काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा लघुवित्त वित्तीय संस्थाहरूले साढे ७ अर्ब रुपैयाँ मात्रै नाफा गरेका छन् । सार्वजनिक तथ्यांक अनुसार गत असारसम्म ५१ वटा लघुवित्त संस्थाहरूले ७ अर्ब ५९ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष ८४.१८ प्रतिशत अर्थात् ३ अर्ब ४७ करोड २४ लाख रुपैयाँ बढी नाफा गरेका हुन् । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्त संस्थाहरूले ४ अर्ब १२ करोड ४७ लाख रुपैयाँ खुद नाफा गरेका थिए ।
गत वर्ष सबैभन्दा धेरै नाफा छिमेक लघुवित्तले गरेको छ । यस लघुवित्तको नाफा अघिल्लो वर्षको तुलनामा घटेको भएपनि गत वर्ष १ अर्ब ९ लाख रुपैयाँ आर्जन गरेको हाे । अघिल्लो वर्ष यस लघुवित्तले १ अर्ब ६ करोड १९ लाख रुपैयाँ नाफा गरेको थियो ।
गत वर्ष केही लघुवित्तको नाफा अस्वभाविक वृद्धि भएको देखिन्छ । गत वर्ष आशा लघुवित्तको नाफा ४० हजार ५ सय प्रतिशत वृद्धि भएर ६ करोड ८९ हजार रुपैयाँ आर्जन गरेको छ । जबकी अघिल्लो वर्ष यस लघुवित्तले १ लाख ४८ हजार रुपैयाँ मात्रै नाफा गरेको तथ्यांक छ ।
लघुवित्त संस्थाको मौज्दात, आम्दानी र तरलतामा परिवर्तनहरू भएको आशा लघुवित्तको व्यवस्थापकीय विश्लेषणमा उल्लेख छ । समिक्षा अवधिमा बाह्य क्षेत्रबाट लघुवित्त संस्थाप्रतिको विरोध जस्ता कारणले असुली प्रक्रियामा समस्या उत्पन्न भई कर्जा नोक्सानी व्यवस्थामा वृद्धि भएको जनाएको छ । अन्य बैंक वित्तीय संस्थाबाट लिइने बाह्य कर्जाको ब्याजदर घट्ने क्रम जारी भएकोले खर्च कटौती, तरलतामा टेवा पुगेको लघुवित्तको भनाइ छ ।
गुराँस लघुवित्तको १ हजार ७५५.७२ प्रतिशत बढेर २ करोड ५९ लाख रुपैयाँ, सम्पदा लघुवित्तको १ हजार ४४९.११ प्रतिशत बढेर ८ करोड ६० लाख रुपैयाँ, नेरुडे मिर्मिरे लघुवित्तको ६७२ प्रतिशत बढेर ४४ करोड ७० लाख रुपैयाँ, इन्फिनीटी लघुवित्तको ६०१.९३ प्रतिशत बढेर ६ करोड ५२ लाख रुपैयाँ, मातृभूमि लघुवित्तको ५८७.६२ प्रतिशत बढेर ७ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
महिला लघुवित्तको ५३१ प्रतिशत बढेर ९ करोड ४ लाख रुपैयाँ, मेरो माइक्रोफाइनान्स लघुवित्तको ३६२.५९ प्रतिशत बढेर २१ करोड ९५ लाख रुपैयाँ, डिप्रोक्स लघुवित्तको ३३१.९० प्रतिशत बढेर ५८ करोड १६ लाख रुपैयाँ, फरवार्ड लघुवित्तको ३०८.७२ प्रतिशत बढेर ३२ करोड १३ लाख रुपैयाँ, निर्धन उत्थान लघुवित्तको १९७.९९ प्रतिशत ५० करोड ६४ लाख रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको १७०.६६ प्रतिशत बढेर ९ करोड ८६ लाख रुपैयाँ नाफा गरेका हुन् ।
स्वाभिमान लघुवित्तको १४८.४१ प्रतिशत घटेर २ करोड २७ लाख रुपैयाँ, कालिका लघुवित्तको १३४ प्रतिशत बढेर ६ करोड ३१ लाख रुपैयाँ, स्वाबलम्बन लघुवित्तको १ सय प्रतिशत बढेर ५३ करोड ८२ लाख रुपैयाँ, सपोर्ट लघुवित्तको ७५ प्रतिशत बढेर २ करोड ३८ लाख रुपैयाँ, स्वरोजगार लघुवित्तको ७३.७४ प्रतिशत बढेर १३ करोड २५ लाख रुपैयाँ, मिथिला लघुवित्तको ६०.८४ प्रतिशत बढेर ४ करोड ७५ लाख रुपैयाँ नाफा गरेका हुन् ।
नेशनल माइकोफाइनान्स लघुवित्तको ५७.८८ प्रतिशत बढेर ३४ करोड ९ लाख रुपैयाँ, महुली लघुवित्तको ५६.४६ प्रतिशत बढेर ६ करोड ९१ लाख रुपैयाँ, स्वस्तिक लघुवित्तको ४७ प्रतिशत बढेर ५१ लाख ४० हजार रुपैयाँ, ग्लोबल आइएमई लघुवित्तको ४६.७९ प्रतिशत बढेर १४ करोड १६ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको ४३.६६ प्रतिशत बढेर ५८ करोड २२ लाख रुपैयाँ, आरएसडीसी लघुवित्तको ३६.४६ प्रतिशत बढेर १४ करोड ६६ लाख रुपैयाँ, युनिक नेपाल लघुवित्तको २२.८८ प्रतिशत बढेर ४ करोड ७९ लाख रुपैयाँ र साना किसान लघुवित्तको २२.७८ प्रतिशत बढेर ९४ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।
सामुदायिक लघुवित्त, एनएमबि लघुवित्त र धौलागिरी लघुवित्त नोक्सानीमा छन् । सामुदायिक लघुवित्तको २ करोड ६८ लाख रुपैयाँ, एनएमबि लघुवित्तको ५ करोड ३३ लाख रुपैयाँ र धौलागिरी लघुवित्तको २ करोड ८४ लाख रुपैयाँ नोक्सानी बेहोरेका छन् । यी लघुवित्त अघिल्लो वर्ष पनि नोक्सानीमा थिए । गत वर्ष खराब कर्जा असुलि नहुँदा आम्दानीमा प्रभाव पारेकाले नाफा ऋणातमक हुन पुगेको लघुवित्तकर्मीहरू बताउँछन् ।
अघिल्लो वर्ष नोक्सानी बेहोरेका विभिन्न १० वटा लघुवित्तको नाफा धनात्मक भएको छ । जसमध्ये मानुषी लघुवित्तको १ करोड ९१ लाख रुपैयाँ, नाडेप लघुवित्तको १३ करोड १ लाख रुपैयाँ, ग्रामीण विकास लघुवित्तको १४ करोड ७३ लाख रुपैयाँ, गणपति लघुवित्तको २ करोड ९९ लाख रुपैयाँ, उन्नति सहकार्य लघुवित्तको १ करोड ४५ लाख रुपैयाँ, आरम्भ चौतारी लघुवित्तको ४ करोड ३५ लाख रुपैयाँ खुद नाफा धनात्मक छ ।
यस्तै श्रृजनशील लघुवित्तले ३ करोड ४९ लाख रुपैयाँ, लक्ष्मी लघुवित्तले ५ करोड ३४ लाख रुपैयाँ, विन नेपाल लघुवित्तले १ करोड १३ लाख रुपैयाँ र जनउत्थान सामुदायिक लघुवित्तले १ करोड २१ लाख रुपैयाँ नाफा धनात्मक छ ।