काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंहदरबारस्थित सबै मन्त्रालय र त्यस अन्तर्गतका निकायहरूलाई आफूसँग रहेका सवारी साधनहरूको पूर्ण विवरण तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ ।
बुधबार (आज) प्रशासन शाखाले पत्र जारी गर्दै सबै मन्त्रालय, विभाग र कार्यालयहरूमा प्रयोगमा रहेका तथा मर्मतको पर्खाइमा रहेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको विवरण माग गरेको हो । २०८३ वैशाख २ गतेको सचिवस्तरको निर्णयानुसार उक्त विवरण माग गरिएको पत्रमा उल्लेख छ ।
प्रधानमन्त्री कार्यालयले विवरण बुझाउनका लागि निकै छोटो समयसीमा तोकेको छ । पत्रका अनुसार सबै निकायले बिहीबार (भोलि ) ३ गते कार्यालय समयभित्र अनिवार्य रूपमा यस कार्यालयमा प्राप्त हुने गरी विवरण पठाइसक्नु पर्नेछ ।
विवरणमा मन्त्रालयहरूले पठाउने विवरणमा सवारी सवारीको ब्राण्ड र मोडेल नम्बर ,गियर सिस्टम अर्थात् म्यानुअल अटोमेटिक, इन्धनको प्रकार अर्थात् डिजेल, पेट्रोल वा विद्युतीय खुलाउन भनेको छ ।
सवारी प्रयोगकर्ताको नाम र पद तथा सवारी साधनको वर्तमान अवस्था (चालु वा मर्मतमा रहेको) सबै खुलाउनुपर्नेछ ।
सरकारले सरकारी स्रोत र साधनको वास्तविक अवस्था पत्ता लगाउन र बढ्दो प्रशासनिक खर्च नियन्त्रण गर्ने उद्देश्यले यो लगत संकलन सुरु गरेको बुझिएको छ।
