टाइमको ‘१०० प्रभावशाली’ सूचीमा बालेन्द्र शाह

काठमाडौं । बालेन्द्र शाह (बालेन)लाई विश्वप्रख्यात टाइम्स म्यागेजिनले सन् २०२६ का लागि विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश गरेको छ । उक्त सूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनपीङ जस्ता विश्व चर्चित व्यक्तित्वहरूसँगै शाह पनि परेका छन् ।

टाइमले शाहबारे छोटो टिप्पणी गर्दै उनको राजनीतिक उदयलाई परम्परागत राजनीतिप्रति असन्तुष्टिको परिणामका रूपमा व्याख्या गरेको छ । शाहको सामाजिक सञ्जालमा गरिएको टिप्पणी उद्धृत गर्दै म्यागेजिनले लेखेको छ, ‘सबै राजनीतिज्ञ, नयाँ र पुराना, चोर नै हुन् र नेपालीहरू उनीबाट फरक उदाहरणको अपेक्षा गरिरहेका छन् ।’

पूर्व हिप–हप कलाकारसमेत रहेका ३५ वर्षीय शाहले स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयर पद जितेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा बटुलेका थिए । सिभिल इन्जिनियरिङ पृष्ठभूमिका उनी युवापुस्तामाझ वैकल्पिक राजनीतिक अनुहारका रूपमा स्थापित भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको टिप्पणीअनुसार शाहको उदय दक्षिण एसियाली परम्परागत र वंशवादी राजनीतिप्रतिको अस्वीकारको संकेतका रूपमा हेरिएको छ । मेयरका रूपमा उनले फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा सुधारका प्रयास गर्दै प्रशासनिक प्रक्रियालाई सरल बनाउने पहल गरेका छन् ।

टाइमले उल्लेख गरेअनुसार, अब सबैको चासो शाहले स्थानीय तहमा हासिल गरेको सफलतालाई राष्ट्रिय स्तरमा कसरी विस्तार गर्छन् भन्नेमा केन्द्रित छ । नेपालीहरूले भने उनी स्वयंले व्यक्त गरेको भनाइलाई गलत सावित गर्ने अपेक्षा गरिरहेका छन् ।

Share News