काठमाडौं । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेल बैंकिङ क्षेत्रमा ‘इनोभेटिभ’ तथा ‘क्रेटिभ’ काम गर्न रूचाउँछन् । सीईओ पोखरेल बैंकका ग्राहकहरूलाई नयाँ स्वाद, नयाँ अनुभव दिन चाहन्छन्, जुन स्वाद बैंकिङ क्षेत्रमै पहिलोपटक सिटिजन्सले दिएको होस् ।
बैंकले प्रत्येक वर्ष बैशाख ७ गते वार्षिकोत्सव मनाउँछ । २०८१ बैशाख ७ गते सिटिजन्स बैंक १७ वर्ष पूरा गरी १८औँ वर्षमा प्रवेश गर्दै थियो, बैंकिङ क्षेत्रमा फरकशैली अपनाउन चाहने सीईओ पोखरेलले ग्राहकहरूलाई नयाँ स्वाद दिन चाहन्थे । पछिल्लो समय बैंकिङ क्षेत्रमा पूर्ण रूपमा डिजिटलाइजेशन अभियान चलिरहँदा सीईओ पोखरेल पनि डिजिटल सम्बन्धी नै केही नयाँ कार्य गर्ने सोचमा थिए ।
भौतिक (फिजिकल) क्रेडिट कार्डलाई डिजिटलाइज गर्ने सोचसहित सीईओ पोखरेलले ‘भर्चुअल क्रेडिट कार्ड’को परिकल्पना तयार पार्न व्यवस्थापन समूह, कम्पनीको आईटी टिमलाई निर्देशन दिए । ग्राहकको बैंकप्रतिको अपेक्षा र आवश्यकता पूरा गर्ने उद्देश्यले कार्डलाई स्वाइप नगरिकन क्यूआरबाट चलाउन सकिने सम्भावता अध्ययन गर्याे । फोन पेबाट सकारात्मक संकेतपछि १५/२० दिनको अवधिमा बैंकले १७औँ वार्षिकेत्सवको अवसरमा भर्चुअल क्रेडिट कार्ड प्रडक्टको सफ्ट लञ्च गर्याे ।
‘सबैभन्दा ठूलो फिनटेक कम्पनी एफवान सफ्टसँगको सहकार्यमा फोन पेको क्यूआरमा उपलब्ध हुने गरी भर्चुअल क्रेडिट कार्ड प्रडक्ट डिजाइन भएपछि बैंकको १७औँ वार्षिकेत्सवमा सफ्ट लञ्च गर्याैं । जुन नेपालको बैंकिङ क्षेत्रमा नयाँ र पहिलोपटक सिटिजन्सले सार्वजनिक गरेको हो,’ बैंकका क्रेडिट कार्ड इकाई प्रमुख समीर अधिकारीले भने, ‘सफ्ट लञ्चको ४ महिना परीक्षणका लागि आन्तरिक रूपमै बैंकका कर्मचारीहरूलाई प्रयोग गर्न दिइयो । पूर्णरूपमा भुक्तानी, सुरक्षा लगायत सबैमा सफलतापछि बैंकले २०८१ भदौ २७ गतेदेखि ग्राहकहरूलाई वितरण गर्न थाल्यो ।’
उनका अनुसार भर्चुअल क्रेडिट कार्डको प्रयोगपछि क्रेडिट कार्डको अवधारणा नै बदलिएको छ । काठमाडौं लगायत मुख्य सहरमा मात्रै केन्द्रीत भौतिक क्रेडिट कार्ड अब हुम्ला, जुम्ला, बैतडी लगायत विकट तथा दुर्गम ठाउँमा पनि ग्राहकहरूले सहज रूपमा भर्चुअल क्रेडिट कार्ड चलाउन थालेको उनले दाबी गरे । बैंकले ग्राहकलाई क्रेडिट कार्ड मात्रै बिक्री गरेको छैन, दुर्गममा क्रेडिट कार्डको अवधारणा समेत दिइरहेको उनको भनाइ छ ।
‘उहाँ (ग्राहक)हरूलाई वित्तीय साक्षरता पनि प्रदान भयो । क्रेडिट कार्डको माध्यमबाट आफ्नो आवश्यकता पनि परिपूर्ति गर्नु भयो । दुर्गम क्षेत्रमा पनि ग्राहकहरूले उत्साहित भएर कार्ड चलाइरहनु भएको छ । जुन सिटिजन्स बैंकको लागि मात्रै नभई समग्र बैंकिङ क्षेत्रका लागि ‘माइलस्टोन’ हो । र, बैंकिङ क्षेत्रमा थप उर्जासँगै ग्राहकको दैनिकी सहज बनेको छ,’ उनले भने ।
