
काठमाडौं । हाल सरकार र निजी क्षेत्रबाट हुने निर्माण कार्य सुस्त गतिमा छ । निर्माण व्यवसायीहरूले काम गरेको भुक्तानी रकम सरकारले नदिँदा निर्माण क्षेत्र सुस्त बनेको छ ।
भुक्तानी रकम नपाउँदा ठूला–ठूला प्ररियोजनाहरू अलपत्र परेका छन् । यता बजारमा सिमेन्ट, डण्डी र फलामलगायतका निर्माण सामग्रीको मूल्य बढिरहेको छ ।
बजारमा सिमेन्ट, डण्डी र फलाम, ग्रिललगायतको मूल्य बढेको नेपाल निर्माण सामग्री व्यापार महासंघले जनाएको छ । महासंघका अनुसार सिमेन्ट, डण्डी ग्रिललगायत सामग्रीहरूको मूल्य बढेको हो । बजारमा सिमेन्टको मूल्य ८२० पुगेको छ । जसमा पीपीसीको ७ सय २० र ओपीसीको ८ सय २० पुगेको छ ।
यस्तै, डण्डीको १० देखि १५ मिटरसम्मलाई ९१ रुपैयाँ तथा २० मिटरदेखि २५ सम्मलाई ९५ रुपैयाँ पुगेको छ ।
यस्तै, ग्रिल प्रतिकिलो ३०५ देखि ३४५ रुपैयाँसम्म पुगेको जनाइएको छ । योभन्दा पहिले सिमेन्टको मूल्य ६ सयदेखि ७ सयसम्म रहेको थियो । जसमा ओपीसीको ७ सय र पीपीसीको ६ सय रहेको थियो । डण्डीको मूल्य पनि यसअघि ८४ देखि ८५ सम्म रहेको महासंघले जनाएको छ ।
निर्माण सामग्रीको मूल्यबारे सरकार मौन रहेको महासंघका वरिष्ठ उपाध्यक्ष दीपक श्रेष्ठले बताए । उनले सबै कम्पनी मिलेर बजारमा सामग्रीको मूल्य बढाएको आरोप लगाए । उनले भने, ‘सरकार यसबारे मौन छ । मूल्य समायोजन सरकारले गर्ने हो । यसमा सबै पक्ष मिलेका छन् । हाल व्यापार हुने सिजन हो तर केही छैन, सबैतिर शून्य छ ।’
यता नेपाल ग्रिल तथा स्टिल व्यवसायी महासंघ भने हाल कुनै पनि निर्माण सामग्रीको मूल्य नबढेको बताउँछ । महासंघका अध्यक्ष मोहन कटुवालका अनुसार सिमेन्ट, डण्डी, स्टील, फलामलगायतको मूल्य केही घटेको छ । लोडसेडिङको कारण सिमेन्टको मूल्यमा यसअघि बीचमै वृद्धि भएको तर अहिले केही घटेको छ ।
उनले भने, ‘सिमेन्टको मूल्य यसअघि उद्योगीहरूले बढाएका थिए । पछि बीचमा सहमति भयो अनि केही घटेको छ । यस्तै, डण्डी र ग्रिलको मूल्य पनि घटेको देखिन्छ ।’
निर्माण कार्य नहुँदा माग कम भएको र मूल्य घटाएरै भएपनि व्यवसायीहरूले निर्माण सामग्री बेचिरहेको उनको भनाइ छ ।
बजारमा आर्थिक मन्दीले गर्दा निर्माण सामग्रीको माग नभएको अध्यक्ष कटुवालले बताए ।
उनले भने, ‘हाल आर्थिक मन्दी छ । घरजग्गा कारोबार शिथिलता छ । घरजग्गामा कारोबार नै भएन भने निर्माण सामग्रीको माग हुँदैन । माग घटेरै आएपछि मूल्य उकालो लागेको हो । यो कुनै अन्तर्राष्ट्रिय बजारमा बढेर होइन ।’
उनले हाल बजार नै नभएको बताउँदै व्यापारीहरूले नाफा नभएपनि घाटा गरेरै बेचिरहेको दाबी गरे ।
अध्यक्ष कटवालले भने, ‘व्यापारीहरुले १५ प्रतिशत खाने ठाउँमा ५ प्रतिशत गरेर भएपनि बेचिरहेको अवस्था छ । व्यवसायीहरूले हाल घाटा खाएर बेचे पनि पछि त्यो एकमुष्ट रूपमा असुल गरिहाल्छन् ।’
उनले अब बजारमा निर्माण सामग्रीको मूल्य बढ्न सक्ने चेतावनी दिए ।
सरकारले आर्थिक वर्ष सकिनै लाग्दा बजेट खर्च बढी हुने र फलाम लगायत सबै निर्माण सामग्रीको मूल्य बढ्ने उनी जिकिर गर्छन् ।
केही समय माग बढ्ने र त्यहीअनुसार मूल्यसमेत बढ्ने गरेको उनले बताए ।
पछिल्लो समय एनजीओ आईएनजीओहरूले विभिन्न क्षेत्रमा लगानी गरेको र त्यो रोकिँदा पनि यस्तो अवस्था सिर्जना भएको हुन सक्ने पनि उनको भनाइ छ ।
यस्तै, नेपाल निर्माण व्यवसायी महासंघले हाल देशभर निर्माण काम न्यून गतिमा रहेको बताएको छ । महासंघका अध्यक्ष रवि सिंहका अनुसार हाल भुक्तानीमार्फत गरिने सबै काम सुस्त अवस्थामा छन् । सिण्डिकेट नगरी नहुने काम भइरहेको उनको भनाइ छ ।
उनले भने, ‘बजारमा बढेको निर्माण सामग्रीको मूल्य अनावश्यक रूपमा बढेको छ । सरकारले यसलाई नियमन गर्नुपर्ने हो, तर सरकार कानमा तेल हालेर बसेको छ ।’
उनले हाल सिमेन्ट, डण्डी, फलाम, जाली बुन्ने तारलगायतको निर्माण सामग्रीको मूल्य बढेको उनी बताउँछन् । यस्तै, अध्यक्ष सिंहले आफूहरू हाल पनि सरकारसँग वार्तामै रहेको ठोस निर्णय भइनसकेको समेत उनले जानकारी दिए ।