
पोखरा । गण्डकी प्रदेशको राजधानी अर्थात् ‘नेपाली पर्यटनको राजधानी’ पोखरामा ३३ औं औद्योगिक व्यापार मेला जारी छ ।
‘घुमौं मधेश, बुझौं मधेश’ को स्टलले मधेश चिनाउने काम गरिरहेको ‘घुमौं मधेश, बुझौं मधेश’ का कार्यक्रम संयोजक विकास ठाकुरले जानकारी दिए ।
‘घुमौं मधेश, बुझौं मधेश’ को स्टल नम्बर १ मा ब्यानर, फ्लेक्स र अङ्ग्रेजी नेपाली दुवै भाषामा प्रकाशित बुकलेटका माध्यमबाट मधेशमा रहेका धार्मिक, सांस्कृतिक, पर्यटकीय क्षेत्रबाट जानकारी दिइएको छ ।
‘यो महोत्सवमा स्टल राखेपछि पोखरावासीहरूले मधेश घुम्ने इच्छा व्यक्त गर्नुभएको छ,’ उनले भने, ‘मधेशका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाका बारेमा बुझाउने काम भइरहेको छ, धेरैजना उत्साहित हुनुभएको छ ।’
मधेश प्रदेश सरकार, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको कार्यक्रम ‘घुमौं मधेश बुझौं मधेश’ को स्टलमा हालसम्म हजारौं मानिसले अवलोकन गरेका छन् भने आगुन्तकहरूलाई नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रकाशित बुकलेट पनि वितरण गरिएको छ ।
माघ १० गतेको उद्घाटन सत्रमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मधेश प्रदेशले प्रस्तुत गरेका दुई स्वागत नृत्य (मिथिलाको झिँझिया र थारू नृत्य) र वितरण गरेको मधेश चिनाउने ४० गन्तव्य भएको बुकलेट सबै उपस्थित अतिथि र दर्शकदीर्घाको हात–हातमा देखेपछि आयोजक संस्थालाई ‘मधेशसँग सिक्नुस्- मेलामा केके राख्नुपर्छ र कसरी आयोजना गर्नुपर्छ’ भनेर मधेश प्रदेश सरकारको स्टल र ‘घुमौं मधेश, बुझौं मधेश’ को सिर्जनात्मक क्षमताको खुलेर प्रशंसा गरेका थिए ।
आयोजक मधेश प्रदेश सरकारका तर्फबाट पोखरामा आयोजित महोत्सवमा मधेश प्रदेशका पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा खानपिन संस्कृतिको व्यापक प्रचार गरिएको हो ।
उद्घाटन सत्रमा नाट्टा मधेश प्रदेशका अध्यक्ष तथा पर्यटन तथा हवाई यातायात समिति मधेश प्रदेशका संयोजक मोहन शर्माले हिमाल, पहाड र मधेश जोड्नका लागि यस्ता कार्यक्रमको विशेष भूमिका रहने बताएका थिए ।
दर्शकको चाप बढेपछि माघ १७ गतेसम्मका लागि भनिएको महोत्सव अब माघ १९ सम्म जारी रहने छ ।