् ।
कांग्रेसमा संसदीय दलका नेताले राष्ट्रिय सभा संसदीय दलको नेता चयन गर्ने व्यवस्थाअनुसार यसअघि सिटौलालाई तत्कालीन संसदीय दलका नेता शेरबहादुर देउवाले दलको नेता चयन गरेका थिए ।
प्रतिनिधि सभा उपनेतामा अभिषेक प्रताप शाह नियुक्त भएका छन् । उनी विधानको धारा ७ (१) बमोजिम नियुक्त भएका हुन् ।
धारा १३ (२) बमोजिम मुख्य सचेतकमा माननीय बासना थापा र धारा १३ (३) बमोजिम सचेतकमा माननीय निश्कल राई नियुक्त भएका छन् ।