काठमाडौं । दुई वर्षअघि सम्पन्न हुनुपर्ने चितवनस्थित सभागृहको प्रगति ६७ प्रतिशत मात्र भएको छ । छाना छाउने क्रममा प्राविधिक समस्या देखिएपछि महत्वपूर्ण काम रोकिँदा अपेक्षाकृत प्रगति नभएको हो ।
भरतपुर महानगरपालिका–१० जिल्ला समन्वय समिति नजिकै विसं २०७७ मङ्सिर १८ गते सभागृह निर्माण थालिएको थियो । २७ महिना अर्थात् विसं २०७९ फागुन १८ गते निर्माण सम्पन्न गर्नेगरी ठेक्का लगाइएको थियो ।
निर्माण कम्पनीको ढिलासुस्ती र दिइएको डिजाइनअनुसार काम गर्दा देखिएको प्राविधिक समस्याका कारण काममा ढिलाइ भएको हो । ट्रष्टको डिजाइनमा समस्या आएपछि अन्य निर्माण भए पनि ट्रष्टको काम हुन सकेको छैन ।
सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख वरिष्ठ डिभिजनल इञ्जिनियर झपटबहादुर थापाका अनुसार ट्रष्ट लगाउने क्रममा हावाले झारेपछि पुनःअध्ययन थालिएको छ ।
उनका अनुसार ७ महिनाअघि ५ वटा ट्रष्ट राखेपछि एउटा ट्रष्ट हावाले झारेको थियो । के–कति कारणले समस्या परेको हो यस विषयमा विस्तृत अध्ययन भइरहेको छ । आइतबारसम्ममा प्रतिवेदन आउने र सोहीअनुरुप काम अघि बढाइने उनले जानकारी दिए ।
‘अब तत्काल हामी ट्रष्ट निर्माण सुरु गराएसँगै अन्य संरचना निर्माणले समेत गति पाउने छ,’ उनले भने ।
१ अर्ब २० करोड लागत अनुमानमा निर्माण सुरु गरिएको हल निर्माणका लागि इण्डो सगुन रौताहा जेभीले ७७ करोड ७७ लाख रुपैयाँमा ठेक्का सकारेको थियो ।
बाइपास सडकसँगै जिल्ला समन्वय समितिका नाममा रहेको ४ बिघा चार कट्ठा जमिन भरतपुर महानगरपालिकाका नाममा लगेर सिटिहल निर्माण थालिएको हो । निर्माणका क्रममा रहेको हलमा अहिले भित्री भागको बिजुली, पानी जडान गर्ने, प्लाष्टर, प्लम्बिङलगायत काम भइरहेको उनले बताए ।
सभा गृहमा मुख्य अडिटोरियम ब्लकमा २ हजार जना अट्ने सुविधासम्पन्न सभा हल बन्ने छ । यसका साथै ३ सय मानिस अट्न सक्ने क्षमताको सभा हल रहनेछ भने विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुनेछ । २वटा भ¥याङ र २ वटा लिफ्ट, प्रवेशद्वार, आकर्षक स्टेज, प्रशिक्षण कक्ष पनि रहनेछन् । मुख्य ब्लक ६ हजार ५ सय वर्गमिटरमा हुनेछ ।