काठमाडौं । सामाजिक सञ्जाल टिकटकलाई माध्यम बनाएर महिलाहरूसँग प्रेमको नाटक गरी ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २७ वर्षीय सुजन लिम्बु भन्ने सुशन थेगिम लिम्बुलाई मंगलबार पक्राउ गरी सार्वजनिक गरेको हो ।
टिकटकमा ‘रोहन राजपुत’ नामको नक्कली प्रोफाइल बनाएर महिलाहरूसँग प्रेम सम्बन्धको नाटक गर्ने र विश्वासमा पारेपछि महँगा उपहारको लोभ देखाएर ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
लिम्बुले पीडित महिलालाई अमेरिकी डलर र बहुमूल्य गरगहनाहरू डीएचएलमार्फत पठाएको र उक्त सामान काठमाडौं विमानस्थलको शाखामा आइपुगेकाले भन्सार शुल्क (कस्टम चार्ज) बुझाउनुपर्ने भन्दै झुक्क्याउने गरेका थिए ।
यसै प्रलोभनमा पारी उनले पीडितलाई ह्वाट्सएपमार्फत विभिन्न बैंक खातामा २ लाख रुपैयाँ जम्मा गर्न लगाएका थिए ।
अनुसन्धानका क्रममा उनले हालसम्म करिब ४० जना नेपाली महिलालाई सम्पर्क गरी ठगीको सञ्जाल फिँजाएको पाइएको छ ।
प्रहरीले उनको साथबाट एक थान मोबाइल र दुई थान सिमकार्ड बरामद गरी थप कानुनी प्रक्रिया अगाडि बढाएको छ ।