काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत सहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
आयोगले सिरहा जिल्लाको धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगाले, लेखा अधिकृत पुरुषोत्तम कुमार प्रसाद, स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी, जिन्सी शाखा प्रमुख सम्पैत यादव र आयातकर्ता कम्पनी हेल्पिङ मल्टिपर्पाेज प्रालि मैतिदेवी काठमाडौंका सञ्चालक माधव प्रसाद गौतम विरुद्द आयोगले मुद्दा दायर गरेको हो ।
उनीहरु विरुद्ध आयोगले नेपाल सरकार/सार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्याउने कार्य गरेको भन्दै शुक्रबार आरोपपत्र दायर गरेको हो ।
उनीहरुमाथि मिलेमतोमा बिक्रेतासँग औषधि खरिद नगरी बिल बनाएर दाखिला नगरी रकम निकासा गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गर्दा प्रमाणित भएपछि आरोपपत्र दायर गरिएको आयोगले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
उनीहरुमाथि नेपाल सरकारको सःशर्त अनुदान शीर्षकबाट विनियोजित रकममध्ये १७ प्रकारका औषधिको खरिदमूल्य भन्दा बाहिर गएको र आ.व. २०७८/०७९ मा ३२ प्रकारका औषधिहरुमध्ये १७ प्रकारका औषधिहरु उल्लिखित दररेटभन्दा बढी मूल्यमा खरिद गरेको आरोप लगाईएको छ ।
आयोगले ५ जना विरुद्ध ४ लाख ६० हजार रुपैयाँ मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।