काठमाडौं । समाजसेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) नेपालले ३० यौन दुर्व्यवहारमा परेका २ हजारभन्दा बढीको उद्धार गरेको छ ।
सोमबार ३० औं वार्षिकोत्सव मनाउँदै सिविसले ३ सयभन्दा बढीको अदालतमा मुद्दा दायर गर्नुको साथै क्षतिपूर्तिसहित पीडकलाई सजाय दिलाएको जनाएको छ ।
सिविस नेपालले बालअधिकार, महिलाअधिकार, मानवअधिकार क्षेत्रमा रूपमा काम गर्दै आइरहेको छ । यस ३० वर्षको लामो अवधिमा संस्थाले थुप्रै चुनौतीहरूको सामना गरी धेरै लक्ष्यहरू प्राप्ति गरेको जनाएको छ ।
निकृष्ट बालश्रमको अन्त्य, शैक्षिक सुधार, आर्थिक सशक्तिकरण, सामाजिक समावेशीकरण, वातावरणीय न्यायको क्षेत्रमा अग्रपङ्तिमा रहेर काम गर्दै आएपनि आधुनिक दासताको रूपमा रहेको यातनापूर्वक जीवन बिताइरहेका घरेलु श्रमिक अझै रहेको निष्कर्ष सिविसको छ ।
सोमबार ‘अन्तर्राष्ट्रिय दासता उन्मूलन’ दिवसको सन्दर्भमा आफ्नो ३० औं वार्षिक उत्सवमा बोल्ने सरोकारवालाहरूले अझै पनि बालबालिका घरेलु र कृषि श्रममा रहनुपरेको बताएका छन् ।
सन् १९९३ साल अर्थात् नेपालमा प्रजातन्त्रको स्थापनालगत्तै पछि स्थापना भएको सिविसले आफन्त, घरमालिक, छिमेकी, शिक्षक आदिबाट हिंसामा परेका बालबालिकाको क्षत्रमा काम गर्दै आइरहेको छ । बालश्रम निषेध तथा नियमित गर्ने ऐन, २०५६ कार्यान्वयन गर्नको लागि पहिलो पटक श्रम कार्यालय बागमतीमा फिरादपत्र दर्ता गराउनुको साथै घरेलु बालश्रम मेरो घरमा छैन भन्ने सबैलाई जानकारी गराउन घरमा हरियो झण्डा राख्ने अभियान सिविसले नै सुरु गरेको थियो ।
उक्त कार्यको अनुसरण ललितपुर महानगरपालिका, हेटौंडा उप-महानगरपालिकालगायत अन्य पालिकाहरूले समेत सुरु गरेको थियो । आफ्नो बाल्यकालमा घरेलु श्रमिक भएका बालबालिका १८ वर्ष पूरा भएपछि सङ्गठित भएर श्रमिक ट्रेड युनियन गठन गर्न सिविसको महत्त्वपूर्ण भूमिका खेलेको थियो ।