काठमाडौं । आज कुशे औंसी अर्थात् ‘बुवाको मुख हेर्ने दिन’ । छोराछोरीहरू आ-आफ्ना बुवालाई मनपर्ने मिठाइ तथा भोजन गराएर यो दिवस मनाउँछन् । विभिन्न उपहारहरू प्रदान गरेर सम्मान प्रकट गर्छन् । साथै, आजको दिनलाई पितृ दिवससमेत भनिन्छ । बुवाको स्वर्गवास भएका छोराछोरीहरूले तिर्थ गई बुवाका नाममा तर्पण, श्राद्ध र सिदा दान गरेर यो दिवस मनाउने अभ्यास छ ।
बुवालाई खुसी राखे सुख मिल्छ भन्ने विश्वास पनि छ । पितृदेवो भवः भन्ने शास्त्रीय वचनअनुसार आजको दिन छोराछोरीहरूले बुवासँगै बिताउँछन्, सँगै खाना खान्छन् । एकआपसमा माया तथा सम्मान प्रकट गर्छन् । अधिकांशले यो दिवसलाई विशेष रूपमा मनाउँछन् ।
आज हामीले नेपालमा ठूला व्यवसायीहरू, जसले आफूलाई मात्रै चिनाएनन्, आफूसँगै आफ्नो छोरालाई पनि सँगै उद्योग व्यवसायमा संलग्न गराए, जसले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरे । जसले देशमा रोजगारी सिर्जना र राजस्व वृद्धिमा अतुलनीय योगदान दिए । तिनै उद्योगी व्यवसायीहरूका छोराहरूलाई कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिनमा आफ्नो बुवाको लागि सन्देश के छ भनेर सोधेका छौं ।
मेरो बुवा धैर्यता र संघर्षको प्रतिक हुनुहुन्छ- प्रवलजंग पाण्डे
नेपालको एक अग्रज उद्योगी प्रदिपजंग पाण्डेका छोरा हुन् प्रवलजंग पाण्डे । उद्योगी प्रदीपजंग पाण्डेका तीन छोरा छन् । छोराहरूलाई पनि उनले व्यवसायमा अभ्यस्त बनाइसकेका छन् । छोराहरूसँगै नातिलाई पनि उनले व्यवसायमा नै सक्रिय बनाएका छन् ।
जीवनको उत्तरार्धमा रहेका पाण्डेका तीन छोरा प्रवल, प्रताप र प्रज्वल विभिन्न उद्योग व्यवसाय सम्हालिरहेका छन् । तीन जना छोराहरू नै उनको व्यवसायका सारथी हुन् । प्रवलले भारतको बैंगलोरबाट इन्जिनियरिङ, प्रतापले फिलिपिन्सबाट एमिबए र प्रज्वलले ढाकाबाट एमफर्मा पास गरेका छन् । तीनै छोराले हासिल गरेको शिक्षाअनुसार व्यवसाय पनि बाँडफाँट गरिएको छ । नेपाली औषधी उद्योगममा पृथक किसिमको छवि बनाएका प्रदिपजंग पाण्डे जीवनको उत्तरार्धमा पनि व्यवसायमा सक्रिय छन् । प्रदिपजंगका छोरा प्रवलजंग सिटिजन्स बैंकको सञ्चालक समितिको अध्यक्षसमेत छन् । उनी भन्छन्ः
मेरो बुवा (प्रदीपजंग पाण्डे) संघर्ष र मिहिनेतको प्रतिक हुनुहुन्छ । उहाँको उमेर जति बढ्दै गएको, उहाँले गरेको मिहिनेत र संघर्षलाई हामीले थप गहिराइका रूपमा बुझिरहेका छौं । बुबा सबैभन्दा ठूलो गुरु । उहाँले सिकाउनु भएको हरेक कुरा अक्षरस पालना गर्दा जीवन सहज र सफल हुन्छ, त्यो अनुभव हामीले गरेका छौं ।
