काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन पहिलो सातामा आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । नेपाल राष्ट्र बैंकका सह-प्रवक्ता डा. डिल्लीराम पोखरेलका अनुसार राष्ट्र बैंकले साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने किसिमले तयारी गालेको हो ।
उनका अनुसार राष्ट्र बैंकले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि मौद्रिक नीतिको मस्यौदा निर्माण गरिरहेको छ । वर्तमान अर्थतन्त्रको अवस्था र यसलाई समाधानको बाटो दिने किसिमले मौद्रिक नीति बनिरहेको उनको भनाइ छ ।
‘राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा जुटिसकेको छ, अहिले मौद्रिक नीतिको मस्यौदा बनिरहेको छ, साउन पहिलो साता सार्वजनिक गर्ने किसिमले तयारी भइरहेको छ,’ डा. पोखरेलले विकासन्युजसँग भने ।
अहिले राष्ट्र बैंकले कृषि र साना तथा मझौला उद्यममा बढी प्राथमिकता दिएर नीति निर्माण गरिरहेको छ । वर्तमान अर्थतन्त्रमा संकचुन सिर्जना भएकोले यो समस्या समाधानका लागि अहिले राष्ट्र बैंकले विभिन्न सरोकारवालाहरूसँग छलफल पनि गरिरहेको छ । सरोकारवालासँग छलफल गरेर राष्ट्र बैंकले राय सुझाव संकलन पनि गरिरहेको छ ।
अहिले मौद्रिक नीतिमा माग राख्दै विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने व्यक्ति तथा संघ संस्थाका पदाधिकारीहरू राष्ट्र बैंक पुगिरहेका छन् । बजारमा रहेको आर्थिक शिथिलता हटाउन बैंकरदेखि उद्योगी व्यवसायीको लर्को राष्ट्र बैंकमा लागिरहेको छ । अहिलेको मुख्य समस्या भनेको कर्जाको मागको हो । कर्जाको माग नहुँदा बैंकमा तरलता थुप्रिरहेको छ । राष्ट्र बैंकसामु नीतिगत व्यवस्थामार्फत् कर्जाको माग बढाउनु पर्ने चुनौती छ । यो समस्याको समाधानका लागि उद्योगी व्यवसायीले परियोजना धितोको माग राखिरहेका छन् ।
यस पटक गभर्नर अधिकारी पनि मौद्रिक नीतिमार्फत् केही नयाँपन दिन खोजिरहेका छन् । आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीतिमार्फत् उनी केही अविस्मरणीय कार्य गर्न खोजिरहेका छन् । उसो त उनी आफैं पनि विभिन्न सार्वजनिक कार्यक्रममा आगामी वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले अर्थतन्त्रको मार्गचित्र कोर्ने प्रयास गर्ने बताउँदै आएका छन् । मौद्रिक नीति आशा जगाउने गरी आउने उनी बताउँदै आएका छन् ।
सहप्रवाक्ता पोखरेल पनि यस पटकको मौद्रिक नीति सबैले चासोका साथ हेरेका बताउँछन् । गभर्नरको अन्तिम मौद्रिक नीति भएकोले पनि धेरैको चासो मौद्रिक नीतिमार्फत् के आउँछ भन्ने रहेको उनको भनाइ छ ।