काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट बिहीबार सार्वजनिक गर्दैछन् । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संघीय सदनको संयुक्त बैठकमा उनले बजेट प्रस्तुत गर्न लागेका हुन् ।
राष्ट्रिय योजना आयोगले दिएको साढे १९ खर्ब रुपैयाँको बजेटको सीमालाई केही बढाएर सार्वजनिक गर्ने तयारी अर्थमन्त्री पौडेलले गरेका छन् । अर्थमन्त्री पौडेलले बजेटमार्फत धेरैका करका शीर्षकलाई हेरफेर गरेर सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ ।
उनले यसअघि उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोग र राजस्व सुधार समितिले दिएको सुझावलाई आधार मानेर करका दर हेरफेर गर्ने तयारी गरेका छन् । पौडेलले बजेटमार्फत निर्यातमूलक व्यापार तथा व्यवसायलाई आयकरको दरलाई अधिकतम १० प्रतिशत निर्धारण हुन सक्ने स्रोतको भनाइ छ ।
‘निर्यातमूलक व्यवसायको आम्दानीमा कर बढाउने कुरा भएको छ, अर्थमन्त्रीज्यूले बजेटमा त्यो कुरा समावेश गरे नगरेको थाहा भएन । तर, अधिकतम १० प्रतिशत तोक्ने छलफल भएको थियो,’ स्रोतले भन्यो ।
उसो त यसअघिको कर सुधार समितिले पनि निर्मातमूलक व्यवसायको आम्दानीमा कर बढाउनुपर्ने सुझाव दिएको थियो ।
यस्तै, अर्थमन्त्री पौडेलले पूँजीगत लाभकर बढाउनुका साथै कुल सेयर कारोबारमा थप कर लगाउने तयारी गरेका छन् । बजेट लेखन समितिसँग अर्थमन्त्रीले पुँजीगत लाभर कढाउनुको विषयमा छलफल गरेका थिए । छलफलमा अधिकतम १० प्रतिशत कायम गर्ने र सेयर कारोबारमा थप अधिकतम दुई प्रतिशतसम्म वैकल्पिक कर लगाउन सक्ने छलफल भएको स्रोतको दाबी छ । अहिले अधिकतम .५ प्रतिशत पूँजीगत लाभकर लाग्दै आएको छ ।
सरकारले बजेटमार्फत विद्युतीय गाडीसँगै मदिरा, चुरोट तथा सूर्तीजन्य पदार्थमा पनि कर बढाउने बुझिएको छ । यस वर्ष कर्मचारीको तलब बढाउनु पर्ने भएकोले अधिकतम १० प्रतिशत कर्मचारीको तलब बढ्न सक्नेछ ।
स्रोतका अनुसार आयकरको सीमासँगै कर पनि हेरफेर गर्ने तयारी गरेको छ । अहिले रहेको न्यूनतम सिलिङलाई बढाएर तीन प्रतिशत पुर्याउने तयारी अर्थमन्त्रीको छ ।
सम्बन्धित सामग्री :
मदिरामा २० प्रतिशत कर बढ्ने सूचना अर्थबाटै चुहियो, विष्णुले महत र पुनको नीति उल्ट्याउँदै
कर्मचारीको तलब बढ्ने, अर्थमन्त्रीको ‘ग्रिन सिंग्नल’
विद्युतीय सवारीमा कर वृद्धिको त्रास, बैंकमा एलसी खोल्नको भीड
बजेटमा आयकर : ७ लाखसम्म कमाउनेलाई पेल्ने, २० लाख बढी तलब खानेलाई राहत