उहाँले दिनुभएको शिक्षा वास्तविक जीवनको भोगाइबाट प्रेरित छ । उहाँको दूरदर्शितालाई बुझ्न सके व्यावसायिक जीवन सफल हुन्छ भन्ने अनुभव हामीले गरेका छौं । मेरो बुवा धैर्यता र निरन्तरताको प्रतिक हुनुहुन्छ । उहाँले जीवनमा जस्तोसुकै कठिन अवस्थामा पनि देखाएको धैर्यता र निरन्तरतालाई मनन् मात्र गरे जीवन सफल र सार्थक बन्छ । मेरो बुवा जन्मदाता मात्र होइन मेरो ‘रोल मोडल’ र मेरो गुरु हो ।
मेरो मात्रै होइन, व्यावसायिक सर्कलकै आइडल हो मेरो बुवा- सूर्यांश वैद्य
सूर्यांश वैद्य नेपालको प्रतिष्ठित व्यावसायिक घराना वैद्यज् अर्गनाइजेशनका सदस्य हुन् । सुरज वैद्यका छोरा सूर्यांशले अहिले वैद्यज् अर्गनाइजेशन अन्तर्गतका व्यवसाय हेर्छन् । उनी सो ग्रुपका निर्देशक हुन् । उनले टोयटा गाडीको बजार हेरिरहेका छन् । दर्जनौं व्यवसायमा संलग्न वैद्यज् अर्गनाइजेशनका तेस्रो पुस्ताका लिडर सूर्यांशले आफ्नो बुवा सुरज वैद्यलाई यसरी सम्झिए ।
म अत्यन्तै भाग्यशाली छु कि मैले एउटा यस्तो परिवारमा जन्म लिएँ, जुन मेरो व्यक्तिगत र व्यावसायिक जीवन विकासको आधारशिला बन्यो । आज कुशे औंशी, विशेष गरी मेरा बुवा (सुरज वैद्य) जसले मेरो जीवनमा गहिरो र सकारात्मक प्रभाव पार्नु भएको छ । म को हुँ भन्ने आत्मबोध गराइदिनु भएको छ । म जुन बाटोमा हिँडिरहेको छु, त्यसको मार्गदर्शक नै मेरो बुवा हुनुहुन्छ । बुवासँगै मेरो आमा र दुई बहिनीहरूको निरन्तरको साथ सहयोगले मेरो जीवनमा थप सकारात्मक प्रभाव परेको छ । मेरो बुवा मेरो लागि एक महान व्यक्तित्वको रूपमा मेरोसामु उभिनुभएको छ । जसको गहिरो ज्ञान, सिर्जनशीलतता, रचनात्कता र उत्प्रेरणाले मलाई अगाडि बढ्न हौसला मिलिरहेको छ ।
उहाँ एउटा महान विचार र भिजनहरूको खानी हुनुहुन्छ । अरुले चनौती देखेको ठाउँमा उहाँ अवसर देख्नुहुन्छ । विभिन्न चुनौती र समस्या परेको बेला सही सल्लाह र मार्गदर्शन गरेर एउटा असाधारण ‘गाइडिङ स्टार’ का रूपमा उहाँ उभिदिनुहुन्छ । मेरो बुवा केवल एक गुरु मात्र होइन, उहाँ मेरो संरक्षक, मार्गदर्शक र उत्प्रेरक पनि हो ।
मेरो व्यावसायिक जीवनमा मात्रै होइन उहाँको प्रभाव मेरो जीवनको हरेक पाटोमा फैलिएको छ । उहाँले मलाई हरेक दिन असल मान्छे बन्न, गहिरो अध्ययन गर्न र इमानदारिताका साथ काम गर्न उत्प्रेरित गर्नुहुन्छ । उहाँको मार्गदर्शनबिना जीवनमा आइपर्ने विभिन्न चुनौतीहरू सामना गर्न असम्भव हुन्थ्यो होला । तर, मेरो बुवाकै कारण म आज ती समस्यालाई सामना गर्न सक्षम भएको महसुस हुन्छ ।
