काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सोमबार बस्यो । सहकारी ठगी मुद्दामा प्रहरीले पक्राउ गरेपछि रवि लामिछानेले कार्यबाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई सुम्पिदै पार्टीको नियमित कामकाजबाट बाहिरिएका थिए । उनी सभापतिबाट अलग भएको पाँच महिनापछि बैठक डाकेर सभापतिको कामकाजमा फर्किएका छन् ।
रास्वपाका नेता तथा कार्यकर्ताले सोमबार लामिछानेलाई पार्टी कार्यालयमा स्वागत गरेका छन् । लामो समयपछि पार्टी कार्यालयमा पुनरागमन भएका लामिछानेले डाकेको सोमबारको केन्द्रिय कार्यसमितिको बैठकमा पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले भने अनुपस्थित देखिए ।
बैठकमा सभापति लामिछानेले पार्टीभित्रको संरचनामा व्यापक फेरबदल गर्ने बताएका छन् । उपसभापति डा. वाग्लेको अनुपस्थितिले सभापतिसँग सम्बन्ध बिग्रिएको होकि भन्ने अनुमान पनि धेरैले गरेका छन् ।
तर, डा. वाग्लेको सचिवालयले भने उनी महत्वपूर्ण कार्यक्रमका लागि देश बाहिर रहेकोले बैठकमा उपस्थित हुन नसकेको बताएको छ । ‘उपसभापतिज्यू महत्वपूर्ण कार्यक्रमका लागि विदेशमा हुनुहुन्छ, उहाँ पाँच दिन अगाडि नै विदेश जानु भएको हो, त्यस कारण उहाँ बैठकमा सहभागी हुन नसक्नु भएको हो, अन्यथा होइन,’ वाग्लेको सचिवालयले भन्यो ।