पोखरा विमानस्थलमा निःशुल्क सटल बस सेवा सञ्चालन, लागतमा कामना सेवाको सहकार्य

काठमाडौं । पोखरा महानगरपालिकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोकसम्म आवतजावत गर्ने हवाई यात्रुका लागि भरपर्दो, विश्वसनीय र सुलभ यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले निःशुल्क सटल बस सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवाको सञ्चालन लागतमा कामना सेवा विकास बैंकले समेत सहकार्य गर्ने भएको छ ।

महानगरपालिकाले वडा नम्बर १४ स्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोकसम्म दैनिक दुईवटा विद्युतीय बस सञ्चालन गर्ने जनाएको छ । बिहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने बसले यात्रुलाई मुख्य सडकसम्म पुग्न सहज सेवा प्रदान गर्नेछ ।

हाल विमानस्थलदेखि मुख्य सडकसम्म पुग्न करिब दुई किलोमिटर दूरी पार गर्नुपर्ने बाध्यता रहेकाले यात्रुले सास्ती भोग्दै आएका थिए । सो समस्यालाई मध्यनजर गर्दै महानगरपालिकाले आगामी २०८३ असार मसान्तसम्म सम्पूर्ण यात्रुलाई निःशुल्क सेवा उपलब्ध गराउने गरी योजना अघि बढाएको हो ।

बस सञ्चालनको लागत साझेदारीसम्बन्धी सम्झौतापत्रमा पोखरा महानगरपालिकाका तर्फबाट कार्यकारी अधिकृत ईश्वरीप्रसाद पोखरेल र कामना सेवा विकास बैंकका तर्फबाट पोखरा क्षेत्रीय प्रमुख शिवकुमार ढकालले हस्ताक्षर गरेका छन् ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै क्षेत्रीय प्रमुख ढकालले स्थानीय सरकारले आमसर्वसाधारणका लागि सञ्चालन गर्ने यस्ता कार्यमा बैंकले सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि महानगरपालिकासँग सहकार्य जारी रहने बताए ।

निःशुल्क सटल बस सेवामा सहयोग गरेकोमा महानगरपालिकाका कार्यकारी अधिकृत पोखरेलले बैंकलाई धन्यवाद ज्ञापन गरेका छन् ।

Share News