मेरो बुवा म र मेरो परिवारका लागि मात्रै होइन धेरैका लागि प्रेरणाको स्रोत हुनुहुन्छ । इमानदारिताका साथ नेतृत्व गर्ने, आफ्ना विचार र दृष्ट्रिकोणरू सहज र सरल रूपमा प्रस्तुत गर्ने र धैर्यताका साथ सल्लाह दिन सक्ने उहाँको खुबी र क्षमताको जोकोहीले पनि प्रशंसा गर्नुहुन्छ । व्यावसायिक सर्कलमा पनि एउटा सम्मानित व्यक्तिको रूपमा उहाँ परिचित हुनुहुन्छ । म मेरो बुवाको छोरा बन्न पाएकोमा धन्य छु । मेरो जीवनमा उहाँको उपस्थितिले मलाई ताकत र बल मिलिरहेको छ । उहाँले मलाई दिनु भएको माया, ज्ञान र हौसलाप्रति कृतज्ञ छु । मैले मेरोमा जीवन प्राप्त गर्ने सम्पूर्ण सफलताको श्रेय मेरो बुबालाई नै जानेछ ।
बुवा मेरो प्रेरणा र पथप्रदर्शक हुनुहुन्छ- सुगम घिमिरे
नेपाली व्यावसायिक घराना एसजी ग्रुपको नेतृत्व शिवप्रसाद घिमिरेले गरिरहेका छन् । ग्याँस, ट्रेडिङ, शिक्षा, कृषि, उर्जा, निर्माण, ग्यास र हस्पिटालिटी क्षेत्रमा लगानी रहेको यस व्यावसायिक घरानाले पनि व्यावसायिक क्षेत्रमा पृथक किसिमको छवि बनाएको छ । अध्यक्ष घिमिरेका छोरा सुगम घिमिरे पनि अहिले एसजी ग्रुपको डाइरेक्टरका रूपमा काम गरिरहेका छन् । सन् २०१७ मा बोर्डमा प्रवेश गरेका उनी नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका सदस्य र स्टार्टअप संयोजकका रुपमा पनि काम गरिरहेका छन् । उनै सुगम घिमिरेसँग पनि हामीले कुशे औंसी कसरी मनाउँदै हुनुहुन्छ भनेर जिज्ञासा राख्यौं ।
उहाँ (शिवप्रसाद घिमिरे) मेरो बुवा मात्रै होइन, उहाँ मेरो निर्देशक, पथप्रदर्शक र प्रेरणा पनि हो । उहाँ एसजी ग्रुपको व्यवसायको सृष्टिकर्ता पनि हो । एउटा सामान्य किराना पसलबाट सुरु भएको व्यवसाय आज विभिन्न क्षेत्रमा फैलिएको छ । देशमा एउटा परिचित व्यावसायिक समूहका रुपमा एसजी ग्रुप चिनिएको छ । बुबाकै योगदानको कारण आज एसजी ग्रुप, ग्यास, पेट्रोल तथा हाइड्रो लगायत क्षेत्रमा फैलिएको छ । यो सबै श्रेय मेरो बुबालाई नै जान्छ । उहाँकै मिहिनेतले आज देशको अर्थतन्त्रमा थोरै भएपनि योगदान मिलेको छ ।
मेरो लागि सधैं कुशे औंसी- सचिन ढकाल
नेपाली व्यावसायिक घरानामा अग्रणी व्यावसायिक ग्रुपमध्येमा पर्छ आईएमई ग्रुप । जसको नेतृत्व चन्द्रप्रसाद ढकालले गरिरहेका छन् । बैंक तथा वित्तीय क्षेत्र, हाइड्रोपावर, रेमिट्यान्स, पर्यटन लगायत दर्जनौं क्षेत्रमा उनको लगानी छ । उनले आफूसँगै आफ्नो छोरा सचिन ढकाललाई पनि व्यवसायमा अग्रसर गराइरहेका छन् । सचिनले बुवालाई सम्झदै भनेः
मेरो लागि सधैं कुशे औंशी तथा बुवाको मुख हेर्ने दिन हो । हामी बाबुछोरा सधैं काममा जानुअघि भेटेर अंकमाल गर्छौं र छुटिन्छौं । बाबुछोराको सधैं मिटिङ हुन्छ । मेरो लागि मात्रै होइन, आफ्नो समाज र सिंगो देशको लागि उहाँले धेरै कुरा दिनुभएको छ । बुवाले थालेको पाइला पछ्याएर म अगाडि बढिरहेको छु ।
कुशे औंसी मनाउन नपाइए पनि विशेष शुभकामना- उज्वलकुमार श्रेष्ठ