क्रेडिट कार्ड इकाई प्रमुख अधिकारीका अनुसार विदेशमा स्वाइप (पस)मेसिन उपलब्धता क्यूआरभन्दा बढी छ । अर्थात स्वाइप मेसिन नभएको ठाउँ बिरलै हुन्छन् । तर, नेपालमा डिजिटल भुक्तानीको लागि अधिकांशले क्यूआर प्रयोग गर्छन् । कोरोना महामारपछि त क्यूआर प्रयोगमा ठूलै फड्को मार्याे । नेपालमा क्रेडिट कार्डको दायरा धेरै भएपनि सीमित ग्राहकको मात्रै रुची रहेको देखिएको उनले बताए । तर, भर्चुअल क्रेडिट कार्डमा भने ग्राहकहरूको आकर्षण बढ्दो रहेको उनको दाबी छ ।
‘नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंकिङ्ग क्षेत्रमा सक्रिय क्रेडिट कार्डको संख्या ३ लाख हाराहारी छ । जुन कुल जनसंख्याको एकदमै न्यून हो । क्रेडिट कार्डको अवधारणा थाहा नभएर, महँगो वा ब्याजदर धेरै तिर्नुपर्छ भन्ने गलत बुझाई भएर ग्राहकहरू कम भएको हुन सक्छन् । साथै, सामान्य किराना पसलमा पस मेसिन (स्वाइप मेसिन) सायदै छैन । भएपनि क्रेडिट कार्ड प्रयोगका लागि ‘इनकरेज’ गर्नु हुँदैन,’ अधिकारीले भने, ‘तर, भर्चुअल कार्ड लिने संख्या ३/४ गुणा बढेको छ । ५/६ महिनामा ३ हजार बढी भर्चुअल क्रेडिट कार्डका ग्राहक बन्नु भएको छ ।’
उनका अनुसार भर्चुअल क्रेडिट कार्डबाट करिब १० करोड भन्दा बढी कर्जा प्रवाह भएको छ भने मासिक ५० प्रतिशतभन्दा बढीको कारोबार हुने गरेको छ ।
भर्चुअल क्रेडिट कार्ड कसरी लिने ?
बैंकको भर्चुअल क्रेडिट कार्ड ग्राहक बन्न २ दिन मात्रै समय लाग्छ । सुरूमा बैंकमा खाता भएका ग्राहकहरूले ‘रिक्वेस्ट’ पठाउनु पर्छ । यदि खाता छैन भने बैंकमा खाता खोल्नुपर्ने हुन्छ । ग्राहकको डकुमेन्टका आधारमा बैंकले अधिकत लिमिट (सीमा) तोक्छ । जसका लागि ग्राहकले आम्दानीका स्रोतहरू तलब सर्टिफिकेट, व्यवासयको प्रमाण, भाडा संकलनको प्रमाणपत्र पेस गर्न गर्नुपर्ने हुन्छ । यदि कुनै प्रमाण छैन भने पनि बैंकको मुद्दती निक्षेपमा जम्मा गरिएको रकमका आधारमा बैंकले कर्जाको अधिकतम सीमा निर्धारण गर्नेछ ।
‘ग्राहकहरूको तलब, व्यवसाय, घर भाडा, बैंकिङ्ग कारोबार, मुद्दती निक्षेपमा राखिएको रकमका आधारमा क्रेडिट कार्डको अधिकतम लिमिट (सीमा) तोक्छौं । उक्त लिमिट सिधैं ग्राहकको मोबाइल बैंकिङमा जान्छ । त्यसपछि मोबाइल बैंकिङ लग इन गरेपछि लिमिट कति हो ? ड्यू डेट कहिलेसम्म हो ? स्टेटमेन्ट डेट कहिले हो ? कर्जा चुक्ता भुक्तानी १ सय प्रतिशत गर्ने कि १० प्रतिशत मात्रै गर्ने, टम्र्स एण्ड कण्डिसन के–के हुन् ? सेवा शुल्क कति लाग्छ ? सबै सूचना मोबाइल बैंकिङमा नै उपलब्ध हुन्छन्,’ उनले भने ‘त्यसपछि फोन पेमा आवद्ध मर्चेन्टमा क्यूआर स्क्यान गरेर जुनसुकै ठाउँबाट पनि भर्चुअल क्रेडिट कार्ड प्रयोग गरेर भुक्तानी गर्न सक्नुहुन्छ ।’
क्रेडिट कार्ड इकाई प्रमुख अधिकारीका अनुसार कुनै सामान किन्दा मोबाइल बैंकिङबाट क्यूआर स्क्यान गरी भुक्तानी गरिन्छ । भर्चुअल क्रेडिट कार्डमा पनि सोही तरिका नै अपनाउने हो । तर, भुक्तानी गर्दा बैंक खाताबाट रकम तिर्ने कि भर्चुअल क्रेडिट कार्डबाट तिर्ने भनेर अप्सन दिएको हुन्छ । मोबाइल बैंकिङमा भर्चुअल क्रेडिट कार्ड डिस्प्ले गरिएको हुन्छ ।
