काठमाडौं । धेरै दिनदेखि ज्यानलाई सन्चो थिएन । उनी घरमै आराम गरिरहेका थिए । तर, चैत्र १५ गते उनी आफ्नो कार्यालय तीनकुने पुगे । उनलाई बाहिरको राजावादीको आन्दोलन कस्तो हुन्छ, कसले के बोल्छन् भन्ने चासो थियो । त्यही चासोले उनी त्यो दिन कार्यालयमा पुगे । उनीमात्र होइन साथमा उनकी श्रीमती पनि थिइन् । उनकी आमा र बच्चा पनि त्यो दिन उनको कार्यालय पुगेका थिए ।
तर, अवस्था यस्तो भइदियो कि उनलाई अहिले सम्झँदा पनि अर्को आफू र आफ्नो परिवारले अर्को जन्म पाएको अनुभव हुन्छ । उनी अर्थात् रवीन्द्र ओझा । रविन्द्र ओझा एक व्यवसायी हुन् । उनको कम्पनी साइन टेकले सीसीटीभी क्यामेरा, हाजिरी मेसिन निर्माण तथा सफ्टवेयर विकास गर्ने काम गर्छ ।
उनको कम्पनीको कार्यालय तीनकुने अर्थात जहाँ शुक्रबार आन्दोलनकारीले ढुँगा प्रहार र आगजनी गरेको त्यही भवनमा थियो । उनको कम्पनी रहेको फ्याट आगलागीबाट त जोगियो । तर, कार्यालयमा भएका ल्यापटपहरू चोरिए । उनले २०५३ सालदेखि गर्दै आएको सबै डकुमेन्ट राखेको सर्भर ल्यापटप पनि आन्दोलनकारीले चोरिदिँदा तनाव भएको छ ।
‘डाटाबेस राखेको सर्भर ल्यापटप, तीन वटा अन्य ल्यापटप र अर्को सीसीटीभीको डिभीआर समेत लगिदिए,’ उनी भन्छन्, ‘भौतिक रुपमा हेर्दा चार पाँच लाखको सामान जस्तो लाग्छ । तर सर्वरमा मेरो जिन्दगीभरको मिहिनेत थियो ।’
उनको यती क्षतिमात्र भएन । अहिले उनका श्रीमती र आमा बेडमा थन्किएका छन् । उनीहरूलाई शौच समेत बेडमै गराउनुपर्ने अवस्था छ । खुट्टामा सिसाले कोरिया घाउ छन् । ति घाउमा चिकित्सकले मल्हम लगाएका छन् । तर उनीहरूलाई हिँडडुल गर्न समस्या हुँदा बेडमा राख्नुपर्ने बाध्यता सिर्जना भएको हो । उनी भन्छन्, ‘मैले टिभीमा रसिया, युक्रेन युद्ध भन्दै गरेको प्रहार देखेको थिएँ, हिजो त्यही दृश्य आफ्नै आँखाले देखियो र आफै भोगियो पनि ।’
के भएको थियो ?
