काठमाडौं । ठमेलस्थित एलओडी क्लब सन् २०२६ का लागि विश्वका उत्कृष्ट डिजे क्लबहरूको ४० औं स्थानमा परेको छ । बेलायतस्थित प्रतिष्ठित म्यागजिन ‘डिजे म्याग’ द्वारा सार्वजनिक ‘उत्कृष्ट सय क्लबहरू’ सूचीमा एलओडी ४० औं स्थानमा परेको हो ।
प्रतिवर्ष अन्तर्राष्ट्रियस्तरका क्लबहरूबीच प्रतिस्पर्धा गराई ‘डिजे म्याग’ ले उत्कृष्ट क्लबहरूको सूची प्रकाशित गर्दै आएको छ।
यस वर्षको प्रतिस्पर्धामा विश्वभरबाट पाँच सयभन्दा बढी क्लब सहभागी थिए । एलओडी क्लबका निर्देशक भुपेन कुँवरले यो उपलब्धिलाई मुलुकको लागि गौरवको विषयको रूपमा व्याख्या गरे ।
‘एलओडीको यो पहिचान केवल क्लबको सफलतामा मात्र सीमित छैन, यसले नेपाललाई विश्व संगीत र मनोरञ्जन उद्योगमा चिनाउने अवसर पनि दिएको छ,’ उनले भने।
उनका अनुसार टप सय क्लबको सूचीमा ४० औं स्थानमा पुग्नु रात्रीकालीन जीवनशैली तथा पर्यटन प्रवर्द्धनका लागि उल्लेखनीय उपलब्धि हो। यसले अन्तर्राष्ट्रिय पर्यटक र क्लबप्रेमीहरूलाई नेपालतर्फ आकर्षित गर्नेछ ।
कुँवरले क्लबको निरन्तर विकास र स्तरवृद्धिका लागि टीमवर्क, रचनात्मकता र सेवा गुणस्तर प्रमुख कारण भएको उल्लेख गरे ।
‘यो सफलताले एलओडीलाई थप जिम्मेवार बनाएको छ। आगामी दिनमा हामी क्लबलाई अझ अन्तर्राष्ट्रिय मापदण्डअनुसार विस्तार गर्ने लक्ष्यमा छौं,’ उनले भने ।
पर्यटन व्यवसायसँग प्रत्यक्ष सम्बन्ध राख्ने यस उपलब्धिले नेपालमा रात्रिकालीन मनोरञ्जन क्षेत्रको सम्भावनालाई उजागर गरेको कुँवरको भनाइ छ ।
‘मनोरञ्जनका लागि नेपाल आउने पर्यटकको संख्या वृद्धि हुँदा समग्र पर्यटन उद्योगमा सकारात्मक प्रभाव पर्नेछ,’ उनले भने ।
क्लबिङ् लाइफलाई व्यवस्थित र सभ्य बनाउन हामीलाई थप जिम्मेवारी प्रदान गरेको कुँवरको भनाइ छ ।
एलओडी क्लब विश्वका उत्कृष्ट क्लबहरूमध्ये सन् २०२५ मा ४४औं स्थानमा रहेको थियो ।
यसअघि सन् २०२२ मा ५२ औं , २०२३ मा ४९ औं र २०२४ मा ५० औं स्थानमा परिसकेको छ ।