फोन लोन र भर्चुअल क्रेडिट कार्डमा फरक
फोन लोन र भर्चुअल क्रेडिट कार्डमा कर्जा लिँदा फरक क्राइटेरिया छन् । मोबाइल बैंकिङबाट कर्जाका लागि आवेदन दिँदा सम्बन्धित बैंकमा तलब जम्मा भएको हुनुपर्ने, निश्चित समयदेखि बैंकमा कारोबार गरेको हुनुपर्ने बाध्यकारी व्यवस्था छ । साथै, कर्जा लिइसकेपछि इएमआई मार्फत किस्तामा ऋण चुक्ता गर्नुपर्ने हुन्छ । तर, भर्चुअल क्रेडिट कार्डमा बैंकमा तलब जम्मा भएको हुनुपर्ने, बैंकिङ कारोबार गरेको हुनुपर्ने अनिवार्यता छैन ।
‘निरन्तर आम्दानी हुने ग्राहकहरूका लागि भर्चुअल क्रेडिट कार्डले धेरै फाइदा पुर्याउँछ । जसको तलब खातामा आउँछ, तलबबाट घर भाडा तिर्नुपर्ने, बच्चाबच्चीको विद्यालयको शुल्क, घरको सामान किन्नुपर्ने लगायतमा खर्च गर्दा हप्ता १० दिनमा तलब सकिन्छ,’ क्रेडिट कार्ड इकाई प्रमुख अधिकारीले, ‘तर, आफ्नो इच्छा अनुसारका सामान किन्न, घुम्न जान, मोबाइल फोन किन्न, राम्रो रेष्टुरेन्टमा गएर लन्च/डिनर गर्न मन छ भने त्यो आवश्यकता भर्चुअल क्रेडिट कार्ड प्रयोगबाट पुरा गर्न सकिन्छ । जसले आर्थिक भार कम गर्न मद्दत पुर्याउँछ ।’
फिजिकल र भर्चुअल क्रेडिट कार्डमा फरक
भौतिक (फिजिकल) कार्डका लागि ग्राहकले आवेदन दिएपछि बैंकले अप्रुभ गर्नुपर्ने हुन्छ । कार्ड प्रिन्ट भएपछि बैंकमै लिन जानुपर्ने हुन्छ । कार्ड लिएपछि एटीएम मेसिनमा एक्टिभ गराउनुपर्ने हुन्छ । जुन धेरै लामो प्रक्रिया छ । तर, अहिलेको ग्राहकहरूलाई लामो प्रक्रिया अपनाउने फुर्सद छैन । र, बैंकसम्म जान पनि झण्झछ मान्ने भएकाले भर्चुअल कार्डको अवधारणा अघि सारिएको अधिकारीको भनाइ छ ।
‘ग्राहकहरूको स्वादमा परिवर्तन छ । पुरानै प्रडक्ट दिँदा प्रयोग गर्न रुचाउनु हुन्न । ग्राहकको स्वाद अनुसार अघि बढ्नुपर्ने भएकाले भर्चुअल कार्डको अवधारणा अघि सार्याैं । फिजिकल कार्डका लागि सबै ठाउँमा पस मेसिन उपलब्ध नहुने, सीमित ग्राहकले मात्रै त्यो कार्ड चलाउने, चलाएपनि त्यसको प्रत्यक्ष स्टेटमेन्ट नदेखाउने, एक महिनापछि मात्रै स्टेटमेन्ट देखाउँछ,’ उनले भने, ‘तर, भर्चुअल क्रेडिट कार्डमा कारोबार गर्ने बित्तीकै मोबाइल बैंकिङमा स्टेटमेन्ट देखिन्छ । कहाँ केमा खर्च गरेको छ भनेर जुनसुकै बेलामा पनि हेर्न सकिन्छ । कोही ग्राहकको खर्च ट्रयाकिङ गर्ने बानी पनि हुन्छ । जसले अनवाश्यक खर्च कटौति गर्न सहयोग पुर्याउँछ ।’
त्यसैले भर्चुअल क्रेडिट कार्ड एडभान्स र सजिलो रहेको उनले दाबी गरे । दैनिक जीवनका आवश्यकतालाई पूरा गर्न सहज हुने र बिहानको चियादेखि बेलुककासम्मको खर्चलाई कभर गर्ने भएकाले ग्राहकहरू उत्साहित भएर यो प्रडक्ट प्रयोग गरिरहेको उनको भनाइ छ ।
भर्चुअल क्रेडिट कार्डमा लोनको सुविधा कति ?
