४ वर्षदेखि प्रमुख प्रशासकीय अधिकृत र लेखापाल पाएका छैनौं ​​​​​​​: नगर प्रमुख कुँवर

काठमाडौं । साँफेबगर नगरपालिकाका मेयर राजेन्द्र कुमार कुँवरले पहाडी क्षेत्रका स्थानीय तहहरू आन्तरिक स्रोत कमजोर हुँदा प्रभावकारी रूपमा काम गर्न नसकिरहेको बताएका छन्।

नगर प्रमुख कुँवरका अनुसार नगरपालिकाले करिब डेढ करोड रुपैयाँ आन्तरिक आम्दानीको प्रक्षेपण गरे पनि लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्दा दायित्व व्यवस्थापनमै समस्या भइरहेको छ । ‘आम्दानी नउठ्दा विकासका काम अघि बढाउन कठिन भइरहेको छ,’ उनले भने ।

नगर प्रमुख कुँवरले चार वर्ष बितिसक्दा पनि नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत र लेखापाल नपाएको गुनासो गरे । हालसम्म निमित्त प्रमुख प्रशासकीय मार्फत काम चलाउनु परेको उनले बताए ।

उनले विपद् व्यवस्थापनका लागि दिइने समानीकरण अनुदानसमेत हालसम्म प्राप्त नभएको उल्लेख गर्दै स्थानीय तहलाई स्रोत अभावले जनअपेक्षा पूरा गर्न चुनौती भएको बताए । ‘संघीय सरकार सुन्ने, प्रदेश सरकार देखिने र स्थानीय सरकार भेटिने सरकार हो । हामी प्रत्यक्ष जनतासँग जोडिएका छौं, तर मागअनुसार सेवा दिन सकिरहेका छैनौं,’ उनले भने ।

कुँवरले सुदूरपश्चिम क्षेत्रका खप्तड, बढीमालिका, रामारोशन र बैजनाथ धाम जस्ता धार्मिक तथा पर्यटकीय क्षेत्रको विकाससँगै सेती लोकमार्ग विस्तार भए पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गरे ।

साथै, उनले साँफेबगरमा इलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याउँदै नागरिकता र राष्ट्रिय परिचयपत्रजस्ता सेवा स्थानीय स्तरमै सहज रूपमा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

Share News