काठमाडौं । नेपालमा कम्युनिष्ट आन्दोलनको ऐतिहासिक दिनका रूपमा लिइने नेपाल कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवस बुधबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । देशका प्रमुख बाममपन्थी दलहरूले आ-आफ्नै शैलीमा कार्यक्रम आयोजना गरे पनि समग्र रूपमा कार्यक्रमहरू परम्परागत ढाँचामै सीमित देखिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमालेले ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा विशेष कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा शीर्ष नेताहरूको सहभागिता रहे पनि पार्टी अध्यक्ष केपी शर्मा ओली स्वास्थ्यको कारण अनुपस्थित रहे ।
एमालेका कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले सम्बोधन गरेका थिए । नेताहरूले कम्युनिष्ट आन्दोलनको इतिहास, वर्तमान चुनौती र पार्टीको आगामी कार्यदिशाबारे धारणा राखेका थिए ।
उता, नेपाली कम्युनिष्ट पार्टीले पनि काठमाडौंस्थित केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थापना दिवस मनाएको छ । कार्यक्रममा संयोजक पुष्पकमल दाहाल र सह-संयोजक माधव कुमार नेपालले सम्बोधन गर्दै कम्युनिष्ट आन्दोलनको एकता, पुनर्गठन र वैचारिक स्पष्टताको आवश्यकतामाथि जोड दिएको कार्यालय सचिव गणेशमान पुनले जानकारी दिए । कार्यक्रममा सहभागी कार्यकर्ताहरूका अनुसार दुवै दलका कार्यक्रमहरू औपचारिक र परम्परागत शैलीमै केन्द्रित रहे ।
विशेष गरी विगतका वर्षहरूमा जस्तै झण्डा अर्पण, नेताहरूको सम्बोधन र औपचारिक घोषणामै सीमित रहँदा नयाँ पुस्तालाई आकर्षित गर्ने वा समसामयिक राजनीतिक एजेन्डामाथि गहन छलफल कम भएको उनीहरूको भनाइ छ ।
पुराना बामपन्थी नेता तथा विश्लेषक लोककृष्ण भट्टराईले पनि यसपटकका कार्यक्रमहरू परम्परागत ढाँचाबाट बाहिर ननिस्किएको टिप्पणी गरेका छन् । उनका अनुसार कम्युनिष्ट आन्दोलनको इतिहासलाई स्मरण गर्नु महत्वपूर्ण भए पनि वर्तमान राजनीतिक परिवेशअनुसार नयाँ सोच र कार्यक्रम आवश्यक देखिन्छ ।
नेपालमा कम्युनिष्ट आन्दोलनको सुरुवात २००६ सालमा भएको थियो । पुष्पलालको नेतृत्वमा स्थापित भएको कम्युनिष्ट पार्टीले एकता र विभाजनको इतिहास कायम गरेको छ ।
त्यसयता विभिन्न विभाजन, एकता र पुनर्गठन हुँदै अहिलेका प्रमुख बाम दलहरू अस्तित्वमा आएका हुन् । ७७औं स्थापना दिवस मनाइरहँदा पनि वामपन्थी दलहरूबीच एकता, कार्यदिशा र जनसम्पर्कका विषयमा बहस जारी रहेको देखिन्छ ।