लघुवित्तमा लुटपाटसहित ल्यापटप र महत्वपूर्ण कागजात गायब, ‘वित्तीय क्षेत्रमा मौलायो अराजकता’

<p>काठमाडौं । लघुवित्त विरुद्धको संघर्ष समितिको नाममा अहिले देशका वित्तीय संस्थाहरूमाथि ज्यादती फैलिएको छ । विभिन्न व्यक्ति तथा समुहहरूले लघुवित्त विरुद्धको संघर्ष समिति नाम दिँदै देशका विभिन्न लघुवित्तका शाखाहरूमा पुगेर तोडफोड तथा विभिन्न वस्तुहरू गायब गर्ने अराजकता बढेको हो । यस्तो गलत प्रवृतिको कारण बैंक तथा वित्तीय क्षेत्र तंरङ्गित र त्रसित बनेको छ । देशका [&hellip;]</p>

काठमाडौं । लघुवित्त विरुद्धको संघर्ष समितिको नाममा अहिले देशका वित्तीय संस्थाहरूमाथि ज्यादती फैलिएको छ । विभिन्न व्यक्ति तथा समुहहरूले लघुवित्त विरुद्धको संघर्ष समिति नाम दिँदै देशका विभिन्न लघुवित्तका शाखाहरूमा पुगेर तोडफोड तथा विभिन्न वस्तुहरू गायब गर्ने अराजकता बढेको हो । यस्तो गलत प्रवृतिको कारण बैंक तथा वित्तीय क्षेत्र तंरङ्गित र त्रसित बनेको छ ।

देशका विभिन्न लघुवित्तको शाखाहरूमा गएर तोडफोड, लुटपाट, आगजनी लगायतका गतिविधिहरू बढेपछि बैंकरहरूले दुःख व्यक्त गरेका छन् । सोमबार नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रूपमा विज्ञप्ति जारी गरेर सरकारको ध्यानआकर्षण गरेका हुन् ।

‘विगत केही समयदेखि केही व्यक्ति तथा समूहले आफ्नो निशित स्वार्थ पूर्ति गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाहरु विरुद्ध अर्नगल प्रचार गर्ने, विभिन्न वित्तीय संस्थाका शाखा कार्यालय तोडफोड गर्ने तथा अवरोध पु¥याउने, कर्मचारीलाई तर्साउने जस्ता अराजक क्रियाकलाप भइरहेका छन्, विभिन्न शाखाहरुमा तोडफोड गर्ने, लुटमाट गर्ने र आगजनी समेत गर्ने कार्यहरु भइरहेका छन्, यतर्फ सरकारको ध्यान जान आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्ता गतिविधिले बैंकिङ क्षेत्रलाई जोखिम उत्पन्न गरी ग्रामिण अर्थतन्त्र धराशायी हुने र समग्र बैंकिङ क्षेत्र तथा वित्तीय प्रणालीमा नै असर पुग्ने विज्ञप्तिमा उल्लेख छ । बैंकरहरुले प्रचिलित ऐन, नियम तथा कानुन बमोजिम स्थापित संस्थाहरुले सहज रुपमा कारोबार गर्न सक्ने अधिकारबाट बञ्चित पुगेको उल्लेख गरेका छन् ।

यस्ता गतिविधिलाई नियन्त्रण गर्न बैंकरले नेपाल राष्ट्र बैंक, अर्थमन्त्रालय र गृहमन्त्रालयको सहयोग माग गरेका छन् ।

संयुक्त विज्ञप्तिमा अहिले देशका ९ वटा लघुवित्तको १७ वटा शाखामा तोडफोड गरेर महत्वपूर्ण कागजात, ल्यापटप, साइनबोर्ड तथा अन्य सामानहरु लुटपाट गरेको उल्लेख छ ।

यस्तो संयुक्त विज्ञप्ति

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र लिइ ऐन, नियम, कानून र नेपाल राष्ट्र बैंकको निर्देशनको परिधि भित्र रही पब्लिक लिमिटेड कम्पनीको रुपमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरुले छरिएर रहेको रकमलाई संकलन गरी देशको विभिन्न ठाउँमा रहेका व्यवसायी, उद्योगी र दुर्गम क्षेत्रमा समेत सरल र सहज तरिकाले वित्तीय सेवा प्रदान गर्दै देशको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुरÞ्याउदै आइरहेका छन् ।

