नयाँ सरकार आएपछि सक्रिय बन्यो प्रहरी, एक महिनामै १ हजार १६६ वटा मुद्दा दर्ता

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले एक महिना (चैत) को अवधिमा १ हजार १६६ वटा मुद्दा दर्ता गरेको छ । त्यसमा जघन्य अपराधका २१४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४६, आर्थिक अपराधका ५६४ र अन्य अपराधका ३४२ मुद्दा छन् । 

यस्तै, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरका २ वटा मुद्दामा तीन जनालाई प्रतिवादी बनाई २२ करोड ७५ लाख ९६ हजार ४८८ रुपैयाँको बिगो दाबी गरेर मुद्दा दर्ता गरिएको परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

यसैगरी, परिसरले हुण्डी कारोबार नियन्त्रणलाई पनि प्रभावकारी रूपमा अगाडि बढाउँदै चैत महिनामा ३ वटा मुद्दामा सात जनालाई प्रतिवादी बनाएको छ । उक्त मुद्दामा १ करोड ५६ लाख रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ ।

प्रहरीले नागार्जुन नगरपालिका–८ भीमढुङ्गाबाट हुण्डी तथा अभौतिक मुद्राको कारोबार गर्ने २ जनालाई १ करोड १६ लाख रुपैयाँ बराबरको नगद र अन्य सामानसहित पक्राउ गरेको उल्लेख गरेको छ । उनीहरूलाई नियन्त्रणमा लिई अभौतिक मुद्रा र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए । 

यसैगरी, काठमाडौं महानगरपालिका २६ ठमेलबाट १७ करोड ७९ लाख ७० हजार ३७१ रुपैयाँ बराबरको अभौतिक मुद्राको कारोबार गर्ने चिनियाँ नागरिकलाई पक्राउ गरिएको उनले बताए । 

यस्तै, एक महिनाको अवधिमा हराएका २७३ मानिसमध्ये १५९ जनालाई फेला पारी परिवारको जिम्मा लगाइएको छ । विविरणअनुसार साइबर अपराध तथा ठगीतर्फ कुल २६१ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये अनलाइन सपिङको नाममा भएका ठगीसँग सम्बन्धित एक सय मुद्दा छन् । 

Share News