काठमाडौं । नेपाली सिमेन्ट उद्योगमा पृथक किसिमको पहिचान बनाएका दुई सिमेन्ट उद्योग हुन्- मारुती र शिवम् । नेपालको पुराना औद्योगिक घरानाले सञ्चालन गरिरहेका यी दुवै उद्योगले सुरुवाती अवस्थामा ठूलै संघर्ष गरेर सिमेन्ट उद्योगमा फरक किसिमको पहिचान बनाए । संघर्षअनुसारको सफलता पनि पाए । अहिले नेपालमा मारुती र शिवमको ब्राण्डसँग अधिकांश मानिस परिचित छन् ।
राठी र गोयल ग्रुपको लगानी रहेको मारुती र लक्की, शारदा र गोयल ग्रुपको लगानी रहेको शिवम् सिमेन्टले यो बीचमा आम्दानी पनि राम्रै गरे । तर, बीचमा सरकारको नीति, अस्वस्थ प्रतिस्पर्धा लगायत चुनौतीमा केही बिजनेस गुमाउनु पर्यो । अर्थात् विगतका वर्षहरूमा राम्रै आम्दानी गर्ने यी दुई सिमेन्ट उद्योगहरूको बीचमा व्यवसाय केही खस्कियो ।
तर, अहिले फेरि दुवै उद्योग यूर्टनको अवस्थामा देखिन्छन् । दुई/तीन वर्षअघि राम्रै घटेको आम्दानी फेरि पुरानै लयमा फर्किने संकेत देखिएको छ । मारुती सिमेन्टले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा करिब चार अर्ब रुपैयाँ आम्दानी गरेको छ । यस सिमेन्ट उद्योगले चालु आर्थिक वर्षको ९ महिनाको अवधिसम्म ३ अर्ब ९८ करोड ५० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको हो ।
अघिल्लो वर्ष अर्थात् सन् २०२४ मा यस सिमेन्ट उद्योगले ४ अर्ब ७५ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो भने सन् २०२३ मा ४ अर्ब ३३ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, सन् २०२२ मा यस उद्योगले ५ अर्ब ५ करोड रुपैयाँ र सन् २०२१ मा ६ अर्ब ९० करोड ८० लाख रुपैयाँको आम्दानी गरेको थियो ।
यस उद्योगले प्रत्येक वर्ष आम्दानी बढाउँदै गएको तथ्यांकबाट देखिन्छ । नाफा मार्जिन पनि सन् २०२३ मा ९.३८ प्रतिशत रहेकोमा सन् २०२४ मा १०.३८ प्रतिशत र सन् २०२४ मा १५.९३ प्रतिशत कायम गरेको छ । यस सिमेन्ट उद्योगको सन् २०२१ मा २२.७९ प्रतिशत नाफा मार्जिन र सन् २०२२ मा १३.२७ प्रतिशत रहेको थियो ।
यस उद्योगले अल्पकालीन र दीर्घकालीनका लागि कुल ६ अर्ब ७२ करोड ३० लाख रुपैयाँ ऋणको लागि रेटिङ गराएको छट । उद्योगले दीर्घकालीनका लागि थ्री बी र अल्पकालीनका लागि ए थ्री रेटिङ पाएको छ ।
विसं २०५२ सालमा सुरु भएको मारुती सिमेन्ट नेपालको ठूलोमध्येको एक सिमेन्ट उत्पादक कम्पनी हो । यो उद्योगको नेतृत्व नन्दकिशोर राठीका छोराले गरिरहेका छन् ।
यसअघि विकासन्युजसँग कुरा गर्दै नन्दकिशोर राठीले उद्योगको व्यापारमा कमी आउनुको कारण विदेशी मुद्रा सटहीमा हुने उतारचढावका साथै प्रतिस्पर्धी, सिमेन्ट बजार नेपाल विद्युत प्राधिकरणले दाबी गरेको ट्रंकलाइनको महसुल तथा विद्युत आपूर्तिको समस्या रहेको बताएका थिए ।
