काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थतन्त्र सुधार भएको दाबी गरे । नेकपा एमाले निकट व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको ‘सुदृढ अर्थतन्त्र निर्माणको आधारः सवल निजी क्षेत्र र बलियो पूर्वाधार’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार आएसँगै अर्थतन्त्र पनि सुधारको बाटोमा गएको धारणा राखे ।
उनले कार्यक्रममा यति पनि भन्न भ्याए कि अब उद्योगी व्यवसायीले समस्या भोग्नुपर्दैन, यो सरकार हामीले नै चलाइरहेका छौं ठान्नुहोस् । उनले अहिलेको संसदले सबैभन्दा बलियो सरकार निर्माण गरेको दाबी गर्दै निजी क्षेत्रले विगतको जस्तो समस्याहरू भोग्न नपर्ने धारणा राखे । अर्थतन्त्र थप सुधारका लागि खपत बढाउनुपर्ने उनको भनाइ थियो ।
बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रतिनिधिसभाको बैठकमा अर्थतन्त्र सुधार भएको दाबी गरे । सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले भने, ‘वर्तमान सरकार गठनपश्चात् छोटो अवधिमै अर्थतन्त्रमा सकारात्मक नतिजा देखिन थालेको छ, उद्योगी व्यवसायीमा आशा पलाएको छ ।’
उनले संसदमा गत आवको तुलनामा यस वर्षको साउनमा राजस्व परिचालन र पुँजीगत खर्चमा पनि वृद्धि भएको दाबी गरे ।
उनले संसदमा भने, ‘घरजग्गा कारोबार क्रमशः सुधार हुँदै गएको छ । पुँजी बजारमा उल्लेखनीय सुधार आएको छ । अर्थतन्त्रको बाह्य चक्र सुविधाजनक अवस्थामा छ भने लगानी गर्न निजी क्षेत्रको मनोवल उत्साहित देखिएको मैले पाएको छु, समग्रमा अर्थतन्त्र सुधार भएको छ ।’
ओलीले अर्थतन्त्र सुधार भएको भनेको एकदिन र अर्थमन्त्री पौडेले सुधार भएको भनेकै दिन देशको अर्थतन्त्रको चित्र सार्वजनिक भएको छ । अर्थात् देशको व्यापारको तथ्यांक सार्वजनिक भएको छ । जसले आयात निर्यात मात्रै होइन, देशको समग्र व्यापार व्यवसाय कस्तो छ भन्ने सन्देश प्रवाह गर्छ ।
भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार आयात ०.६७ प्रतिशत र निर्यात ९.६३ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्षको साउन महिनामा कुल १ खर्ब २९ अर्ब २३ करोड ८९ लाख ७१ हजार रुपैयाँबराबरको आयात भएकोमा यस वर्षको साउनमा कुल १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख २१ हजार रुपैयाँको आयात भएको छ ।
यस्तै, गत आवको साउनमा कुल १३ अर्ब ५२ करोड ८६लाख ५६हजार रुपैयाँको निर्यात भएकोमा यो आवको साउनमा १२ अर्ब २२ करोड ६१ लाख ४७ हजार रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । यो अवधिमा १ खर्ब १६ अर्ब १५ करोड ९ लाख ७४ हजार रुपैयाँ व्यापार घाटा देखिएको छ ।
कुल वैदेशिक व्यापार १ खर्ब ४० अर्ब ६० करोड ३२ लाख ६८ हजार रुपैयाँ रहेको छ । वैदेशिक व्यापार पनि १.५२ प्रतिशतले घटेके छ । कुल व्यापारमा निर्यातको हिस्सा ८.७० प्रतिशत र आयातको हिस्सा ९१.३० प्रतिशत छ ।