काठमाडौं । मौसमको प्रतिकूलताका कारण यसवर्ष देशभर धान रोपाइँ गत वर्षको तुलनामा १२.६२ प्रतिशतले कमी आएको छ । गत वर्ष ४५ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ३२.३८ प्रतिशत रोपाइँ भएको हो ।
सोमबारसम्म देशभर ४ लाख ४३ हजार ५९५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले जानकारी दिए । उनका अनुसार रोपाइँ हुने क्षेत्रफल १३ लाख ७० हजार ६२ हेक्टर हो ।
सुदूरपश्चिम प्रदेशमा ५७.९ प्रतिशत , गण्डकीमा ४१ प्रतिशत , कर्णालीमा ४०.५ प्रतिशत , लुम्बिनीमा ३७.३ प्रतिशत , बागमतीमा ३३.२ प्रतिशत, कोशीमा ३१.५ प्रतिशत र मधेस प्रदेशमा १५.६ प्रतिशत प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ ।
जलवायु परिवर्तनको असरले समयमा मनसुन सक्रिय नभएकाले रोपाइँमा कमी आएको भए पनि देशका अधिकांश ठाउँमा वर्षा भएपछि रोपाइँमा सुधार आउने महानिर्देशक सञ्जेलले बताए ।
धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिए पनि मधेस प्रदेशमा १५.६ प्रतिशत मात्र रोपाइँ भएकाले धान उत्पादनमा कमी आउने प्रक्षेपण गरिएको उनको भनाइ छ । सो क्षेत्रबाट धानको उत्पादकत्व वृद्धि भई कुल उत्पादनको ७० प्रतिशत योगदान रहेको छ भने पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको जनाइएको छ ।