विगत केही समयदेखी केही व्यक्ति तथा समूहले आफ्नो निहित स्वार्थ पूर्ति गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाहरु विरुद्ध अनर्गल प्रचार गर्ने, ती संस्थाहरुका कार्यालय तोडफोड गर्ने, कर्मचारीहरुलाई तर्साउने तथा धम्क्याउने काममा अवरोध पुरÞ्याउने जस्ता अराजक क्रियाकलाप गर्दै आएको हामीले पाएका छौं । विशेष गरी लघुवित्त वित्तीय संस्थाहरुलाई त्यस्ता अराजक व्यक्ति तथा समूहहरुले थप लक्षित गरेको देखिएको छ । पछिल्लो समय यता विभिन्न लघुवित्त संस्थाहरुका केही शाखाहरुमा तोडफोड, लुटपाट, आगजनी लगायतका निन्दनीय कार्यहरु भएको छ ।

लघुवित्त क्षेत्रलाई अझ व्यवस्थित गर्नका लागि नेपाल सरकारबाट गठित कार्यदलमा लघुवित्त विरुद्धको संघर्ष समितिको तर्फबाट समेत प्राप्त सुझाव अनुसार नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकबाट आवश्यक कदमहरु चालिरहेको वर्तमान स्थितिमा पनि कथित लघुवित्त विरुद्ध संघर्ष समितिको नामबाट पुनः मिति २०८१/०५/११ का दिन तथा त्यस पछिका दिनहरुमा विभिन्न जिल्लामा सेवा प्रदान गरिरहेका ९ वटा लघुवित्त वित्तीय संस्थाका १७ वटा शाखा कार्यालयका साइनबोर्ड, ल्यापटप, कागजपत्र जफत गरी तोडफोड गर्ने, आगजनी गर्ने, नहरमा लगेर नष्ट गर्ने जस्ता अराजक गतिबिधिहरु अघि बढाएर लघुवित्त क्षेत्रलाई अझ अन्यौलता तर्फ धकेल्ने र कार्यक्रम सञ्चालनमा अवरोध पुयाउने जस्ता कृयाकलापबाट लघुवित्त क्षेत्रमा पुनः ठूलो जोखिम उत्पन्न भई ग्रामीण अर्थतन्त्र धराशायी हुने र समग्र बैंकिङ्ग क्षेत्र तथा वित्तीय प्रणालीमा नै असर पुग्ने देखिएको छ ।

प्रचलित ऐन, नियम, कानून बमोजिम स्थापित संस्थाहरुले कानून बमोजिम सहज रुपमा कारोबार गर्ने अधिकारबाट वञ्चित हुन पुगेकोमा हामी खेद प्रकट गर्दछौं । नेपाल सरकारका सम्बन्धित निकायहरु, खास गरी नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा गृह मन्त्रालयसंग नेपाल लघुवित्त बैंकर्स संघको प्रतिनिधि मण्डलको भेटघाट पश्चात प्राप्त सकारात्मक आश्वासन प्रति विश्वस्त रहि यस्ता अराजक गतिविधिहरुमा संलग्न व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याई कानून बमोजिम कारवाही गर्न तथा अत्यावश्यक सेवा अन्तर्गत रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने वातावरण बनाइदिन स्थानीय प्रशासन लगायत सम्बन्धित सबै निकायहरुबाट आवश्यक सहयोग र सुरक्षाको प्रत्याभूतिको लागि हार्दिक अनुरोध गर्दछौं । साथै, बैंक तथा वित्तीय संस्थामा आवद्ध कर्मचारीहरु बिचलित नभई निरन्तर आफ्नो कर्तव्यमा उच्च मनोबलका साथ आ-आफ्नो कार्यमा लागि पर्न हार्दिक अनुरोध गर्दछौं ।

ग्राहक र बैंक तथा वित्तीय संस्था विचमा सुमधुर सम्बन्ध कायम गर्न दृढ रही, ग्राहकको हित संरक्षणलाई सदैव मुख्य प्राथमिकतामा राखी यस्ता किसिमका घटनाहरुबाट कत्ति पनि विचलित नभई आगामी दिनमा निरन्तर रुपमा ग्राहकलाई उत्कृष्ट वित्तीय सेवा प्रदान गर्न हामी पूर्णरुपमा प्रतिवद्ध रहेको समेत सम्बन्धित सबैमा जानकारी गर्दछौं ।

Share News