काठमाडौं । मधेस प्रदेशमा चालू आर्थिक वर्षमा १५ लाख २ हजार ४५८ मेट्रिक टन धान उत्पादन भएको छ । गत आर्थिक वर्षमा १२ लाख ९६ हजार ६०७ मेट्रिक टन धान उत्पादन भएको थियो ।
गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा २ लाख ५ हजार २५१ मेट्रिक टन बढी धान उत्पादन भएको कृषि प्रसार अधिकृत रोशनकुमार मेहताले बताए । रोपाइँ र त्यसपछिको समयमा पानी परेको थियो भने मल र बीउ समयमा नै उपलब्ध भएकाले उत्पादन बढेको उनको तर्क छ ।
गत वर्षको तुलनामा यस वर्षमा ५ हजार २ सय हेक्टर बढी जमिनमा धानखेती गरिएको थियो । गत वर्ष प्रतिहेक्टर ३ दशमलव ५० मेट्रिक टन धान उत्पादन भएको थियो भने चालू आवमा प्रतिहेक्टर ४ मेट्रिक टन उत्पादन भएको छ ।
सबैभन्दा बढी सप्तरीमा र सबैभन्दा कम रौतहटमा भएको छ । सप्तरीमा २ लाख ६१ हजार १२० मेट्रिक टन, रौतहटमा १ लाख ५० हजार ४८० मेट्रिक टन, पर्सामा एक लाख ८४ हजार ७४९ मेट्रिक टन, सर्लाहीमा १ लाख ८२ हजार १६० मेट्रिक टन र धनुषामा १ लाख ६६ हजार २६० मेट्रिक टन धान उत्पादन भएको छ ।
यसैगरी, महोत्तरीमा १ लाख ६७ हजार ७७० मेट्रिक टन, सिरहामा २ लाख ९ हजार ५२० मेट्रिक टन र बारामा १ लाख ८० हजार ३ सय मेट्रिकटन धान उत्पादन भएको अधिकृत मेहताले जानकारी दिए ।
यसैबीच, यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गरेको जनाएको छ ।