जोखिमयुक्त बस्ती हटाउने घोषणा गर्दै प्रधानमन्त्रीले भने- भोटको राजनीति गरेर नागरिकको ज्यानमा खेलबाड गर्दैनौं

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले काठमाडौंका विभिन्न नदी किनारमा रहेका अव्यवस्थित र जोखिमपूर्ण बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया अगाडि बढाइने स्पष्ट पारेका छन् ।

उनले हरेक वर्ष मनसुनको समयमा आउने बाढीका कारण हजारौं नागरिकले ज्यान जोगाउन घरबार छाड्नुपर्ने नियतिलाई अन्त्य गर्न सरकारले यो कदम चाल्न लागेको बताएका हुन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्रीले भने, ‘अब पनि कुनै ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र ? उहाँहरूको जीवनसँग खेलबाड गर्दै अधिकार र भोटको राजनीति सधैँ गरिरह ने ?’

प्रधानमन्त्रीले जोखिमयुक्त ठाउँमा बसिरहनु नागरिकको अधिकार नभई, जोखिमरहित ठाउँमा सुरक्षित रूपमा व्यवस्थापन हुनु वास्तविक अधिकार भएको उल्लेख गरे ।

थापाथली, गैरीगाउँ र मनोहरा लगायतका क्षेत्रमा रहेका बस्तीहरूलाई मानवीयताको ख्याल गर्दै र बल प्रयोग नगरी सुरक्षित रूपमा स्थानान्तरण गरिने सरकारको योजना छ ।

नदी किनारका बस्तीका कारण उपत्यकाको ढल निकास प्रणाली निर्माणमा अवरोध पुगेको र नदीहरू दुर्गन्धित भएको उल्लेख गर्दै प्रधानमन्त्रीले यस स्थानान्तरणले काठमाडौँको समग्र वातावरणीय सुधारमा सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरे ।

बस्ती स्थानान्तरणसँगै ढल निकास प्रणाली सहज हुने र उपत्यकाको फोहोर व्यवस्थापनमा सुधार आउने उनको तर्क छ ।

उनले आफ्नो चुनावी वाचा र राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा उल्लेखित प्रतिबद्धताहरूलाई स्मरण गरेको पनि उल्लेख गरेका छन् ।

‘हामी सरकारमा छौं, अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौं । देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पुर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौं । वर्षौं पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ,’ प्रधानमन्त्रीले प्रतिबद्धता जनाए ।

सरकारले अहिले आन्तरिक तयारी तीव्र पारेको र अबको वर्षमा यो समस्यालाई थाती नराखी ठोस नतिजा निकाल्ने दाबी गरेको छ ।

Share News