उद्योगी नन्द किशोर राठीले ८० करोड रुपैयाँ लगानी गरेर सिमेन्ट उद्योगमा प्रवेश गरेका थिए । तर, अहिले यो उद्योगको पोर्टफोलियो १० अर्बको हाराहारीमा पुगेको उनको भनाइ छ ।
‘हामीले उद्योगको आम्दानी पनि रिइन्भेष्ट गर्यौं, त्यसले उद्योगको गुडविल पनि बढ्यो, सुरुवातमा बजार पनि राम्रै थियो, पछिल्लो समय प्रतिस्पर्धा बढ्दा केही समस्या सिर्जना भएको छ । तर, सस्टेन हुने अवस्था भने अझै पनि छ,’ उनले भने ।
अहिले क्षमताअनुसारको माग बजारमा छैन । सिमेन्ट उद्योगको संख्यासँगै माग केही घटेको छ । अहिले सिमेन्ट उद्योग सुस्ताउनुको कारण प्रतिस्पर्धा नै रहेको उद्योगीहरू बताउँछन् ।
अहिले मारुतीको ५३ ग्रेडको ओपीसी सिमेन्ट बजारमा लोकप्रिय छ । यो सिमेन्टले नेपालमा ठूल्ठूला परियोजनाहरू निर्माण भइसकेका छन् । एक समय नेपालमा निर्माण हुने कतिपय ठूला परियोजना अर्थात् विदेशी लगानीका परियोजनामा विदेशी सिमेन्ट नै प्रयोग गर्ने अभ्यास थियो ।
तर, त्यो अभ्यास तोड्न मारुती सिमेन्ट सफल बनेको राठी सुनाउँछन् । अहिले निर्माण हुने अधिकांश जलविद्युत परियोजनामा मारुती सिमेन्टको प्रयोग नै बढी हुने गरेको उनी बताउँछन् ।
नेपाली सिमेन्ट उद्योगमा शिवम पनि लोकप्रिय ब्राण्ड हो । देशभर रहेका सिमेन्ट उद्योगहरूमध्ये ४३ ग्रेड पाउने शिवम् पहिलो कम्पनी हो । प्राइभेट कम्पनीको रुपमा २०६० सालमा मकवानपुरको हेटौंडामा स्थापना भएको शिवम् सिमेन्टले २०६७ पछि व्यवसायिक उत्पादन थालेको थियो ।
यस उद्योग पनि आम्दानीमा यूर्टन गर्ने संघर्षमा छ । चालु आर्थिक वर्षको ९ महिनामा यस उद्योगले ५ अर्ब ३९ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । सन् २०२४ मा यो उद्योगले ७ अर्ब ७० करोड ४० लाख, सन् २०२३ मा ७ अर्ब ७५ करोड ३० लाख र सन् २०२२ मा ९ अर्ब २६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
यस उद्योगको नाफा मार्जिनमा पनि सुधार भएको छ । चालु आर्थिक वर्षमा नाफा मार्जिनमा तीन वर्षअघिकै अवस्थामा फर्किने संकेत वित्तीय विवरणमा देखिन्छ । अहिले यस उद्योगको नाफा मार्जिन ८.४ प्रतिशत रहेको छ । सन् २०२४ मा ३.५ प्रतिशत, सन् २०२४ मा ६.७ प्रतिशत र सन् २०२२ मा १२.५ प्रतिशत नाफा मार्जिन रहेको थियो।
यस उद्योगले दीर्घकालिन र अल्पकालीनका लागि ३ अर्ब १० करोड रुपैयाँ ऋणको रेटिङ पनि गराएको छ । अल्पकालीनका लागि ए वान र दीर्घकालीनका लागि एलए प्लस रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार यो उद्योगले केही सुधार गरेको देखिन्छ ।