चैत्र १५ गते राजधानीका तीनकुने, कोटेश्वर, जडिबुटी क्षेत्र पुरै अराजक बने । राजावादीहरुको अराजक भीडले तोडफोड, लुटपाट, आगजनीसहित उत्पात मच्चायो । आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले टोयटाको बुलेटप्रुफ गाडी प्रहरी फौजमाथि नै जोते । प्रसाईंका सहयोगीहरुले पुलिसको बन्दुक खोसे । उनैको उक्साहटमा राजावादीहरुले निजी घरहरुमा लुटपाट गर्ने र आगो लगाउने काम गरे । देशको सबैभन्दा ठूलो सुपरमार्केट भाटभटेनीमा लुटपाट मच्चाए । कान्तिपुर टिभी र अन्नपूर्ण पोष्टको अफिसमा तोडफोड गर्ने र आगो सल्काउने काम गरे । पुलिसका भ्यानमा मात्र होइन, जलिरहेको घरमा आगो निभाउन गएको दमकलमा पनि ढुंगामुढा गरे, आगो लगाए । राजावादीहरुले राजनीतिक दलका पार्टी कार्यालयमा तोडफोड मात्र गरेनन्, सरकारी स्वामित्वमा रहेको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा पनि आगो लगाए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जगाउने उदेश्यका साथ नजिकै डढेँलो लगाए । यस्ता अराजकताको फोटो र भिडियो खिच्दै गरेका एभिन्यूज टिभीका पत्रकार सुरेश रजकलाई जिउँदै जलाइदिए । अनलाइन खबरका पत्रकार दिनेश गौतमको खुट्टा भाँचिदिए । अराजक आन्दोलनमा परी कीर्तिपुर निवासी सबिन महर्जनसहित २ जनाको ज्यान गएको छ । १३० जनाभन्दा बढी मानिस घाइते भएका छन् । दर्जनौँ सवारी साधन जलेर नष्ट भएका छन् । तीनकुने चोकका अधिकांश घर तोडफोड गरिएका छन् ।
राजावादी समूहको अराजकतावादी आक्रमणबाट प्रहरीहरु नै असुरिक्षत भएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले कफ्र्यू आदेश जारी गर्यो । साँझ मन्त्रिपरिषद्को बैठकले दोषीलाई कारबाही गर्ने निर्णय गर्यो । शनिवार साँझसम्म राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महासचिव धवल शमशेर राणासहित ११३ जना पक्राउ परेका छन् । अराजकता मच्चाउने मुख्य योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह घरमा बसेर रमिता हेरिरहेका छन् । आन्दोलनका मुख्य कमाण्डर दुर्गा प्रसाईं फरार भएका छन् । उनीहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाउन सरकार असफल भएको छ ।
गृहमन्त्रालयका सहसचिव छवि रिजालका अनुसार, तीनकुनेमा करिब ३ हजार प्रदर्शनकारी थिए । जबकि समाजवादी मोर्चाले प्रदर्शनीमार्गमा गरेको सभामा करिब ३५ हजार मानिस सहभागी भएका थिए । समाजवादी मोर्चाको सभा शान्त रह्यो भने तीनकुनेमा राजावादीहरुले उत्पात गरे । एकै दिन दुई स्थानका ठूला प्रदर्शनी हुँदै गर्दा त्यसका सुरक्षा र व्यवस्थापनका लागि सरकारले करिब ५ हजार प्रहरी परिचालन गरेको थियो । यो नै सरकारको सबैभन्दा ठूलो गल्ती थियो । ज्ञानेन्द्र शाहले दुर्गा