पतञ्जलि जग्गा प्रकरण : माधव नेपालको बयान सकियो, थुनछेक बहसको तयारी

काठमाडौं । विशेष अदालतमा पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बयान सकिएको छ ।  विशेष अदालतका तीन न्यायाधीश तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा उनले पूर्ण इनकारी बयान दिएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालको पतञ्जलि जग्गा प्रकरणमा संलग्नता रहेको भन्दै उनी विरुद्धको मुद्दा दायर गरेपछि उनले बयान दिएका हुन् ।

नेपालको बयान सकिएपछि थुनछेक बहस तयारी सुरु भएको छ । अहिले नेपालको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता शम्भु थापाको नेतृत्वमा अर्का वरिष्ठ अधिवक्ता गोविन्द बन्दी, सुदूरपश्चिम प्रदेशका पूर्वमहान्यायाधिवक्ता चन्द्रबहादुर शाही लगायतका अधिवक्ताहरू तयारी अवस्थामा रहेका छन् । 

विशेष अदालतले पौने दुई बजेपछि थुनछेक बहस सुरु गर्ने तयारी गरेको बहसमा उपस्थित एक अधिवक्ताले जानकारी दिए ।

आयोगले नेपालसहित ९३ जना व्यक्तिहरूमाथि सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप छ । आयोगले अध्यक्ष नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गरेको छ । अहिले उनको सांसद पद पनि निलम्बित भएका छ । 

काभ्रेमा रहेको पतञ्जलि योग पीठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यसअघि अध्यक्ष नेपालसहितको बयान लिएको थियो । 

२०६६ सालमा नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट निर्णय गरेर हदबन्दी छुटमा रहेको जग्गा खरिद गर्ने स्वीकृति दिइएको थियो। । तर पछि हदबन्दीभन्दा बढी कानुनविपरीत जग्गा बिक्री गरेको भन्दै उजुरी आएपछि अख्तियारले यसबारे अनुसन्धान अघि बढाएको थियो । 

Share News