नोटबन्दीलाई हल्का रुपले नलिउ, सोच्दै नसोचौँ:  अर्थविद् डा. गौचन

काठमाडौं । अर्थविद् डा. विश्वास गौचन नोटबन्दीको बारेमा सोच्दै नसोच्नु पर्ने बताएका छन् । केही नेताहरूको घरमा ठूलो मात्रामा नोट जलेको अवस्थामा भेटिएपछि ५ सय र १ हजारको नोटबन्दी गर्नु पर्ने धारणा आइरहेको बेला उनले भने नोटबन्दी आवश्यक नरहेको बताए ।

साथै, केही व्यक्तिले नष्ट भएको मुद्राको हिस्सा २० प्रतिशतदेखि २५ प्रतिशतसम्म अर्थात् १ खर्ब ३५ रुपैयाँदेखि १ खर्ब ७० अर्ब रुपैयाँसम्म रहेको आँकलन गर्नु अत्यन्तै हास्यास्पद एवं अतिरञ्जित भएको उनको भनाइ छ । यस्ता गम्भीर विषयमा बिना अध्ययन एवं प्रमाण प्रतिशत नै तोकेर आँकलन गर्नु उपयुक्त नहुने र यस्ता सूचनाले गलत निर्णय लिन सक्ने गम्भीर अवस्था सृजना हुन सक्ने उनले बताए ।  

कालो धन जोड्ने, लुकाउने वा सोलाई सेतो बनाउने अन्य विविध सहज उपायहरू रहेको र ठूला नोट लुकाएर राख्नु मात्र विकल्प नभएको उनले बताए । 

राष्ट्र बैंकको वासलात अनुसार २०८१ असार मसान्तमा नेपालको अर्थतन्त्रमा कुल ६ खर्ब ८० अर्ब रुपैयाँ बराबरको मुद्रा परिचालन भएको देखिन्छ । नेपालको सन्दर्भमा कालोधनलाई ठूला नोट कै रुपमा राखेको भए पनि कुल मुद्रामा यसको अंश अत्यन्तै सानो हुने उनले आँकलन गरेका छन् । साथै, तीमध्ये केही पछिल्लो घटना क्रममा खरानी भइसकेको उनको बुझाइ छ । 

‘नोटबन्दी गरे पनि हाम्रो सिस्टम यति भ्रष्ट एवं निकम्मा छ कि कुनै न कुनै माध्यम तथा प्रक्रियाबाट ती नोट पुनः सिस्टममा फर्कने छ र भारतमा जस्तै सो कदम पूर्ण रुपले असफल हुने छ,’ उनले भने, ‘नोटबन्दी भनेको सरकारले लिने अत्यन्तै कठोर कदम हो, यसलाई हल्का रुपले लिने गल्ती गर्नु हुँदैन ।’ 

उनका अनुसार अवैध रुपमा ठूला नोटको परिचालन मार्फत हुने कालो धन निष्क्रिय पार्ने प्रमुख लक्ष्य सहित अन्य केही कारण देखाई सन् २०१६ मा भारतमा गरिएको नोटबन्दी ९९.३ प्रतिशत मुद्रा पुन औपचारिक सिस्टममा आएसँगै भारत सरकारको सो कदम पूर्ण रुपले असफल भएको थियो । नोटबन्दी जस्तो कठोर कदम लागू गर्ने क्रममा भारतको अर्थतन्त्रमा सर्वत्र गम्भीर नकारात्मक असर पर्नुको साथै लामो समय सम्म सर्वसाधारणले अत्यन्तै कठिन अवस्था झेल्नु परेको थियो ।

Share News