चैत्र १५ गते । उनी परिवारसँगै आफ्नो कार्यालय रहेको तीनकुने भवनमा बसिरहेका थिए । अन्य कर्मचारी आफ्नो काम गरिरहेका थिए । उनी पनि काम गर्दै गफिएका थिए । ज्यानलाई आराम नभएपनि उनको मनाशय राजावादीको आन्दोलन कस्तो हुन्छ, सहभागीहरूले के के बोल्छन् सुन्ने थियो । उनी जे सोचर कार्यालय पुगेका थिए । त्यो दिन त्यो भन्दा ठ्याक्कै उल्टो भैदियो ।
तिनकुनेमा विस्तारै मान्छे जम्मा हुँदै थिए । औपचारिक कार्यक्रम सुरु हुन बाँकी थियो । तर, एकाएक हुल हुज्जत भएर पल्लो भवनमा एकाएक ढुँगा हान्न सुरु भयो । उनी माथि छतमा गएर तलको दृश्य नियाल्न थाले । भवनको पुरै सिसा फुटेको थियो । उनलाई डर लाग्यो । उनी यता पनि त्यही अवस्था हुन सक्ने भन्दै सचेत भए । नभन्दै उनी बसिरहेका भवनमा पनि ढुङ्गाको वर्षा भयो ।
आधा घण्टा जती ढुङ्गा बर्सिसकेपछि एकाएक आगोको गन्ध आयो । त्यसपछि उनलाई झन डर लाग्यो । बाहिरको हुलभित्र आउने डरले उनी हतार–हतार गएर ग्राउण्डको चेन गेटको सटर लगाए । आफ्नो कार्यालयको ताला लिएर ग्राउण्डको चेन गेटमा लगाए । यति गरिसकेपछि उनी हुलदंगा भित्र पस्न नसक्ने भन्दै ढुक्क भए ।
तर, ताला लगाएर माथि पस्दा आगोको गन्ध झन बढी आए जस्तो लाग्यो । उनले कहाँ रहेछ भनेर फेरि झ्यालबाट हेरे । उनको भवनसँगै जोडिएको भवनमा आगो दन्किसकेको रहेछ । उनी अब झन आँत्तिए । उनलाई ताला लगाएर भित्र बस्न सुरक्षित महसुस भएन । बरु ढुँगा मुढा खाँदै भएपनि बाहिर जाने भन्ने सोच बनाए ।
कार्यालयमा उनी एक्लो थिएनन् । उनको परिवार नै थियो । कार्यालयमा काम गर्ने अरु साथीहरू पनि थिए । तल्लो–माथिल्लो फ्ल्याटमा पनि अरु मान्छे थिए । एउटै बिचमा दुइपट्टी भर्याङ भएको घर छ । रोडबाट हेर्दा दायापट्टीको घर सबै जलिसकेको रहेछ तर उनीहरूलाई थाहै थिएन । आगोको गन्ध आउन थालेपछि अब डढिने भइयो । सबैजना हिँड्नुपर्छ बरु बाहिरको ढुंगामुढा जे खाइन्छ भाग्नुपर्छ भनेर आत्तिएर तल झरे ।
उनले आफ्नो आमालाई बोके । उनकी श्रमतीले छोरालाई बोकिन् र कार्यालयमा ताला नलगाएर उनीहरु त्यहाँबाट भागे । । भाग्न सजिलो थिएन । भवनमा लगातार ढुँगा प्रहार भइरहेको थिए । ढंगाको चोटमात्र होइन भुइमा झरेका सिसाहरू उस्तै थिए । जसोतसो घरबाट बाहिर त निस्के । सडकमा पुग्ने बित्तिकै अश्रुग्यास प्रहार भयो ।
‘हाम्रो परिवारको एउटै चिहान हुने थियो, हामी अश्रु ग्याश, ढुंगामुडा खाँदै भएपनि बाँच्न सफल भयौं, त्यो दिन मेरो परिवारले पुर्नजन्म पायौँ ।’ उनी भन्छन्, ‘भौतिक क्षति जति भएपनि शारिरीक क्षती हुनबाट जोगियौं ।’