प्रसाईंलाई आन्दोलनका कमाण्डर बनाएपछि प्रसाईंले नेताहरुको घर–घरमा पुगेर कुटपिट गर्ने, नेताको घर जलाउनेजस्ता अभिव्यक्ति दिएका थिए । उनका भिडियो सामाजिक सञ्जालमा भाइरल भएका थिए । तर, प्रहरी प्रशासन मौन बस्यो, गृहमन्त्री रमेश लेखकले कुनै मतलब गरेनन् । प्रधानमन्त्री केपी शर्मा ओली कुलमान घिसिङ हटाउने र त्यसलाई सही साबित गर्ने कार्यमा व्यस्त रहे । सिङ्गो राज्य संयन्त्र घिसिङ हटाउने निर्णय सही थियो भनेर बचाउन तल्लीन रह्यो । अझै पनि प्रधानमन्त्री केपी शर्मा ओली कुलमान घिसिङलाई हटाउनु सहि भएको जवाफ दिन संसदमा उभिदैछन् तर ज्ञानेन्द्र शाहले गलत गरे भनेर उनीमाथि कारवाही गर्न उनी तयार छैनन् । ज्ञानेन्द्र शाहप्रति केपी ओली यहि उदारता बुझेर होला राजाबादीहरु केपी शर्मा ओली नेतृत्वका सरकार टिकिरह्यो भने अबको ३ महिनामा राजतन्त्र व्यूताउन सकिने विश्लेषण सुनाईरहेका छन् ।
तीनकुनेमा अराजकता मच्चाउने कार्यको नेतृत्व ज्ञानेन्द्रले नै गरेका हुन् भन्दै काठमाडौं महानगरपालिकाका मेयर वालेन शाहले ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेका छन् । त्यसको कार्यान्वनका लागि ८ वटा पत्र काटेरका छन् । मेयरले यति ठूलो आँटका साथ निर्णय गर्दा प्रधानमन्त्री ओली ठोस निर्णय लिन सकेका छैनन् । ज्ञानेन्द्र शाहमाथि कारवाही गरेका छैनन् । लाग्छ, ओलीको नजरमा ज्ञानेन्द्र शाह तिनकुने गएकै थिएनन्, अराजक गतिविधिमा उनले हात उठाएकै थिएनन् ।
तिनकुनेको घट्नालाई राजनीतिक रुपमा मात्र हेरिनु हुन्न । यहाँ सर्वसाधारणको जीउज्यानको सुरक्षा जोडिएको छ । निजी घरहरुमा तोडफोड, लुटपाट र आगजनी गरिएका छन् । राजावादीले अहिले गरेको जस्तै उत्पातपूर्ण घट्ना राजधानी काठमाडौंमा पहिलो पटक भएको होइन । २०७९ फागुनमा लोत्सेमहलमा भएको लुटपाट, २०६१ सालमा इराकका नेपाली युवाहरु मारिएको विरोधमा भएको भएको लुटपाट पनि यस्तै थिए । दुई दशकका बीचमा राजधानीमा भएका यी तिनै घटनामा सरकारी संयन्त्र निस्क्रिय जस्तै देखिएको छ । घटनास्थलमा प्रहरी पुग्न नसक्ने, दमकल पुग्न नसक्ने अवस्था देखियो । यस्तो दुरावस्थाले आम नागरिकले आफूलाई असुरक्षित महशुस गरेका छन् । अर्को महत्वपूर्ण यो हो कि यस्ता अराजकता मच्चाउनेहरुलाई कारबाही गर्न सरकारी संयन्त्र असफल भएको छ । तीनकुनेमा जे भयो, त्यसको प्रशस्त फोटो र भिडियोहरु क्यामेरामा कैद भएका छन् । सञ्चारमाध्यमहरुमा प्रकाशित/प्रसारित भएका छन्। तीनको आधारमा, सीसीटीभी फुटेजका आधारमा, राज्य संयन्त्रका निगरानी र सूचनाको आधारमा, थप अनुसन्धानले पुष्टि गरेका आधारमा दोषीलाई सरकारले कडाभन्दा कडा कारबाही गर्नैपर्छ । अराजकताको आगो आगामी दिनमा फेरि बल्नु हुँदैन ।