काठमाडौं । कर्णाली सरकारका मुख्यमन्त्रीसहित मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकारका ६ मन्त्री र एक राज्यमन्त्रीको सम्पत्ति विववरण सार्वजनिक गरेका हुन् ।
गरिब तथा दुर्गम प्रदेशका रूपमा चिनिएको कर्णाली प्रदेशमा मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकास मन्त्री वीरबहादुर शाही, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढा, भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्री विनोद कुमार शाहसँग धेरै धन सम्पत्ति रहेको देखिएको छ । उनीहरूको गरिब प्रदेशका धनाढ्य मन्त्रीको रूपमा चिनिएका छन् ।
मुख्यमन्त्री कँडेलसँग काठमाडौं र सुर्खेतको बीरेन्द्रनगरमा दुइटा घर छन् । कँडेलको नाममा वीरेन्द्रनगर र श्रीमती गीता अधिकारीको नाममा काठमाडौंको कागेश्वरी मनोहरामा घर छ । उक्त घर पुर्ख्याैली सम्पत्ति बेचेर २०५७ सालमा किनेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
मुख्यमन्त्रीकी श्रीमती गीता अधिकारी कँडेलको नाममा विभिन्न ५ ठाउँमा जग्गा छन् । कँडेलको नाममा वीरेन्द्रनगर नगरपालिका-९ मा ०.८.१४ वर्गमिटर र गीताको नाममा वीरेन्द्रनगर-१० मा ०.१.८.२, वडा नम्बर ४ मा ०.०.१८ र ०.०.१३.१९ वर्गमिटर र काठमाडौंको गोठाटारमा ८ आना जग्गा रहेको विवरणमा उल्लेख छ ।

यामलाल कँडेल ।
कँडेलसँग १० तोला सुन रहेको छ भने कँडेल र श्रीमती गीताका नाममा विभिन्न ११ वटा बैंक तथा सहकारीमा गरी ३३ लाख १२ हजार ४८५ रुपैयाँ बचत छ । जसमध्ये एभरेष्ट बैंकमा १ लाख २४ हजार २३७.६४ रुपैयाँ, एनआईसी एशिया बैंकमा ३ लाख २४ हजार २५६ रुपैयाँ बचत र १२ लाख मुद्दती खातामा रहेको छ । कँडेलले ललितपुरको क्यारिना सहकारीमा १ लाख १५ हजार १५३ रुपैयाँ, पिपलबोट सहकारीमा ७५ हजार ३२२ रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकमा २५ हजार, जनहितकारी सहकारी संस्थामा ८० हजार ९० रुपैयाँ बचत रहेको छ ।
यस्तै, श्रीमती गीताको नाममा ग्लोबल आईएमई बैंकमा १ लाख ९० हजार ३०५, जनहितकारी सहकारीमा १ लाख ६३ हजार ७८३, क्यारिना सहकारी ललितपुरमा १ लाख ३० हजार ६३७, लक्ष्मी विकास बैंकमा ८ लाख ७ हजार र पिपलबोट सहकारी संस्थामा ७८ हजार ७०६ रुपैयाँ बचत रहेको सम्पत्ति उल्लेख छ । उक्त रकम पारिश्रमिक, घरभाडा, बोनस, सापटी फिर्ता लगायतबाट जोडेको मुख्यमन्त्री कँडेलले बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकबाट ४५ लाख ऋण लिएका उनीसँग २ वटा मोबाइल, एक थान ल्यापटप, २ वटा घडी र एकथान ट्याब रहेको छ ।

वीरबहादुर शाही ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीसँग विभिन्न ठाउँमा ४ वटा घर छन् । डोल्पाको जगदुल्ला गाउँपालिका-५, बाँकेमा २ वटा घर र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ मा घर छन् । साथै उनको नाममा डोल्पा, सुर्खेत, बाँके, रुकुम पश्चिममा गरी ७ ठाउँमा जग्गाजमिन छ । शाहीसँग २९ तोला सुन, ५ तोला चाँदी, मुरा १० तोला रहेको उल्लेख गरेका छन् ।
मन्त्री शाही र उनकी श्रीमती शिलकुमारी शाहीको नामा ५ लाख रकम मौज्दात छ । डिविसी कन्स्ट्रक्सन नामको ठेक्का कम्पनी उनकै श्रीमतीको नाममा छ । उक्त रकम सबै ठेक्कापट्टाबाट कमाएको बताएका छन् । उनीसँग कम्पनी र आफ्नो नाममा ८ लाख मात्र ऋण छ । शाहीसँग २ वटा डोजर, एक ट्याक्टर र अन्य केही सवारी साधन पनि छन् । यस्तै एउटा स्याउ फार्म, ४० घोडा, ६० खच्चर, १०० बाख्रा रहेका छन् भने एउटा उद्योग पनि छ । उक्त उद्योग १ करोडमा खरिद गरिएको उल्लेख गरेका छन् ।

