काठमाडौं महानगरले न्यूनतम २० जनालाई रोजगारी दिने व्यवसायलाई ९५ प्रतिशत छुट दिने, यस्तो छ छुट सुविधा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को लागि लागि ल्याएको आर्थिक ऐनमा विभिन्न शीर्षकमा कर छुटको व्यवस्था गरेको छ । उक्त ऐनअनुसार न्यूनतम २० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराउने गरी दर्ता हुने नयाँ उद्योग तथा व्यवसायलाई तीन आर्थिक वर्षसम्म व्यवसाय कर रकममा ९५ प्रतिशत कर छुटको व्यवस्था गरेको छ ।

काठमाडौं महानगरभित्र व्यवसाय सञ्चालन गरी बसेका करदाताले चालु आर्थिक वर्षको सम्पत्ति कर, व्यवसाय कर र बहाल कर वापतको रकम २०८२ पौष मसान्तसम्म दाखिला गरेमा त्यस्तो कर रकममा १० प्रतिशत छुट दिइने भएको छ ।

एक वडा एक नमुना उद्यम कार्यक्रम अन्तर्गत सञ्चालित व्यवसाय दर्ता भएको तीन वर्षसम्म व्यवसाय करमा ९५ प्रतिशत कर छुट दिएको छ । महिला, जनजाति, दलित, अपाङ्गता भएका व्यक्ति र पैंतिस वर्षभन्दा कम उमेरका युवाका नाममा दर्ता भई सञ्चालन भएका उद्योग, व्यवसाय, कम्पनी र संस्थाहरूले २०८२ पौष मसान्तभित्र एकमुष्ट रुपमा कर रकम दाखिला गरेमा कर छुटको व्यवस्था गरेको छ । त्यस्तो विशेषगरी पाँच लाख रुपैयाँसम्म पूँजीगत लगानी भएका उद्योग, व्यवसाय, कम्पनी र संस्थाहरूले चालु आर्थिक वर्षका लागि व्यवसाय कर रकमको चालिस प्रतिशत छुट पाउनेछन् ।

तर ती उद्योग, कम्पनी वा संस्थाले जरिवाना छुट भने पाउने छैनन् । महानगरभित्र स्थायी बसोबास भएका त्यस्ता व्यक्तिका हकमा जम्मा कर रकमको पचास प्रतिशत छुट दिएकोछ ।
आवासीय प्रयोजनको लागि निर्माण भएका घरहरूमा महानगरपालिकाको स्वीकृति लिई पानी पुनर्भरण प्रविधि जडान गरिएमा चालु आवको सम्पत्ति करमा राजस्व समितिको सिफारिशमा ९५ प्रतिशतसम्म छुट दिएको छ ।

महानगरपालिकासँगको सहकार्यमा सार्वजनिक शौचालयको सुविधा उपलब्ध गराउने निजी व्यवसायको हकमा व्यवसाय करमा चालिस प्रतिशत छुट दिएको छ ।

महानगरले महानगर क्षेत्रभित्र सञ्चालित होटल, रिसोर्ट वा चलचित्र घरको नाममा घरजग्गा भई वा लिजमा लिई सञ्चालन भएको करदाताको हकमा चालु आर्थिक वर्षको सम्पत्ति कर रकमको थप १० प्रतिशत छुट दिएको छ ।

कुन शीर्षकमा कति कर ?

काठमाडौं महानगरले महानगरभित्र घर, जग्गा र बहालमा विभिन्न किसिमको कर निर्धारण गरेको छ ।

महानगरले महानगरभित्र व्यवसायिक रुपमा सवारी साधन पार्किङ् प्रयोजनका लागि भवन निर्माण गरी प्रयोग गरेमा सम्पति करमा छुट दिएको छ । महानगरले यस्तो भवनलाई भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ् प्रयोजनका लागि प्रयोग हुने क्षेत्रफलको दश वर्षसम्म सम्पत्ति कर छुट हुने उल्लेख गरेको छ । तर, फ्लोर एरिया रेसियोको सुविधा लिई स्वीकृत गरेको भवनको सवारी साधन पार्किङ् क्षेत्रलाई त्यस्तो सुविधा भने दिएको छैन ।

भवनको नक्सा स्वीकृत भएको मितिले दुई वर्षसम्म र नियमानुसार म्याद थप भएको अवधिको सम्पत्ति कर लाग्ने छैन । तर, निर्माण अवधिभन्दा अगावै भवन निर्माण कार्य सम्पन्न गरी भवन निर्माण सम्पन्न प्रमाणपत्र लिएमा वा भवन खरिद विक्री भएमा वा भवन प्रयोगमा आएमा सोही अवधिदेखिको हुन आउने सम्पत्ति कर लाग्ने महानगरले जनाएको छ ।

गरिब घर परिवार पहिचान कार्यक्रम अन्तर्गत गरिबी परिचय पत्र प्राप्त गर्ने करदाताको हकमा सम्पत्ति करमा पचास प्रतिशत छुट दिएको छ ।

सम्पति कर

एक करोड रुपैयाँसम्म सम्पति भएकोले महानगरमा कुल सम्पतिको ०.०१० अर्थात एक हजार रुपैयाँ कर बुझाउनुपर्छ । त्यसपछि २ करोड रुपैयाँसम्म सम्पति हुने व्यक्तिले २५ सय रुपैयाँ, ३ करोड रुपैयाँसम्मको ४५ सय रुपैयाँ, ४ करोड सम्पति हुनेले ८ हजार पाँच सय रुपैयाँ, ५ करोड रुपैयासम्म सम्पति हुनेले १४ हजार पाँच सय रुपैयाँ कर तिर्नुपर्छ । १० करोड रुपैयाँसम्म सम्पति हुनेले कुल सम्पतिको ०.४५० प्रतिशत अर्थात ८४ हजार पाँच सय रुपैयाँ कर बुझाउनुपर्ने हुन्छ ।

१० करोडभन्दा माथिको सम्पति हुने करदाताले कुल सम्पतिको ०.६०० प्रतिशत कर तिर्नुपर्छ । 

सवारी साधन पार्किङ शुल्क 

काठमाडौँ महानगरपालिका आफैले सञ्चालन गरेको पार्किङ स्थलको हकमा देहाय बमोजिम शुल्क तोकिएको छ । पहिलो दुई घण्टा पार्किङ निशुल्क हुने छ । दुई घण्टा भन्दा बढी पार्किङ दुई पाङग्रेका लागि प्रति तिस मिनेटको पन्ध्र रुपैयाँका दरले शुल्क लाग्ने छ । चार पाङग्रेका लागि प्रति तिस मिनेटको पच्चिस रुपैयाँका दरले शुल्क लाग्ने छ ।

अपाङ्गता भएका व्यक्तिको लागि प्रयोग हुने सवारी साधनमा भने शुल्क लाग्दैन । काठमाडौँ महानगरपालिकाले अन्य सार्वजनिक निकाय तथा निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा सञ्चालन हुने पार्किङ स्थलको हकमा भन सम्झौतामा उल्लेख गरे बमोजिम पार्किङ शुल्क लाग्ने छ । 

Share News