काठमाडौं । भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेज प्रालिले नेपालका १० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्ने भएको छ । १० वाणिज्य बैंकहरूको लेखापरीक्षण गर्न भारतीय केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ अडिट (लेखापरीक्षण) फर्म छनोट भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको शर्तअनुसार १० वटा बैंकको लेखापरीक्षण गर्न राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । राष्ट्र बैंकको आह्वान अनुसार नेदरल्याण्ड, भारत र पाकिस्तानका गरी विभिन्न ५ वटा बाह्य लेखापरीक्षक प्रारम्भिक छनोट भएका थिए ।
नेदरल्याण्ड्सको डिलोइट फाइनान्सियल एड्भाइजरी, ज्वाइन्टभेन्चर कम्पनी सीएसी (प्राइस वाटरहाउस कुपर), एसआरबिए एण्ड बिके अग्रवाल चार्टर्ड एकाउन्टेन्ट्स (एसआर ब्याट्लीबोइ एण्ड एसोसिएट), भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ र पाकिस्तानको केपीएमजी इस्लामाबाद लेखापरीक्षणका लागि छनोट भएका थिए । तर, ती ५ अडिटफर्ममध्ये प्राविधिक रूपमा योग्य केपीएमजी एसुरेन्स छनोट भएको राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्ली राम पोख्रेलले बताए ।
लेखापरीक्षकको योग्यता, अनुभव र क्षमताका आधारमा छनोट गरिएको हो । छनोट भएको केपीएमजी एसुरेन्स अडिट फर्मले केही समयपछि ठूला वाणिज्य बैंकहरूको लेखापरीक्षण थालनी गर्नेछ । बैंकहरूले प्रवाह गरेको कर्जा लगानीका विषयमा अडिट फर्मले अध्ययन तथा मूल्यांकन गर्नेछ ।
‘५ वटा फर्म छानिएका थिएm जसमध्ये प्राविधिक रूपमा योग्य केपीएमजी छनोट भएको हो, सेप्टेम्बर १ मा फाइनान्सियल पर्पाेजल खुला हुनेछ, त्यसपछि कम्पनीले १० ठूला बैंकको लोन पोर्टफोलियो रिभ्यू गर्नेछ,’ उनले भने, ‘कुन क्षेत्रमा कति कर्जा प्रवाह गरेका छन् भन्ने विषयमा अध्ययन गर्नेछ, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको शर्त अनुसार लोन पोर्टफोलियो रिभ्यू गर्नु परेको हो ।’
पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा धेरै कर्जा प्रवाह गर्ने १० वटा बैंकहरूमा नबिल बैंक पहिलो नम्बरमा छ । यस्तै ग्लोबल आइमएई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक, प्रभु बैंक र कृषि विकास बैंकले सबैभन्दा धेरै कर्जा प्रवाह गरेका छन् ।
गत आर्थिक वर्ष २०८०÷८१ को चौथो त्रैमासको तथ्याङ्क अनुसार नबिलले ३ खर्ब ७३ अर्ब ९७ करोड रुपैयाँ, ग्लोबल आइमएईले ३ खर्ब ६९ अर्ब ४५ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगाले ३ खर्ब ७ अर्ब ५२ करोड रुपैयाँ, कुमारीले २ खर्ब ७३ अर्ब २० करोड रुपैयाँ, एनआईसी एशियाले २ खर्ब ७२ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।
यस्तै लक्ष्मी सनराइजले २ खर्ब ५० अर्ब ३६ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्यले २ खर्ब ४८ अर्ब ९१ करोड रुपैयाँ, हिमालयनले २ खर्ब ३२ अर्ब ७१ करोड रुपैयाँ, प्रभुले २ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ र कृषि विकासले २ खर्ब १ अर्ब ७६ करोड रुपैयाँ लगानी गरेको छ ।