काठमाडौं । पछिल्लो समय अध्ययन तथा रोजगारीको लागि विदेश जानेहरुको संख्या बढ्दो छ । दैनिक हजारौं युवा विदेश पलायन भइरहेका छन् । कतिपय अध्ययन, रोजगारी त कतिपय मानिसहरू भ्रमणका लागि विदेश जाने गरेका छन् ।
प्रायःजसो युवाहरू अध्ययनको नाममा पैसा कमाउन विदेश गइरहेका छन् । विदेश जाँदा विदेशी मुद्रा नै आवश्यक पर्छ । नेपाली मुद्रा विदेशमा प्रयोग नहुने भएकाले विदेश जानेहरूले विदेशी मुद्रा अर्थात् डलरको नै जोहो गरेर जानु पर्ने हुन्छ ।
त्यो सुविधा नेपाल राष्ट्र बैंकले दिँदै आएको छ । नेपाल राष्ट्र बैंकले अध्ययनका लागि विदेश जानेहरूलाई डलर सटहीको सुविधा सम्बन्धि व्यवस्था नै गरेको छ । नेपाल राष्ट्र बैंकले विदेशमा पढ्न जाने विद्यार्थीका लागि देशअनुसार तोकेर नै वार्षिक डलर सटहीको सुविधा प्रदान गर्दै आएको छ ।
आज हामी तपाईंलाई कुन देश जान कति डलर सटही सुविधा पाइन्छ भन्ने जानकारी दिँदैछौं ।
नेपाल राष्ट्र बैंकले क्यानडा, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र युरोपेली देशहरू जाने ८ हजार अमेरिकी डलरसम्म सटही सुविधा दिने गरेको छ । त्यस्तै, सङ्गापुर र दक्षिण कोरियाका लागि ६ हजार डलर, चीन, मलेसिया, थाइल्याण्ड र फिलिपिन्सका लागि ४ हजार डलर र बंगलादेश र पाकिस्तानका लागि २ हजार ५ सय डलर सटही सुविधा दिने गरेको छ । अन्य देशका लागि भने ५ हजार डलरको सटही सुविधा तोकेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीले आफ्नो निवेदन, राहदानीको प्रतिलिपि, नो अब्जेक्सन लेटर, सम्बन्धित शैक्षिक संस्थाको पत्र लगायत सम्बन्धित कागजात संलग्न गरी शैक्षिक संस्थालाई भुक्तानी गर्नुपर्ने रकम विदेशी मुद्रामा भुक्तानी गर्न सकिने व्यवस्था छ ।
विदेश अध्ययन गर्न जाने विद्यार्थीले निर्वाह खर्च बापत कागजातको आधारमा सटही सुविाध प्राप्त गर्न सक्ने र निर्वाह खर्च नखुलेको अवस्थामा सो डलर सुविाध पाउने राष्ट्र बैंकले जनाएको छ ।
देश डलर सटही
बंगलादेश, पाकिस्तान – २५००
चीन, मलेसिया, थाइल्याण्ड, फिलिपिन्स – ४०००
सिङ्गापुर, दक्षिण कोरिया – ६०००
क्यानडा, अमेरिका, अष्ट्रेलिया, युरोप महादेश – ८०००
अन्य देश – ५०००
राष्ट्र बैंकले भ्रमणका लागि भने छुट्टै सिमा तोकेको छ । नेपाली नागरिकलाई भारतबाहेक अन्य मुलुकहरुको भ्रमणमा जाँदा आवश्यक पर्ने कागजात तथा राष्ट्र बैंकले तोकेको अन्य आवश्यक कागजातको आधारमा विदेशी मुद्राको नगद मौज्दातको अवस्था हेरी प्रतिपटक अधिकतम् २ हजार ५ सय अमेरिकी डलर सटही गर्न सकिने व्यवस्था गरेको छ । तर, यस्तो सटही सुविधा एक वर्षमा २ पटक नबढ्ने गरी मात्र प्रदान हुने व्यवस्था छ ।
साथै, कुनै पनि नेपाली नागरिकसँग भएको विदेशी मुद्रा सटही गर्न आम्दानीको स्रोत खुलेको विवरण, राहदानीको छविचित्र र तोकिएको अन्य कागजातसहित यस बैंकको बैंकिङ विभागमा सम्पर्क गर्नुपर्ने राष्ट्र बैंकको व्यवस्था छ ।