मनसुनमा सडक अवरुद्ध हुन नदिने, खतरा रहेका सडकमा उपकरणसहित जनशक्ति खटाइयो

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मनसुन सक्रिय हुँदै गएकाले देशभरको यातायात व्यवस्थालाई सुरक्षित बनाउन सम्बद्ध निकायलाई आवश्यक निर्देशन दिएका छन्।

शुक्रबार मन्त्रालयमा आयोजित बैठकमा मन्त्री दाहालले मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक डा। विजय जैशीलगायत अधिकारीहरूलाई जोखिमयुक्त क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन निर्देशन दिएका हुन्।

‘सकेसम्म यातायात अवरुद्ध हुन नदिने व्यवस्था मिलाउनुस्,’ मन्त्री दाहालले भने, ‘जोखिम भएका स्थानहरूमा उपकरण, जनशक्ति र साधन तयारी अवस्थामा राख्नुपर्छ।’

उनले प्रहरी, प्रशासन तथा सुरक्षाका अन्य निकायहरूसँग प्रभावकारी समन्वय गरी सडक तथा यातायात सेवा नियमित, चुस्त र सुरक्षित बनाउन पनि निर्देशन दिए।

मन्त्री दाहालका अनुसार अत्यधिक जोखिम भएका स्थानहरूमा ट्राफिक प्रहरीसँग सहकार्य गरी सुरक्षित रूपमा सवारी सञ्चालन गरिनुपर्नेछ। साथै, सम्भावित जोखिमबारे सर्वसाधारणमा पूर्वजानकारी दिने व्यवस्था गर्न पनि उनले निर्देशन दिए।

जोखिम क्षेत्रमा उपकरण र जनशक्ति परिचालन


मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार पहिरो, बाढी तथा पानी जम्ने सम्भावित स्थानहरूको पहिचान गरी ती क्षेत्रमा सडक विभागमार्फत आवश्यक उपकरण तथा जनशक्ति परिचालन गरिएको छ।

‘हामीले सुरक्षासम्बन्धी निकायहरूसँग समन्वय गरेर सवारी सञ्चालनको समयसमेत व्यवस्थापन गर्ने प्रयास गरेका छौं,’ सचिव शर्माले जानकारी दिए।

सडक विभागका महानिर्देशक डा. विजय जैशीले बिपी राजमार्ग, अरनिको राजमार्ग, पृथ्वीराजपथ तथा निर्माणाधीन दाउन्ने खण्डजस्ता संवेदनशील क्षेत्रमा विशेष सतर्कता अपनाइएको बताए।

उनका अनुसार काठमाडौं उपत्यकाभित्रका पानी जम्ने स्थानहरूको सरसफाइ गरिएको छ भने राजमार्ग र कोरिडोरहरूमा आवश्यक औजार र उपकरण तयारी अवस्थामा राखिएको छ।

जैशीले भने, प्रशासन, ट्राफिक प्रहरी तथा अन्य सुरक्षा निकायहरूसँग नियमित समन्वय भइरहेको छ ।  यातायात सुरक्षाका लागि सबै निकायको सहयोग अपरिहार्य छ।’ 
 

Share News