काठमाडौं । नेपाल प्रहरीले वास्तविक सुकुम्वासी तथा भूमिहीनहरू एकजुट भएर राज्यले गर्न लागेको व्यवस्थापन कार्यमा सहयोग गर्न आग्रह गरेको छ ।
शुक्रबार (आज) सूचना जारी गर्दै सरोकार निकायलाई समयमै सही सूचना दिई सहयोग गरिदिन प्रहरीले अनुरोध गरेको छ ।
‘नेपाल सरकारले सुरु गरेको सुकुम्वासी तथा भूमिहीन व्यवस्थापन प्रक्रिया तपाईंहरूकै उज्ज्वल भविष्य सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चित गर्न सञ्चालन गरिएको महत्त्वपूर्ण पहल हो,’ प्रहरीले भनेको छ, ‘यसको मुख्य उद्देश्य वास्तविक सुकुम्वासी, भूमिहीनहरू पहिचान गरी न्यायोचित आवास तथा अधिकार प्रदान गर्नु रहेको छ । तर, दुःख लाग्दो कुरा, केही स्वार्थी तथा टाठाबाठा व्यक्तिहरूले तपाईंहरूको नाम र हक–अधिकारको दुरुपयोग गर्दै अनुचित लाभ लिने प्रयास गरिरहेका छन् ।’
वास्तविक सुकुम्वासी तथा भूमिहीनहरू अवसरबाट वञ्चित हुने तथा राज्यबाट प्राप्त हुने सेवासुविधाबाट समेत टाढा रहनुपर्ने अवस्था सिर्जना भइरहेको प्रहरीले उल्लेख गरेको छ ।
वास्तविक सुकुम्वासी तथा भूमिहीनहरू सधैं अन्यायमा परिरहेको र यो समस्या जहिले पनि ज्यूँका त्यूँ रहेको प्रहरीले बताएको छ ।
आफै सजग भई आफ्नो हक मिच्ने त्यस्ता नक्कली सुकुम्वासी तथा भूमिहीन व्यक्तिहरुको पहिचान गर्न प्रहरीले आग्रहसमेत गरेको छ ।