काठमाडौं । नेपाली बैंकिङ क्षेत्रबाट एउटा अनुभवी र कुशल बैंकर बिदा भएका छन् । बैंकिङ क्षेत्रमा ५२ वर्ष लामो अनुभव हासिल गरेका बैंकर रत्नराज बज्राचार्य ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रुपमा अवकास भएसँगै उनी बैंकिङ क्षेत्रबाट पनि बाहिरिएका हुन् ।
उमेरको उत्तरार्धसम्म पनि बैंकिङमा सक्रिय उनले अब बैंकिङमा पुनः प्रवेश नगर्ने योजना बनाइएका छन् । नेपाल राष्ट्र बैंकमा पनि महत्वपूर्ण २० वर्ष काम गरेका बज्राचार्यको अनुभव, कार्यकुशलता र दक्षता सबै बैंकरका लागि अनुशरणयोग्य छ ।
कृृषि विकास बैंकको लेखापाल पदबाट बैंकिङ करिअर सुरु गरेका उनले केही महिना सो बैंकमा काम गरेर वि.सं २०२९ भदौ १ गतेबाट राष्ट्र बैंकमा सहायक तहको काम सुरु गरे । तलब थियो २४३ रुपैयाँ । उनी विस्तारै बढुवा हुँदै गए ।
उनले कामसँगै एमकमको पढाइ पनि सके । चार्टर्ड एकाउन्टेन्टको पढाइ पनि पास गरे । उनी २० वर्ष राष्ट्र बैंकमा काम गरेर बिदा भए । त्यो बीचमा उनले कन्सल्टेन्सी पनि स्थापना गरेर काम गरे । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको नेतृत्व पनि गरे । त्यहाँ पनि उनले सफल नेतृत्व गर्दै अन्यलाई अवसर दिए ।
२० वर्ष केन्द्रीय बैंकमा काम गरेका रत्नराजले केही समय आफ्नै कन्सल्टेन्सी चलाए । केन्द्रीय बैंकमा रहेर प्रभावकारी भूमिका निर्वाह गरेका उनी त्यसपछि निजी क्षेत्रको बैंकिङमा प्रवेश गरे । राष्ट्र बैंक छोडेको साढे एक दशकपछि उनी निजी क्षेत्रको तत्कालीन एनसीसी बैंकको सीईओ बने ।
‘म एनसीसीमा जानुअघि राष्ट्र बैंकले टेकओभर गर्ने हल्ला थियो, म गएपछि बैंकभित्रको सबै समस्या हल गरें, कसैको दबाब र प्रभावमा नरहेर बैंकलाई एउटा लयमा ल्याएँ, राष्ट्र बैंक पनि कामबाट सन्तुष्ट भयो, लगानीकर्ता र सेवाग्राही पनि खुसी भए,’ उनले विगतको अनुभव सुनाउँदै भने ।
विभिन्न बैंकमा ४ पटक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिए । सबैमा ४ वर्षको कार्यकाल पूरा गर्नु, बैंकलाई थप उचाईमा पुर्याउनु, सञ्चालक समिति, कर्मचारी ग्राहक सबैलाई खुशी बनाउनु तर सोही संस्थामा कार्यकाल थप्न नमान्नु उनले छोडेको ट्रेन सेट हो ।
एनसीसी बैंकको सफल उडानपछि उनी ग्लोबल आइएमई बैंकमा नेतृत्व सम्हाल्न पुगे । त्यतिखेर राष्ट्र बैंकले मर्जरको नीति अघि सारेको थियो । उनै रत्नराजको रणनीति र योजनाले ग्लोबल आइएमई बैंक मर्जर तथा प्राप्तिमा आक्रामक बन्यो ।