शेरबहादुर बुढा ।
भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढासँग डोल्पाको काइके गाउँपालिकामा पुर्ख्यौली घर तथा जमिन छ । उनकी श्रीमती कुमारी बुढाको नाममा डोल्पाकै ठुलोभेरी नगरपालिका-३, को दुई वटा ठाउँमा जमिन छ । उक्त सम्पत्ति व्यापारबाट जोडेको उल्लेख गरेका छन् ।
बुढासँग २० तोला सुन, ६० तोला चाँदी, श्रीमतीको नाममा रहेको नेपाल बैँकमा २० लाख रकम मौज्दात छ । बुढासँग ७ लाख ५० हजार र ५ लाख ५० हजार मूल्य पर्ने दुईवटा बुलेट बाइक रहेका छन् । उनीसँग चार वटा घोडा, ५ गाई, १० भेडाबाख्रा छन् । अन्य सम्पत्तिमा १० केजी काँच र २०० केजी तामा रहेको बुढाले बताएका छन् ।
भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री विनोद कुमार शाहसँग दैलेखको ठाटीकाँध गाउँपालिका-१ र काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-५ मा ७५ लाख ऋणमा किनेको ४ आनामा दुई तलाको घर छ । उक्त घर उनकी श्रीमती लक्ष्मीदेवी शाहको नाममा छ । श्रीमतीकै नाममा ३ ठाउँमा जमिन छ । भक्तपुरको सूर्य विनायकमा ४८ लाख मूल्य बराबरको ५०८.७४ वर्ग मिटर, आठबीस नगरपालिका दैलेखको राकम कर्णालीमा १० लाख मूल्य बराबरको १८५ वर्ग मिटर र गाउँमा ५० रोपनी जमिन छ । भक्तपुर र ठाटीकाँधको जमिन पुर्ख्यौली र राकम कर्णालीको जमिन पारिश्रमिकबाट खरिद गरेका छन् ।

विनोद कुमार शाह ।
उनीसँग ६५ तोला सुन, १५ क्यारेट हिराको हार, रुवी सेट २ थान र १५ सय तोला चाँदीका भाँडा रहेको उल्लेख छ । छोरा र छोरी अस्ट्रेलियामा छन् । उक्त सम्पत्ति पुर्ख्यौली, छोरा र आफ्नो पारिश्रमिक, छोरीले उपहार दिएको बताएका छन् । मन्त्री शाहको नाममा दुई वटा बैंकमा गरी ६० हजार रकम नगद छ भने एउटा मोबाइल र एउटा ल्यापटप छ ।

रणसिंह परियार ।
जलस्रोत तथा ऊर्जा विकासमन्त्री रणसिंह परियारसँग हुम्ला अदानचुली-१ मा पुर्ख्यौली घर छ । सोही ठाउँमा ६० रोपनी पुर्ख्यौली पाखो बारी छ । उनीसँग ३ तोला सुन, २० तोला चाँदी र ७० हजार रुपैयाँ रकम मौज्दात छ । यस्तै उनीसँग ४ वटा गाई, ७ गोरु र ३० बाख्रा छन् । ३ लाख ६० हजार मूल्यको कर्णाली ट्रेडर्स नामको खुद्रा पसल रहेको सम्पत्ति विवरणमा खुलाएका छन् ।

दुर्गबहादुर रावत ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावतसँग कालिकोटको तिलागुफा नगरपालिका-७ मा एउटा घर छ । यस्तै तिलागुफामै पुर्ख्यौली ७ वटा ठाउँमा जमिन छ । नगद, सुन, चाँदी केही पनि नरहेको बताएका उनीसँग दुई वटा बैंकमा १९ लाख ५० हजार रुपैयाँ नगद छ ।
अर्थमन्त्री महेन्द्र केसी कर्णाली प्रदेश सरकारका मन्त्रीहरूमा सबैभन्दा गरिब मन्त्री हुन् । उनले आफूसँग बस्ने घर पनि नरहेको बताएका छन् । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-३, निवासी केसीको गाउँमा २७५२ र ८० वर्ग मिटरको २ ठाउँमा जमिन छ भने कपिलवस्तुको बाँणगंगाको ३ ठाउँमा गरी ३ कट्ठा ९ धुर जमिन रहेको उनले बताए ।

महेन्द्र केसी ।
बाँफिकोटको पुर्ख्यौली हो भने कपिलवस्तुको स्रोत खुलाएका छैनन् । उनीसँग पनि सुन चाँदी पनि छैन । उनको परिवारको नाममा दुईवटा बैंकमा ६ लाख १ हजार ३३५ रुपैयाँ मौज्दात छ । उक्त रकम केसीको पारिश्रमिक र श्रीमतीको द्वन्द्व पीडितलाई सरकारले दिने सुविधाबाट जम्मा भएको उल्लेख गरेका छन् ।
भौतिक पूर्वाधार राज्यमन्त्री गमता विकले पनि घर, जमिन केही नभएको विवरण पेस गरेकी छन् । उनीसँग ४ तोला सुन र १० तोला चाँदी छ । उक्त सम्पत्ति कृषि खेतीबाट जोडेको र केही पैतृक सम्पत्तिबाट आर्जन गरेको हो ।
उनको नाममा बैंकमा ५ लाख रुपैयाँ छ । उक्त रकम पनि सांसदको तलब भत्ताबाट जम्मा गरिएको उल्लेख छ । ३ लाख रुपैयाँ ऋण रहेको बताएकी उनले १ लाख तिरिसकिएको उल्लेख छ । उनीसँग २० हजारको मोबाइल, ५ हजारको घडी र ३० हजारको टिभी रहेको उल्लेख छ ।