लोकतन्त्रमा हरेक समूहले आन्दोलन गर्न मिल्छ । आफ्ना माग पनि राख्न मिल्छ । विरोध र प्रदर्शन गर्न मिल्छ । अनि, कानुन उल्लंघन गर्दा प्रशासनले कारवाही गर्न पनि मिल्छ । तर यो आन्दोलन त्यस्तो नदेखिएको उनले बताए । ‘यो कुनै आन्दोलन जस्तो थिएन, एउटा बेग्लै खालको हुल हुज्जत जस्तो, एकाएक निजी सम्पती, घर व्यक्ति माथि आक्रमण भयो,’ उनी भन्छन्, ‘यो कुनै पनि आन्दोलनको सिद्धान्तभित्र पर्दैन ।’
सुरक्षाकर्मीकाे असहयोग, गृहमन्त्रीको वेवास्ता
तीनकुने घटनामा पीडित धेरैले सुरक्षाकर्मीले असहयोग गरेको बताएका छन् । यतिसम्म कि पत्रकार मृत्युभएको प्रसंगमा पनि सुरक्षाकर्मीले असहयोग गरेको बताएका थिए । रविन्द्र त्यस्तो बेला सुरक्षाकर्मीको पनि सहयोग नपाइएको बताउँछन् ।
‘राज्य हाम्रो अभिभावक हो, जसरी हामीले आफ्नो सन्तानलाई सुरक्षा दिन्छौं त्यसैगरी सरकारले हामीलाई दिनुपर्ने हो । तर, त्यसको अनुभुतति पाइएन,’ उनी भन्छन्, ‘अब हामीलाइ क्षतीपुर्तिका लागि सरकारले पहल गरिदिनुपर्छ, हाम्रो घाउमा केही मल्हम लगाउने काम गरियो भने राज्य भएको अनुभुत गर्न पाइएला ।’
शनिबार दिउँसो उनी अस्पतालमै थिए । । श्रीमती कुरेर बसिरहेको बेला उनले गृहमन्त्री रमेश लेखक अनुगमनको लागि आउन लागेको खबर थाहा पाए । उनी हतार–हतार अस्पतालबाट तिनकुने पुगे । तर, पीडितसँग गृहमन्त्री लेखकले कुरा गरेनन् ।
सँगै जोडडिको घर सबै जल्यो । धेरैका कम्पनीहरूका कागजात जले । तर उनीहरूलाई के कति क्षतति भयो भनेर सामान्य सोधपुछ पनि नगरेको उनले बताए ।
‘पछि प्रहरी आए, मुचुल्का उठाएर लग्यो अहिले त काम भइरहेको छ । तर, मन्त्रीले आएर एक पटक पनि हामीलाई के छ कस्तो भनेर सोध्नु भएन, उनी भन्छन्, ‘ठूलासँग आश गर्ने बनी भएकाले होला उहाँले आएर सोधीमात्र दिएपनि केही हुनेथयो कि भन्ने सोचेका थियौं । तर, त्यसो भएन ।’
उनी विदेश नजाने नेपालमै केही गरिखाने भनेर बसेको भएपनि यहाँ बस्ने वातावरण नै नभएको बताउँछन् । रविन्द्र खोटाङबाट कोदो बेचेर ल्याएको पैसाले व्यवसाय सुरु गरेको बताउँछन् ।
भन्छन्, ‘हामी जस्ता मान्छेलाई भड्काएर हाम्रो विध्वंस गरिदिएर प्राप्त गरेको सत्ताले के राम्रो काम गर्न सक्ला र,’ उनी गुनासो गर्दै भन्छन् ।
मानसिक त्रासमा
राजावादीको आन्दोलनले भौतिक क्षति मात्र होइन । नागरिकलाई बाहिर निस्कन पनि त्रास छ । रविन्द्र आफू र परिवारको ज्यान जोगाउन सफल भए पनि मानसिक त्रास अझै थपिएको बताउँछन् । उनलाई अहिले आफ्नै कार्यालयमा जान डर लाग्छ ।
‘मैले मिडियामा पनि बोले मेरो नाम पनि बाहिर आयो अब भोलि म माथि नै केही हुन्छ कि भन्ने त्रास छ,’ उनी भन्छन्, ‘आम मान्छे जसको क्षति भएको छ उनीहरूलाई झन त्रासको अवस्था सिर्जना भएको छ ।’
उनी जनतालाई मारेर उपलब्धि हाँसिुल नहुने तर्क राख्छन् । ‘एउटा पत्रकारलाई मार्नु भनेको सबै पत्रकारमाथि दमन गर्नु हो । एउटा व्यवसायमा तोडफोड गर्नुभनेको पुरै व्यवसायीमाथिको आक्रमण हो,’ उनी भन्छन्, यो अराजकताले कतै पुँगिदैन ।’