काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडाैंले सुकुम्बासी बस्ती हटाउन बाधा नगर्न आग्रह गरेको छ । प्रशासन कार्यालयले शुक्रबार (आज) एक सूचना जारी गर्दै बैशाख ११ गते साँझ ७ बजेभित्र बस्ती खाली गर्न आग्रह गरेको हो ।
यदि कसैले आफै सामान सार्न नसक्ने अवस्था भएमा महानगरीय प्रहरी, नेपाल प्रहरी वा सशस्त्र प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ । सुरक्षाकर्मीले आवश्यक ढुवानीको प्रबन्ध मिलाउने प्रशासनले जनाएको छ ।
घर टहरामा रहेका अपाङ्गता भएका व्यक्ति, बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धा र बिरामीहरूलाई प्राथमिकताका साथ सुरक्षित स्थानमा सार्न आग्रह गरिएको छ ।
व्यक्तिगत सरसामान, लत्ताकपडा र घरपालुवा पशुपन्छीहरू तत्काल सुरक्षित स्थानमा सार्न पनि निर्देशन दिइएको छ ।
प्रशासनले तोकेको समय (वैशाख ११ साँझ ७ बजे) पछि पनि संरचना खाली नभएमा वैशाख १२ गते बिहान ६ बजेदेखि डोजर प्रयोग गरी संरचना भत्काउने र जग्गा पूर्ण रूपमा खाली गराउने कार्य सुरु हुने जनाइएको छ । यस कार्यमा बाधा पुर्याउने जोसुकैलाई कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ ।
संरचना हटाइएका व्यक्ति तथा परिवारलाई सरकारले तोकेको आधारभूत न्यूनतम सुविधा प्राप्त स्थानहरूमा राखिनेछ ।
स्थानान्तरण प्रक्रिया सकिएलगत्तै वास्तविक भूमिहीन सुकुम्वासीहरूको लगत संकलन र स्क्रिनिङ कार्य सुरु गरिनेछ ।
आगामी १० देखि १५ दिनभित्र वास्तविक भूमिहीनहरूको पहिचान गरी उचित बसोबासको प्रबन्ध मिलाउने तयारी भइरहेको प्रशासनले जनाएको छ ।
यदि कसैले यो सूचनाको अवज्ञा गरी बसिरहेमा, स्थानीय प्रशासन, प्रहरी र काठमाडौँ महानगरपालिकाको संयुक्त कारबाहीका क्रममा हुने संरचनाको क्षति वा व्यक्तिगत सम्पत्तिको क्षतिको जिम्मेवार व्यक्ति स्वयं हुनुपर्ने बेहोरासमेत सूचनामा उल्लेख छ ।