८० प्रतिशतभन्दा बढी मान्छेले मोबाइल बैंकिङ प्रयोग गरिरहेको विभिन्न तथ्याङ्कले देखाएको छ । साथै ७० प्रतिशतभन्दा बढी मान्छेले स्मार्ट फोन बोक्छन् । अर्थात् प्रायसँग मोबाइल बैंकिङ उपलब्ध छ । त्यसैले सिटजन्स बैंकले पनि मोबाइल बैंकिङमा नै उपलब्ध हुने गरी भर्चुअल क्रेडिट कार्ड प्रडक्ट ल्याएको हो । यस प्रडक्टमा कर्जाको लागि न्यूनतम २० हजार रुपैयाँदेखि अधिकतम साढे २ लाख रुपैयाँसम्म निर्धारण गरिन्छ । कर्जा चुक्ताको समस्या आउन सक्ने भएकाले उक्त सीमा निर्धारण गरिएको क्रेडिट कार्ड इकाई प्रमुख अधिकारीको भनाइ छ ।
‘ग्राहकहरूले क्रेडिट दिएर चलाउनु भयो । तर, रकम फिर्ता गर्न समस्या पर्न सक्ने भएकाले औसत लिमिट राखिएको हो । ४५ दिनभन्दा बढी अवधिका कर्जा लिने ग्राहकहरू पनि छन् । स्टेटमेन्टको ड्यू डेट फिक्स हुन्छ । सिटिजन्सको २५ तारिखको स्टेटमेन्ट हो । तर, कर्जा चुक्ता गर्ने भनेको अर्काे महिनाको १० तारिखमा हो । जस्तो आजको २५ तारिखदेखि अर्काे महिनाको २४ तारिखसम्मको खर्च २५ तारिखमा स्टेटमेन्ट आउँछ । त्यो रकम अर्काे महिनाको १० तारिखसम्म तिर्नुपर्ने हुन्छ । यसले कुल ४५ दिनको समय पायो,’ उनले भने ।
ग्राहकले जति रकम कर्जाबापत चलाएको छ सो रकम शतप्रतिशत भुक्तानी गर्ने कि १० प्रतिशत वा चाहेको रकम चुक्ता गर्ने भनेर भुक्तानीको समयमा अप्सन आउँछ । जस्तो १ लाखको सीमामा १० हजार रुपैयाँ कर्जा प्रयोग गरेर १० प्रतिशत मात्रै भुक्तानी गर्दा बाँकी रकममा मासिक २ प्रतिशत ब्याजदर लाग्ने उनले बताए ।
‘भर्चुअल क्रेडिट कार्डको वार्षिक शुल्क ५ सय रुपैयाँ तोकेको छ । त्योभन्दा बाहेक यदि कसैले कर्जा चुक्ता गर्नु भएन भने मासिक २ प्रतिशत ब्याज लाग्ने भयो । अन्यथा लाग्दैन । अथवा कसैले ड्यू डेट आयो तिर्दै तिर्नु भएन भने ३ सय रुपैयाँ लाग्छ । समयमा तिर्नु भयो भने त्यो पनि लाग्दैन । अनुशासित रुपमा चलाउँदा बैंकको फण्डलाई बिना ब्याजदर चलाउन पायो,’ उनले भने, ‘एक लाखको लिमिट मासिक हो । उक्त लिमिटभित्र रहेर जति रकम पनि चलाउन मिल्छ । १ लाखको लिमिटमा १० हजार रुपैयाँ चलाएको छ भने १० हजार रुपैयाँमा मात्रै ब्याज तिर्नुपर्ने हुन्छ । बाँकी ९० हजार रुपैयाँको ब्याज तिर्नु पर्दैन । किनभने बाँकी रकम चलाएको हुँदैन ।’
