काठमाडौं । राजधानी काठमाडौंको छेउमै सामान्य टोल । बाहिरबाट हेर्दा शान्त र सामान्य वातावरण । तर, त्यो शान्त वातावरणभित्र ठूलो कर्तुत भएको विषय प्रहरीको अनुसन्धानले देखाएको छ । यो घटनाले सिंगो राज्य संयन्त्र, प्रहरी र अनुसन्धान निकायमाथि पनि थप चुनौती थपेको छ ।
तारकेश्वर नगरपालिका-७ स्थित फुटुङमा रहेको को त्यो घरभित्र कुनै साधारण काम भइरहेको थिएन । ‘फर्जी कागजात’ निर्माण गर्ने एक एक कारखाना थियो त्यो घर । प्रहरीले बुधबार बिहान त्यही घरमा छापा मार्दा त्यो शान्त वातावरणभित्र भइरहेको ठूलो कर्तुतको खुलासा भयो ।
त्यो कर्तुत गर्ने तीन जना अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा गोरखाको भीमसेनथापा गाउँपालिका-१ का ४६ वर्षीय अन्जनी बयलकोटी, ओखलढुंगाको चम्पादेवी गाउँपालिका- ७ का २८ वर्षीय निर्मल खड्का र मकवानपुरको कैलाश गाउँपालिका-२ की २३ वर्षीया अञ्जु खत्री रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले योजनाबद्ध रूपमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । त्यो तीन जनाको समूहले राजधानीमै आफ्नो फर्जी उद्योग सञ्चालन गर्दै आएको सूचना पाएपछि प्रहरीले छापा हानेको थियो ।
उनीहरुले फर्जी शैक्षिक प्रमाणपत्र, बैंक स्टेटमेन्ट, सरकारी कार्यालयको कागजातपत्र र मेडिकल रिपोर्ट बनाउँदै आएको अनुसन्धानबाट खुलेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यका अनुसार उनीहरू जापान लगायतका देशहरूमा वर्किङ भिसामा जान चाहने युवाहरूलाई 'जरुरी' कागजात बनाइदिने गरेका थिए । विदेशमा बसोबास गर्ने नेपालीहरूका लागि पीआर वा ग्रिनकार्डका लागि चाहिने मेडिकल रिपोर्टसमेत बनाइदिने गरेको अनुसन्धानबाट खुलेको छ ।
उनीहरुले मनमोहन मेमोरियल अस्पताल र वीर अस्पताल लगायत नाम चलेका सरकारी अस्पतालको मेडिकल रिपोर्ट पनि बनाउने गरेका थिए भने वाणिज्य बैंकको नक्कली स्टेटमेन्ट बनाउने धन्दा पनि सो समूहले गर्दै आएको बुझिएको छ । बैंक स्टेटमेन्टको आधारमा भिजिट भिसा सजिलै पाउन सकिने विश्वासमा धेरैले उनीहरूबाट सेवा लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
यी हुन् बरामद भएका सामान
एकेडेमिक ट्रान्सक्रिप्ट - ११० थान
क्यारेक्टर सर्टिफिकेट - ६० थान
माइग्रेसन सर्टिफिकेट - ४२ थान
प्रोभिजनल सर्टिफिकेट - ५० थान
जग्गाधनी दर्ता पूर्जा - १० थान
बैंक तथा सहकारी संस्थाका लेटरप्याड - १७ थान
खाली स्ट्याम्प - १५० थान
उनीहरूबाट प्रहरीले स्ट्याम्प मेसिन, प्रिन्टर, हेचिङ मेसिन, लेमिनेसन मेसिन, कम्प्युटर उपकरण र मोबाइल सेटहरूसमेत बरामद गरेको छ । ‘यस्ता कागजातले मात्र अपराधको ढोका खोल्दैनन्, देशकै अन्तर्राष्ट्रिय छवि र भिसा प्रणालीमाथि अविश्वासको बीउ रोप्छन्,’ सूचना अधिकारी आचार्यले भने ।
आचार्यका अनुसार प्रहरीले तीनै जनामाथि आवश्यक अनुसन्धान सुरु गरेको छ । यसका पछाडि अझै ठूलो नेटवर्क हुनसक्ने आशंका प्रहरीको छ ।
