काठमाडौं । नेपाली सांसदले बिनाकुनै जानकारी भारतको उत्तराखण्ड प्रदेशका मुख्यमन्त्रीलाई भेटेको विषयले अहिले चर्चा पाएको छ । विशेष गरेर सुदूरपश्चिमको राजनीतिमा यो विषयले निकै चर्चा पाएको छ भने संसद अवरुद्द हुनेसम्मको स्थिति सिर्जना भएको छ ।
सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल, विधायन तथा प्रदेश मामिला समितिका सभापति एवं कांग्रेस सांसद दिवानसिंह बिष्ट, कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी र सांसद मधु भारती, माओवादी केन्द्रकी सांसद जानकीदेवी कुँवर र एकीकृत समाजवादीका सांसद प्रकाश रावलले बिना जानकारी उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीलाई भेट्न पुगेपछि यो विषयले चर्चा पाएको हो ।
उनीहरु औपचारिक कार्यक्रममा सहभागी हुन देहरादुन गएका थिए । उनीहरुले कूटनीतिक मर्यादाविपरीत मुख्यमन्त्री धामीको निवासमा औपचारिक भेटघाट तथा छलफल गरेको भन्दै सुदूरपश्चिम प्रदेशसभामा विरोध भइरहेको छ ।
विगत तीन सातादेखि सुदूरपश्चिम प्रदेशसभा निरन्तर अवरुद्द हुँदै आएको छ । प्रदेशसभामा केही सांसदले प्रदेशसभालाई जानकारी नै नदिई भारतको उत्तराखण्डमा आयोजित औपचारिक कार्यक्रममा सहभागी भएको र उत्तराखण्डका मुख्यमन्त्रीसँग बैठक पनि गरेको प्रति विरोध गर्दै आएका छन् ।
गत शुक्रबार भारतको उत्तराखण्ड प्रदेशको देहरादुनमा आयोजित इन्डो-नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला तथा पर्यटन महोत्सवको औपचारिक कार्यक्रममा सुदूरपश्चिमका पाँच सांसद सहभागी भएका थिए । सभामुख भण्डारीका अनुसार उनीहरु कसैले पनि प्रदेशसभा सचिवालयलाई जानकारी गराएका थिएनन् ।