काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगारी महाशाखालाई परिवर्तन गरेर आन्तरिक रोजगार महाशाखा बनाउने बताएका छन् ।
मंगलबार संसद भवन परिसरमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले श्रम मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगारी महाशाखा विदेश पठाउने मात्रै भयो भन्ने भ्रम पैदा भएको भन्दै अब त्यसको रिस्ट्रक्चर गरी आन्तरिक रोजगार महाशाखा बनाउने बताए । आन्तरिक रोजगार महाशाखा बनाएपछि मुलुकभित्रै रोजगारीको लागि जिम्मेवार निकायको रुपमा निर्माण गर्ने जानकारी दिए ।
यस्तै, उनले आगामी दशकलाई आन्तरिक रोजगार दशकको अभियानको रुपमा मनाउने गरी तयारी भइरहेको पनि बताए । वैदेशिक रोजगारीमा गएका नेपालीलाई कसरी फर्काउने र उनीहरुलाई स्वदेशमै कसरी रोजगारी दिने भन्ने मुख्य चुनौति रहेको जानकारी दिए ।
‘हामीले त्यसलाई रिस्ट्रक्चर गरेर मन्त्रालयको संरचना परिवर्तन गरेर आन्तरिक रोजगार महाशाखा भनेर अब मुलुकभित्रै रोजगारीको लागि जिम्मेवार निकायको रुपमा निर्माण गर्नेछौँ, वैदेशिक रोजगारीमा गएका नेपालीलाई कसरी फर्काउने, कसरी यहाँ रोजगार सिर्जना गर्ने भन्ने बारेमा मन्त्रालयको सबैभन्दा बढी ध्यान हुन्छ’, उनले भने ।
मन्त्रालयले प्रत्येक पालिका अन्तर्गतको रोजगार सेवा केन्द्रलाई रोजगार हबको रुपमा विकास गर्न लागेको बताए ।