राहुघाट जलविद्युत् आयोजनामा तालाबन्दी, मृतकका आफन्तले मागे ५० लाख रुपैयाँ

<p>काठमाडौं । म्याग्दी जिल्लास्थित रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको कार्यालयमा स्थानीयले सोमबार तालाबन्दी गरेका छन् । दुर्घटनामा परी ज्यान गुमाएका मजदुरका आफन्त र गाउँलेले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा निर्माण भइरहेको राहुघाट जलविद्युत् आयोजनाको कार्यालयमा सोमबार तालाबन्दी गरेका हुन् । रघुगङ्गा-४ बुक्लस्थित राहुघाट जलविद्युत् आयोजनाको अडिट नं २ मा गत फागुन २९ [&hellip;]</p>

काठमाडौं । म्याग्दी जिल्लास्थित रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको कार्यालयमा स्थानीयले सोमबार तालाबन्दी गरेका छन् । दुर्घटनामा परी ज्यान गुमाएका मजदुरका आफन्त र गाउँलेले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा निर्माण भइरहेको राहुघाट जलविद्युत् आयोजनाको कार्यालयमा सोमबार तालाबन्दी गरेका हुन् ।

रघुगङ्गा-४ बुक्लस्थित राहुघाट जलविद्युत् आयोजनाको अडिट नं २ मा गत फागुन २९ गते ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्सको डिपी टुए ७०८३ नम्बरको मिस्कर सडकबाट ८० मिटर तल खसेर दुर्घटना हुँदा चालक बेनी नगरपालिका-२ खबराका ४२ वर्षीय हेमबहादुर घिमिरेको घटनास्थलमा मृत्यु भएको थियो ।

निर्माण कम्पनी र आयोजनाले मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध नगराएपछि पिप्लेस्थित रघुगङ्गा हाइड्रोपावरको कार्यालयमा ताला लगाइएको बेनी-२ का पूर्ववडाध्यक्ष हिराबहादुर थापाले बताए ।

‘तिल्केनीचौरस्थित ठेकेदारको कार्यालयमा ताला लगाउन पुगेका बेनी-२ ज्यामरुककोटका बासिन्दालाई प्रहरीले रोकेको थियो । ताला लगाएपछि सरोकार भएका पक्षले मङ्गलबार बिहान छलफलका लागि आह्वान गरेका छन्,’ उनले भने ।

बेनी अस्पतालमा राखिएको मृतकको शव आफन्तले अझै बुझ्न मानेका छैनन् । ठेकेदार कम्पनीले बीमा र कम्पनीको नियमानुसार पाउने राहत उपलब्ध गराउन तयार भए पनि मृतकका आफन्तले ५० लाख रुपैयाँ माग गरेकाले समस्या भएको ठेकेदार कम्पनीको भनाइ छ ।

निर्माणको अन्तिम चरणमा रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनामा गत पुसयता भएका दुर्घटनामा घिमिरेसहित चार जनाको मृत्यु भएको छ । रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले ठेकेदार र मजदुरका आफन्तसँग समन्वय र सहजीकरण भइरहेकाले यथाशीघ्र समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

Share News