
काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/०८२ को ३ महिनामा नेपालमा ११ करोड बढीको तास आयात भएको छ । साउन, भदौ र असोज महिनामा ११ करोड ७७ लाख रुपैयाँ बढीको तास आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार ३७ लाख ८५ हजार ६०३ प्याकेट तास आयात भएको हो ।
जसमध्ये असोज महिनामा मात्रै ५ करोड ६५ लाख रुपैयाँको तास आयात भएको छ । साउन र भदौ गरी २ महिनामा ६ करोड ११ लाख रुपैयाँको तास आयात भएको हो ।
नेपालमा दशैं र तिहारमा तास खेल्ने चलन रहेको छ । यस वर्ष असोजको अन्त्यतिर दशैं परेको थियो । दशैंका लागि पनि तासको माग बढेकाले असोजमा आयात धेरै भएको हो ।
केही व्यवसायीले तिहार र दशैंलाई लक्षित गरेर तास ल्याए भने केहीले दशैंपछि फेरि आयात गर्ने उद्देश्य राखेर तास आयात गरेका छन् ।
सबैभन्दा धेरै चीनबाट तास आयात भएको छ । चीनबाट १० करोड ६ लाख रुपैयाँको ३७ लाख ६८ हजार ३७९ प्याकेट तास आयात भएको हो । यसैगरी, भारतबाट १ करोड १३ लाख रुपैयाँको २ लाख १६ हजार ४९६ प्याकेट र बाँकी तास अमेरीका, बेलायत लगायत देशबाट आयात भएको हो ।
उक्त तास आयातबाट ६ कराेड ९५ लाख रुपैयाँ राजस्व उठेकाे छ ।