प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संवाद गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले बिहीबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संघीयता कार्यान्वयन र समन्वय सुदृढीकरणबारे छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो २ बजे हुने बैठकमा प्रदेशस्तरका समस्या, प्राथमिकता र केन्द्र–प्रदेश समन्वयका विषयमा प्रत्यक्ष संवाद गरिने जनाइएको छ । प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार बैठक मुख्यतः मुख्यमन्त्रीहरूको धारणा सुन्न केन्द्रित रहनेछ ।

बैठकमा सुदूरपश्चिमका कमल शाह, कर्णालीका यामलाल कँडेल, लुम्बिनीका चेतनारायण आचार्य, गण्डकीका सुरेन्द्र पाण्डे, बागमतीका इन्द्र बानियाँ, मधेशका कृष्णप्रसाद साह र कोशीका हिक्मत कार्की सहभागी हुने बजगाईंले जानकारी दिए ।

प्रधानमन्त्री साहले बैठकमा सरकारका प्राथमिकता, नीतिगत दृष्टिकोण तथा संघीय संरचनालाई प्रभावकारी बनाउने विषयमा धारणा राख्ने तयारी गरेका छन् । मुख्यमन्त्रीहरूले पनि संघीयतालाई सुदृढ बनाउन आवश्यक कानुनी तथा नीतिगत सुधार अघि बढाउने दिशामा प्रधानमन्त्री कार्यालयको धारणा जान्न चाहेको लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिए ।

संघीय शासन प्रणाली कार्यान्वयनमा देखिएका व्यावहारिक समस्या र समाधानका उपायबारे केन्द्र र प्रदेशबीच प्रत्यक्ष संवाद हुने अपेक्षा गरिएको कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले जानकारी दिए । 

Share News