महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी, १० लाखको दुग्धजन्य उत्पादन

काठमाडौं । तनहुँको देवघाट गाउँपालिका-५ चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाले दुग्धजन्य उत्पादन बिक्री गर्न प्रत्येक साताको एक दिन मेला सञ्चालन गर्न थालेको छ । 

गाउँपालिकाको एकमात्र महिला सहकारी संस्थाको रुपमा रहेको उक्त सहकारीले सदस्य महिलाहरूको आयआर्जन र आर्थिक समृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोहीअनुसार सदस्यहरूद्वारा उत्पादित दुग्धजन्य वस्तु तथा कृषि उपज प्रवर्द्धन र बिक्री गर्न प्रत्येक साताको शुक्रबार मेला सञ्चालन गर्न थालेको हो । मेलामार्फत दुग्धजन्य पदार्थ बिक्री गरिने सहकारीका अध्यक्ष सावित्री न्यौपानेले बताइन् । 

सहकारी संस्थाकी व्यवस्थापक सङ्गीता ओझा भुर्तेलले मेलाका दिन दुग्धजन्य वस्तुको बिक्रीमा विशेष छुट दिइने जानकारी दिइन् । उनका अनुसार मेलामा दूध, दही, पनिर, कुल्फी, घ्यु, मोही, लस्सी, पनिर मःम, पनिर पकौडा, घ्यूमा पकाएको सेलरोटी, दही पुरी तथा स्थानीय अर्गानिक कृषिउपज वस्तुहरु बिक्री गरिन्छ । 

देवघाटका महिलाहरूले सञ्चालन गरेको उक्त सहकारीले बचत तथा ऋणको कारोबारसँगै दूध सङ्कलन, दुग्धजन्य वस्तुको उत्पादन, डेरी सञ्चालन, पशुपालन, तरकारी खेती तथा सामूहिक नगदेबाली खेतीजस्ता आयआर्जनमा सदस्यहरूलाई आबद्ध गराउँदै आएको छ ।

सहकारीमा हाल दैनिक ६०० लिटरभन्दा बढी दूध सङ्कलन हुँदै आएको छ । सङ्कलित दूधलाई आफ्नै उद्योगबाट विभिन्न वस्तु बनाई बिक्री गर्दै आइरहेको छ । सहकारीमा हाल ८१९ जना शेयर सदस्य छन् । सहकारीमा देवघाटको वडा नम्बर ५ तथा वडा नम्बर ४ र १ का महिलाहरू सदस्य छन् ।

सेयर सदस्यमध्ये अधिकांश पशुपालनमा संलग्न छन् । सेयर सदस्यहरूले उत्पादन गरेको दूध सहकारीले खरिद गरी दुग्धजन्य वस्तुहरू उत्पादन गरी बिक्री गर्दै आएको छ । सहकारीको आफ्नै चक्रवर्ती डेरी उद्योगबाट उत्पादित दुग्धजन्य वस्तुहरू चितवनको नारायणगढ, भरतपुर, मुग्लिङ, हेटौंडा, कावासोती, गैँडाकोटलगायतका बजारहरूमा डेरी पसलमार्फत बिक्री हुँदै आएको छ भने सहकारीको भवनबाट पनि उल्लेख्य मात्रामा बिक्री हुँदै आएको व्यवस्थापक ओझाले बताइन् । 

उनका अनुसार हाल उक्त डेरी उद्योगमार्फत मासिक १० लाख रुपैयाँको दुग्धजन्य उत्पादनको कारोबार हुँदै आएको छ । सहकारीलाई देवघाट गाउँपालिकाले दूधमा प्रोत्साहन रकम उपलब्ध गराएको छ भने उत्पादित वस्तुहरूको बजारीकरणमा हेफर इन्टरनेशनल नेपालले सहयोग गर्दै आएको छ ।

Share News