क्रेडिट कार्ड इकाई प्रमुख अधिकारीका अनुसार डिजिटल लेण्डिङ भएकाले भर्चुअल क्रेडिट कार्ड अनसेक्यूअर्ड प्रडक्ट हो । सेक्यूर प्रडक्टमा धितो राखिएको हुन्छ । तर, यी प्रडक्टमा धितो हुँदैन । क्रेडिट कार्डमा कर्जा लिएर चुक्ता नगर्ने ग्राहक बैंकिङ क्षेत्रमा हुन सक्ने भएकाले बैंकले कर्जा दिँदा केही प्रतिशत डिफल्ट हुन्छ भन्ने अनुमान गरेको हुन्छ ।
‘अन सेक्यूर प्रडक्ट भएकाले कडाइका साथ कर्जा दिन्छौं । ग्राहकलाई लिमिट वा प्रडक्ट बेच्ने मात्रै होइन, प्रडक्ट उपयुक्त हुन्छ कि हुँदैन, सही तरिकाले प्रयोग गर्नु हुन्छ कि हुँदैन, कर्जा लिएपछि तिर्न सक्ने क्षमता छ कि छैन ? भनेर बैंकले सुरूमै विश्लेषण गरेको हुन्छ,’ उनले भने, ‘साथै कर्जा लिएर चुक्ता गरेन भने आईपर्ने असर, कालोसूचीमा पर्ने समस्या लगायतका बारेमा ग्राहकलाई सचेत गराउँछौं । त्यसपछि राष्ट्र बैंकको निर्देशन अनुसार होमलोन, अटो लोन वा कुनै पनि लोनमा रिकभरि प्रक्रिया अपनाउँछन्, सोही अनुसार प्रक्रिया यो प्रडक्टमा लागू हुन्छ ।’
उनका अनुसार क्रेडिट कार्ड, फोन लोनको सन्दर्भमा ९० दिनको भाका हुन्छ । ९० दिनको भाका नाघेपछि बैंकले रिकभरीको प्रक्रिया अपनाएर पत्रिकामा नाम सार्वजनिक गर्ने, कालो सूचीमा समावेश गराउने, बैंक खाता रोक्का गर्ने भएकाले ग्राहकहरू आफैं सचेत हुने गरेको उनको भनाइ छ ।
हालसम्मको अवस्था हेर्ने यस प्रडक्टमा कुनै पनि डिफल्टको केस नआएको उनले सुनाए । सुरूवाती चरणमा केही ग्राहकले कर्जा तिर्न ढिलाई गरेपछि बैंकले सचेत गराएकाले डिफल्ट नरहेको उनको दाबी छ ।
भर्चुअल क्रेडिट कार्डको कर्जा प्रयोग मिल्छ ?
राष्ट्र बैंकको नियमअनुसार भर्चुअल क्रेडिट कार्ड पर्चेजको लागि प्रयोग गर्नुपर्ने हुन्छ । व्यक्तिगत क्यूआरमा पठाउन मिल्दैन । मर्चेन्टमा दर्ता भएका क्यूआरमा मात्रै कर्जा रकम भुक्तानी गर्न मिल्छ । भुक्तानीका लागि मात्रै प्रयोग होस भनेर नगद रकम निकाल्न वा व्यक्तिगत खातामा रकम पठाउन नमिल्ने व्यवस्था गरेको उनको भनाइ छ ।
‘जुन प्रयोजनका लागि कर्जा लिएको हो, त्यही प्रयोजनमा खर्च होस् भन्ने हो । फिजिकल कार्डमा पनि १० प्रतिशत मात्रै नगद निकाल्न मिल्छ । सो भन्दा माथि निकाल्न मिल्दैन । राष्ट्र बैंकको निर्देशन अनुसार भर्चुअल कार्डमा भने अनुमति छैन,’ उनले भने ।
उनका अनुसार हालसम्म कुनै पनि बैंकले भर्चुअल क्रेडिट कार्ड प्रडक्ट सञ्चालनमा ल्याएको छैनन् । बजारमा माग र ग्राहकको आवश्यकता बढ्दै गएपछि अन्य बैंकले पनि ल्याउन सक्ने उनको भनाइ छ ।