बैंकको खराब कर्जा ८ प्रतिशत नजिक, १०५ प्रतिशतसम्म बढ्यो

काठमाडौं । आर्थिक सुस्ततासँगै विभिन्न अराजक गतिविधिले व्यवसाय विस्तारमा कठिनाइ भोगिरहेका बैंकहरूलाई कर्जा अुसलीमा समेत सकस परिरहेको देखिन्छ । बैंकहरूले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणका अनुसार कर्जा असुली थप पेचिलो बन्दै गएको देखिन्छ । 

चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तमसम्मको तथ्यांक अनुसार कर्जा असुली नहुँदा बैंकहरूको खराब कर्जा (एनपीएल) बढेको छ । गत आवको चैतसम्मको तुलनामा चालु आवको चैतमा वाणिज्य बैंकहरूको खराब कर्जा औसत ३४ प्रतिशत अर्थात् १.२३ प्रतिशत बिन्दुले बढेको देखिन्छ ।

चैतसम्म बैंकहरूको औसत खराब कर्जा अनुपात ४.८२ प्रतिशत रहेको छ । जबकी गत आवको सोही अवधिमा २० वटा वाणिज्य बैंकको खराब कर्जा औसत ३.६ प्रतिशत थियो ।

समयमा कर्जा भुक्तानी नगरेपछि ऋणीको सम्पत्ति जफत गर्ने, लिलाम गर्नेलगायत सम्पूर्ण अधिकार बैंकलाई  भएपनि बैंकरहरूलाई कर्जा असुली तनावको विषय बनेको छ । बैंकिङ प्रणालीमा खराब कर्जा (एनपीएल) बढ्नुले कर्जा उठाउन बैंकरहरूलाई सकस परिरहेको सहजै अनुमान गर्न सकिन्छ । 

समीक्षा अवधिमा नेपाल एसबीआई बैंकको खराब कर्जा सबैभन्दा धेरै बढेको देखिन्छ । यस बैंकको खराब कर्जा १०५ प्रतिशत बढेर ४.०६ प्रतिशत बिन्दुमा पुगेको छ । गत वर्षको चैतमा यस बैंकको १.९८ प्रतिशत एनपीएल थियो । 

साथै, यस अवधिमा सबैभन्दा धेरै खराब कर्जा हिमालयन बैंकको छ । हिमालयनको खराब कर्जा ५४.८३ प्रतिशत बढेर ७.६८ प्रतिशत बिन्दुमा पुगेको छ । जबकी गत वर्षको चैतमा एनपीएल ४.९६ प्रतिशत बिन्दुमा थियो ।  

सार्वजनिक वित्तीय विवरण अनुसार एनआईसी एशिया बैंकको ८६.६८ प्रतिशत बढेर ५.७५ प्रतिशत बिन्दु, सानिमा बैंकको ८०.९५ प्रतिशत बढेर ३.४२ प्रतिशत बिन्दु, माछापुच्छ्रे बैंकको ७३.२८ प्रतिशत बढेर ४.५४ प्रतिशत बिन्दु, सिद्धार्थ बैंकको ६०.३१ प्रतिशत बढेर ४.०४ प्रतिशत बिन्दुमा खराब कर्जा पुगेको छ ।

यस्तै, एनएमबि बैंकको ५६.२९ प्रतिशत बढेर ४.४७ प्रतिशत बिन्दु, सिटिजन्स बैंकको ५१.८६ प्रतिशत बढेर ५.७१ प्रतिशत बिन्दु, कृषि विकास बैंकको ५०.९० प्रतिशत बढेर ४.९८ प्रतिशत बिन्दु, कुमारी बैंकको ४१.०१ प्रतिशत बढेर ६.९८ प्रतिशत बिन्दु, प्राइम बैंकको ३१.७० प्रतिशत बढेर ५.६५ प्रतिशत बिन्दुमा खराब कर्जा पुगेको छ । 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को ३०.०४ प्रतिशत बढेर ६.०६ प्रतिशत बिन्दु, नबिल बैंकको २२.७७ प्रतिशत बढेर ४.९६ प्रतिशत बिन्दु, नेपाल बैंकको १२.३७ प्रतिशत बढेर ५.४५ प्रतिशत बिन्दु, राष्ट्रिय वाणिज्य बैंकको ९.०६ प्रतिशत बढेर ४.६९ प्रतिशत बिन्दुमा एनपीएल रहेको छ । 

लक्ष्मी सनराइज बैंकको ६.७३ प्रतिशत बढेर ५.८६ प्रतिशत बिन्दु, प्रभु बैंकको ५.८२ प्रतिशत बढेर ५.०९ प्रतिशत बिन्दु, ग्लोबल आइएमई बैंकको ५.०६ प्रतिशत बढेर ४.९८ प्रतिशत बिन्दुमा एनपीएल रहेको छ । 

तर, यसअवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंक र एभरेष्ट बैंकको खराब कर्जा भने घटेको देखिन्छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३२.७१ प्रतिशत घटेर १.४४ प्रतिशत बिन्दु र एभरेष्ट बैंकको ८.५७ प्रतिशत घटेर ०.६४ प्रतिशत बिन्दुमा खराब कर्जा झारेका छन् । 

खराब कर्जाहरू धेरै हुँदा बैंकहरूको वित्तीय अवस्था नै कमजोर हुने अवस्था सिर्जना हुन्छ । बैंकहरूले ऋण प्रवाह गरेपछि विभिन्न ५ क्याटागोरीमा कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) गर्नुपर्ने हुन्छ । असल कर्जामा १ प्रतिशत, सुक्ष्म निगरानी कर्जामा ५ प्रतिशत, कमसल कर्जामा २५ प्रतिशत, शंकास्पद कर्जामा ५० प्रतिशत र खराब कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने व्यवस्था छ । 

बैंकको खराब कर्जा जति वृद्धि हुन्छ त्यति नै कर्जा नोक्सानीको रकम पनि बढ्दै जान्छ । तथ्याङ्अनुसार हिमालयन, कुमारी, एनआईएमबि, लक्ष्मी सनराइज, एनआईसी एशिया, सिटिजन्स, प्राइम, नेपाल बैंक र प्रभु बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा बढी छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता रामु पौडेल खराब कर्जा बढी भएका बैंकहरूलाई नजिकबाट अध्ययन गरिरहेको बताउँछन् । साथै खराब कर्जा घटाउन निर्देशन समेत दिइरहेको उनको भनाइ छ । 

‘खराब कर्जा बढी भएका बैंकहरूलाई राष्ट्र बैंकले नजिकबाट हेरिरहेको छ । नीति तथा व्यवस्था अनुसार निर्देशन समेत दिइरहको छौं । सोही अनुसार पालना समेत गरिरहेका छन्,’ उनले भने, ‘एनपीएलको असर बैंकको क्यापिटलमा पर्छ । क्यापिटल कम हुने बित्तीकै लाभांश वितरण गर्न पाउँदैनन् । खराब कर्जा विस्तारै व्यवस्थापन गर्दै जानुपर्ने हुन्छ । रणनीति बनाएर राष्ट्र बैंकलाई पेस गर्नु पर्छ ।’
 

null

Share News