पञ्चकन्या ग्रुप नेपाली व्यावसायिक घरानामा परिचित नाम हो । यस समूहको कार्यकारी नेतृत्व अहिले तेस्रो पुस्ताले सम्हालिरहेको छ । अहिले तेस्रो पुस्ताको नेतृत्व उज्ज्वलकुमार श्रेष्ठले गरिरहेका छन् । उनी पञ्चकन्या समूहका कार्यकारी निर्देशक हुन् । यो ग्रुपको सुरुवात उज्वलका हजुरबुवा प्रेमबहादुर श्रेष्ठले गरेका हुन् । उनका बुवा ध्रुवकुमार श्रेष्ठ र काका प्रदीपकुमार श्रेष्ठकै पथमा उनी अगाडि बढिरहेका छन् । हामीले तेस्रो पुस्ताका नेतृत्वकर्ता उज्वलकुमार श्रेष्ठसँग पनि कुशे औंसीको विषयमा जिज्ञासा राख्यौं ।
हामीले प्रत्येक वर्ष कुसेँ औंशी विशेष तरिकाले मनाउँथ्यौं । तर, यस पटक मेरो हजुरबुवाको भाइ (कान्छो हजुरबुबा) को मृत्यु भएको कारण कुशे औंसी मनाइँदैन होला । हामीले प्रत्येक वर्ष कुशे औंसीमा हजुर बुबा, बुबा र अंकलहरुसँगै बसेर मनाउँछौं । सबै सँगै बेसर लञ्ज/डिनर लिन्छौं । भदौ १५ औं गते पञ्चकन्या ग्रुपको विशेष दिन पनि हो । हामी हजुरबुबाको जन्मदिनको अवसरमा पञ्चकन्या ग्रुपको पनि स्थापना दिवस मनाउँछौं । यस पटक पनि भदौ १५ गते मनायौं । पञ्चकन्या ग्रुपको नेपाली व्यावसायिक क्षेत्रमा पृथक किसिमको पहिचान छ ।
आम उपभोक्ताले पञ्चकन्या ग्रुपप्रति जुन विश्वास र भरोसा राख्नु भएको छ । त्यो हजुरबुवा, बुवा र अंकलकै कारणले हो । हामीले विदेशबाट आयात हुने वस्तु नेपालमै उत्पादन गरिरहेका छौं । गुणस्तरीय र नयाँ वस्तु उत्पादनमा पञ्चकन्याले पृथक छवि निर्माण गरेको छ । पञ्चकन्याले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतसँगै राजस्व र रोजगारी सिर्जनाले पनि देशको अर्थतन्त्रमा विशेष योगदान गरेको छ ।
विशेष कार्यक्रम गरेर मनाउँदैछौं- अशोक राणा
नेपालको वित्तीय क्षेत्रमा कसैले बिर्सिन नसक्ने नाम हो हिमालय शमशेर राणा । राणाको २०७९ माघमा निधन भए पनि उनको कामको धेरैले प्रशंसा गरिरहेका छन् । नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बनेर इतिहास रचेका राणाले नेपाली रुपैयाँ चलनचल्तीमा ल्याएको श्रेय पनि पाइरहेका छन् । उनै राणको छोरा हुुन् अशोक राणा । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरिरहेका अशोकले कुशे औंसीको अवसरमा घरमा विशेष कार्यक्रम राखेका बताए ।

स्व. बुवा हिमालय राणा र छोरा अशोक राणा ।
‘हामीले बुवाको सम्झनामा कुशे औंशीको दिनमा घरमै सानो कार्यक्रम राखेका छौं । सबै परिवार जम्मा भएर बुवाप्रति श्रद्धासुमन प्रकट गर्ने गर्ने कार्यक्रम छ, उहाँले परिवारमा मात्रै होइन देशकै लागि ठूलो योगदान दिनु भएको छ,’ उनले आफ्नो बुवालाई स्मरण गर्दै भने, ‘देशले नै सम्झिने काम उहाँले गर्नु भएको छ ।’