ग्लोबलमा चार वर्षका कार्यकाल सकिएपछि उनी तत्कालीन सनराइज बैंकको सीईओ बने । सनराइजलाई पनि उनले एउटा उचाइ दिए । ‘म सनराइज बैंकको सीईओ बनेर जाँदा बैंकले खासै राम्रो बिजनेस गर्न सकेको थिएन, त्यो बेला बैंक हायर पर्चेज, निर्माण क्षेत्रमा केन्द्रित थियो, पछि विस्तारै बिजनेस बैंकिङ सुरु ग¥यौं, भूकम्पको प्रभाव रहेको बेला बैंकमा बिजनेस थिएन, त्यस्तो अवस्थामा पनि मैले सनराइजलाई बजारमा एक महत्वपूर्ण बैंकका रूपमा अगाडि बढाएँ, बजारमा सनराइज बैंकको हिस्सा बढ्दै गयो,’ उनले सनराइज बैंकमा हुँदाको काम स्मरण गरे ।
सनराइज बैंकमा पनि एक किसिमको सफलता हासिल गरेपछि उनी पुनः ग्लोबल आइएमई बैंकको नेतृत्व गरे । उनकै नेतृत्वमा ग्लोबल आइएमई बैंकले तत्कालीन बैंक अफ काठमाण्डूसँग मर्जर गर्न सफल भयो । अहिले ग्लोबल आइएमई बैंक निक्षेप, कर्जा, पुँजी, जगेडा कोष, ग्राहक, शाखा संख्या, सरकारलाई बढी राजस्व दाखिला गर्ने लगायत सूचकमा नम्बर वान बनेको छ ।
ग्लोबल आइएमई बैंकमा पनि कार्यकाल सकाएर उनी शुक्रबारबाट बैंकबाट बाहिरिएका छन् । उनको यो बहिर्गमन ग्लोबल आइएमई बैंकबाट मात्रै होइन बैंकिङ क्षेत्रबाट नै हो । सम्भवतः उनी अब बैंकिङ क्षेत्रमा पुनः फर्किने छैनन् । यसअघि विकासन्युजको बिएन पोडकाष्टमा उनले अब ग्लोबल बैंक नै आफ्नो जीवनको अन्तिम जागिर भएको बताएका थिए ।
बैंकिङ क्षेत्रमा उनले पाँच दशक लामो अनुभव मात्रै हाँसिल गरेका छैनन् । उनले हजारौं शिष्यहरू जन्माएका छन् । आफूमा भएको ज्ञान अनभुव, सिप र कार्यकुशलता सिकाएका छन् । एउटा असल व्यवस्थापकको छवि उनले बैंकिङ क्षेत्रमा छोडेका छन् ।
उनी भन्छन्, ‘व्यक्तिको इमानदारिता नै उसको सम्पत्ति हो, व्यवस्थापकले सही ढंगले कम्युनिकेसन गर्न सक्नुपर्छ, एउटा व्यवस्थापकमा आत्मविश्वास पनि चाहिन्छ ।’
‘बोल्ड डिसिजन’ गर्न रुचाउने बज्राचार्य व्यवस्थापकसँग क्विक डिसिजन पावर हुनु पर्ने धारणा राख्छन् । ‘कुनै विषय डिसिजनका लागि तपाईंको टेबलमा आयो भने त्यसलाई भोलि हेर्छु भनेर पर्खिनु हुँदैन, भोलि नयाँ कुरा आउला, कसैले केही भन्ला भनेर धेरैले कामलाई पेन्डिङ राख्छन् । तर, त्यस्तो गर्नु हुँदैन,’ उनी भन्छन्, ‘आजको काम आजै गर्नुपर्छ ।’
उनले अहिलेसम्म जुन संस्थामा काम गरे, पुरा कार्यकाल गरे । बैंकिङमा एउटा ठाउँमा रहेको सीईओ अर्को बैंकमा राम्रो अवसर पाउने बित्तिकै बिचमै काम छोडेको अभ्यास प्रयाप्त भेटिन्छन् । तर, रत्नराजले त्यस्तो कहिल्यै गरेनन् । जति संस्थामा काम गरे, मिठो छाप छोडे । नेतृत्व गरेको बैंकलाई पनि एउटा उचाइमा पुर्याए । उनले दुई पटक नेतृत्व गरेको ग्लोबल आइएमई बैंकलाई पनि देशकै ठूलो बैंकका रुपमा स्थापित गरेर बाहिरिए ।